अमेरिकाबाट लालबाबुलाई यस्तो चेतावनी, सरकारको आधिकारिक धारणा मागियो

क्यालिफोर्निया– नेपाली जनसम्पर्क समिति अमेरिका र नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक ज्ञापनपत्र बुझाएको छ । 

नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसीको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा संविधान प्रदत्त गैरआवसीय नेपालीहरूको अधिकारका सम्बन्धमा नेपाल सरकारका जिम्मेवार मन्त्रीबाटै  गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै गभ्भीर ध्यान आकर्षण गराइएको छ ।  

गणतान्त्रिक नेपालको संविधान कार्यान्वयनको चरणमा प्रदेश गरी नेपाल समृद्धिको बटोमा अघि बढ्ने विश्वासमा गैर आवासिय नेपाली समेत आशावादी भएर बसिरहेको बेला  जिम्मेवार मन्त्री लालबाबु पण्डित र सम्बन्धित अधिकारीबाट आएको अभिव्यक्तिले आफूहरुलाई दुखित बनाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालको संविधानले सुनिश्चित गरेको ‘एक  पटकको नेपाली सँधैको नेपाली’ को अवधारणा अनुरुपको प्रबन्धको बर्खिलापमा मुलुकको सर्वाङ्गिण क्षेत्रमा योगदान गरिहरहेको लाखौं नेपालीको मनमा चोट पुर्याउने गरी नेपाल सरकारका मन्त्री लालबाबु पण्डितद्वारा पटक पटक एनआरएन नेपालीलाई भूपू नेपाली भन्दै संविधानप्रदत्त हक अधिकारको ठाडो हस्तक्षेप गरी सम्पत्ति  माथिको अधिकार प्रतिबन्ध लगाउने अभिव्यक्ति दिएको प्रति खेद व्यक्त गर्दै नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछौं।’

पछिल्लो समय सरकार अराजक बन्दै गएको र जघन्य मानव अधिकार हनन्का घटनामा संलग्न बालकृष्ण ढुंगेललाई आममाफी दिनु, प्रेस माथिको अंकुश र नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको धरपकड र बिदेशिएका नेपालीहरूका बारेमा सरकारी रबैया जस्ता विषयमा आफूहरुको गम्भीर  चासो रहेको  पनि सो क्रममा वरिष्ठ उपसभापति केसीले बताए । 

ज्ञापन बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् नेपाल जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुबेदी, हरिबोल भण्डारी, कांग्रेसका  पुराना नेता विद्यासागर योन्जन, महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, नेपाल जनसम्पर्क समितिका उपसभापति केशव बराल, सचिव ईश्वर सापकोटा, नेपाल जनसम्पर्क समितिकै  सदस्यहरू गोकुल ढकाल, किलन सिंह राई, चन्द्रकान्त धिताल, नेपाल जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पासहितका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। 

मन्त्री अधिकारी अमेरिका पुगेको अवसरमा उक्त ज्ञापनपत्र बुझाउन  नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवंम् कांग्रेसका  नवनियुक्त आमन्त्रित केन्द्रीय  सदस्य गोरख बहादुर बिष्ट (आनन्द) ले निर्देशन दिएका थिए ।

भिडियो श्रोत: कृष्ण जीबि पन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?