उपत्यकाका सुकुम्वासी बस्तीहरु दुषित मदिरा उत्पादनका अखडा

काठमाडौं । बल्खुस्थित सुकुम्वासी बस्तीबाट केही दिनअघि बरामद घरेलु मदिरा उत्पादनका लागि तयार पारिएको बच्चा पदार्थभित्र अस्थायी साधन र जुत्ताहरु, बौद्ध जोरपाटीमा बच्चाले प्रयोग गर्ने ‘ड्राइपेण्ट’, महिलाको पेटिकोट, पेण्टी र जिन्स पेण्टहरु फेला परेका थिए । 
महानगरीय प्रहरी परिसर काठमाडौंले घरेलु मदिरा नियन्त्रण गर्ने योजना अनुसार राजधानीका विभिन्न १२ स्थानमा छापा मारेको थियो । 
ती मध्ये बल्खु र बौद्धक्षेत्र लगायतका विभिन्न सुकुम्वासी बस्तीबाट यस्तो दुर्गन्धीत तथा दुषित मदिरा फेला परेको परिसरका प्रवक्ता मोहन थापाले बताए । 
घरेलु मदिरालाई कडा र नशालु बनाउन कच्चा पदार्थका रुपमा यस्ता दुर्गन्धित र दुषित बस्तुहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ । 
यी बस्तीहरुबाट उत्पादित दुषित मदिरा उपत्यकाका भट्टीहरुमा संस्तो मूल्यमा विक्री वितरण हुने गरेको पाइएको छ । 
परिसर प्रवक्ता थापा भन्छन–कतिपय बस्तु छिट्टै नकुहिने किसिमको हुन्छन । त्यस्ता बस्तुलाई कुहाउन युरिया मलखाद समेत प्रयोग हुने गरेको छ । 
तपाईलाई म फोटो खिचेर तथ्य उपलब्ध गराउन त सक्दैन परिसर प्रवक्ता थाले भने–टेकुस्थित पयिरसरकै पेरिफेरीमा मदिरा बरामद गरेको खाल्डोमा गएर हुक लगाएर नमूना संकलन गर्ने हो भने सर्वसाधारणले नसोचेको भन्दा बढी दुषित बस्तु भेटिन्छ । 
महानगरीय प्रहरीले बरामद गरेको रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थमा मिसावट अखाद्य बस्तु देख्ने ब्यक्तिले घरेलु मदिरा नै खादैनन् उनले भने घरेलु मदिरा यति विशाक्त छ कि पियक्कड ( मदिरा प्रेमी) हरुले कल्पना समेत गर्न सक्दैन्न ।   
हेर्दा नै घिन लाग्दा प्लाष्टिकको भाँडोहरुभित्र जम्मा गरिएको कच्चा पदार्थ निकै  दुर्गन्धित र घिन लाग्दो रहेको छ । 
महानगरीय प्रहरी परिसर काठमाडौंले दुषित मदिरा नियन्त्रण कार्यलाई सशक्त अभियान कै रुपमा सञ्चालन गरेको छ । 
मानव स्वास्थ्यका लागि घातक घरेलु मदिरा उत्पादन तथा वेचविखन नियन्त्रण गर्न गृह मन्त्रालयले घरेलु मदिरा नियन्त्रण कार्यलाई कडाइका साथ लागु गर्न निर्देशन दिएको छ । 


मदिरा कारोवारमा कडाइ
राजधानीमा उत्पादित घरेलु मदिराभित्र दुषित तथा अखाद्य बस्तु भेटिएपछि गृह मन्त्रालय मदिरा नियन्त्रण कार्यमा कडाइ गर्न प्रहरी अधिकारीलाई निर्देशन दिएको छ । 
नशालु र विषाक्त मदिरा उत्पादन गर्ने नाममा सढेगलेका फोहोर बस्तु, अखाद्य बस्तु, प्रयोग गर्न नै नहुने बस्तु प्रयोग गर्ने घरेलु मदिरा कारखाना तथा भट्टी पसलहरु बन्द गर्न निर्देशन दिएको छ । 
 सरकारले निर्धारण गरेको मापदण्ड विपरित राजधानीका किराना तथा तरकारी पसलदेखि चियापसलसम्म मदिराको कारोवार हुने गरेको पाइएको छ । 
मदिरा उत्पादनदेखि विक्री वितरणका लागि सम्वन्धित निकायबाट स्वीकृति लिनु पर्ने कानुनी ब्यवस्था छ । तर, यस्को कार्यान्वयन कसैले गरेको पाइदैन । 
मदिरा तथा सूर्तिजन्य पदार्थको खरिद विक्री तथा ओसारपसारमा १८ वर्षमुनिका वालबालिकालाई प्रयोग नगर्न नगराउन निर्देशन जारी गरेपनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 
त्यस्तैं, शैक्षिक संस्था, स्वास्थ्य चांैकी, अस्पताल लगायत सरकारी कार्यालयहरु भएको एकसय मिटर पेरिफेरीमा ध्रुमपान, मदिरा तथा सुर्तिजन्य पदार्थको विक्री वितरण तथा प्रयोगमा रोक लगाइ सकेको छ । 
यसको प्रभावकारी कार्यान्वयन नभएपछि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले सम्वद्ध अधिकारीसंग छलफल गरी मापदण्ड विपरित मदिराको कारोवारमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन निर्देशन दिइ सकेका छन् । 


मदिरा नियन्त्रण कार्ययोजना तयार पार्न पत्रचार 
गृह मन्त्रालयले तीन वटै सुरक्षा संगठनका अतिरिक्त ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्रचार गरी समाजमा रहेका विविध समस्याहरु मध्ये ‘लागूऔषध र मदिरा नियन्त्रण सम्वन्धि कार्ययोजना तयार पार्न निर्देशन दिएको छ । 
गृह प्रशासन सुधार कार्यक्रम अन्तरगत मुलुकको शान्तिसुरक्षा, सुब्यवस्था सुदृढ तुल्याइ  जनताको जीउधनको सुरक्षाका लागि लागूऔषध र मदिरा नियन्त्रण आवश्यक रहेको स्पष्ट पार्दै मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दवाडीले अपराधको जरैदेखि उन्मुलन गर्ने रणनीति रहेको बताएका छन् । 
नेपाल जस्तो अल्पविकसित देशका लागि मृत्युदर उच्च हुनुको विभिन्न कारणहरु मध्ये मदिरा पनि मुख्य कारण भएको मन्त्रालयले जनाएको छ । 
घरझगडा, सम्वन्ध विच्छेद, दुर्घटना, सामाजिक अपराध र भ्रष्टाचार बढ्नुको मुख्य कारण लागूऔषध र मदिरा भएको दावी उहाँको छ । 


घरेलु हिंसाको मुख्य कारण मदिरा
घरेलु हिंसाको मुख्य कारण पनि मदिरा नै भएको पाइएको छ । घरमा श्रीमती कुटिनु र हिड्दै बाटोमा झगडा हुनुको मुख्य कारण मदिरा रहेको छ । 
दुषित मदिराको सेवनका कारण उपत्यकामा हप्तामा एकजना मर्ने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ । मर्नेहरुमा पनि अधिकांस भरिया र सडकफुटपाथमा बस्नेहरु छन् । 
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, तीन महिनाको अवधिमा परिसरमा दर्ता भएका चारसय ८९ मुद्धाहरु मध्ये दुईसय ८५ वटा मदिराका कारण भएका छन् । 
परिसरमा दर्ता भएका १६ वटा कर्तब्य ज्यान सम्वन्धी मुद्धाहरु मध्ये पाँच, ५३ वटा जवरजस्ती करणी मध्ये सात, १५ वटा ज्यानमार्ने उद्योग मध्ये पाँच, एकहजार सात वटा केही सार्वजनिक मुद्धा मध्ये छसय सात वटा घटना मदिराका कारण भएका छन् । 
‘कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग, बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसा, कुटपिट, गुण्डागर्दी र सवारी दुर्घटना अधिक हुनुको मुख्य कारण मदिरा सेवन हो’ परिसरका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले भने । 
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनसंगै मदिरा नियन्त्रणका लागि राजधानीमा विशेष अभियान नै सञ्चालन गरिएको परिसर प्रहरीले जनाएको छ । 
सरकारको स्वीकृति नलिइ मदिरा पसल सञ्चालन गर्ने तथा त्यसका लागि मापदण्ड पुरा नगर्नेलाई कारवाही शुरु गरेको छ । 
यो अभियान अन्तरगत राजधानीका विभिन्न स्थानबाट घरेलु मदिरा नियन्त्रण कार्यक्रम शुरु गरिएको छ । घरेलु मदिराको उत्पादन र विक्री वितरण आफैमा अबैध र स्वास्थ्यका लागि घातक भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो । 
महानगरीय प्रहरीले यो तीन महिनाको अवधिमा ६० लाख रुपियाँ मूल्य बराबरको करीव ५० हजार लिटर अबैध घरेलु मदिरा बरामद गरी सकेको छ । 
घरेलु मदिरा उत्पादन हुने राजधानीका १२ वटा स्थानमा प्रहरीले नियमित छापा मार्ने गरेको जानकारी दिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?