पृथ्वीनारायण शाहको हालसम्मकै ठूलो शालिक

काठमाडौं । बैतडीको दशरथ चन्द नगरपालिकामा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नेपालमा हालसम्मकै ठूलो शालिक निर्माण हुने भएको छ ।

दशरथ चन्द नगरपालिकाले उपलब्ध गराएको ७ रोपनी जग्गामा राष्ट्रियता संरक्षण अभियानले शालिक बनाउन लागेको होे । आज राजधानीमा मिडिया नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १० वर्षे जनयुद्ध र त्यसपछिका परिवर्तन पश्चात राजसंस्थासँग सम्बन्धित कुनैपनि विषयलाई ओझेलमा पार्न संगठित रुपमा कार्यहरु भैरहँदा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको विशाल प्रतिमाको स्थापना गर्ने जमर्को गरेकोमा राष्ट्रियता संरक्षण अभियान बैतडीलाई शुभकामना दिए ।

राप्रपाले पार्टीको आदर्शको रुपमा ग्रहण गरेका पृथ्वी नारायण शाहको शालिक निर्माणमा सक्दो सहयोग पुर्याउने तथा सहयोगको लागि अपिल गर्ने उनले बताए । 

भौगोलिक रुपमा नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाह र भावनात्मक रुपमा एकिकरण गर्ने श्री ५ महेन्द्रलाई नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताउँदै अध्यक्ष थापाले बैतडीमा राष्ट्रनिर्माताको २१ फिट अग्लो शालिक निर्माण गर्न अग्रसरता देखाउने राष्ट्रियता संरक्षण अभियान बैतडीलाई पूर्ण सहयोग पुर्याउन सबैमा आग्रह गरे ।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता बालाराम घर्तिमगर, केन्द्रीय सदस्यहरु निना भेटवाल, श्यामबहादुर शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए  । कार्यक्रमबारे पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रियता संरक्षण अभियान बैतडीका अभियन्ता हेमबाबु लेखकले प्रकाश पारेका थिए ।

मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शालिक स्थापनाको लागि केन्द्रीय सदस्य नानु नगरकोटीले १० हजार, निना भेटवालले ५ हजार, सरश्वती के.सी. अधिकारीले ५ हजार, श्यामबहादुर शाहीले ५ हजार, काठमाडौं जिल्ला सदस्य शितल अधिकारीले १ हजार पाँच प्रदान गरि सहयोगको थालनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?