ठेलागाडा चलाउँदा पाइलट भएझैँ लाग्थ्यो: ताराबहादुर कुँवर (भिडियो)

काठमाडौं । ‘जीवनमा झार खानू, तर हार नखानू ।’, ताराबहादुर कुँवरलाई सधै हौसला दिने कथन हो यो । यही कथनले उनलाई धेरैपटक घच्घचाएको छ । यसैको बलले उनलाई सफलतातिर डोर्‍याएको छ ।

हिजो ठेलागाडामा व्यापार गर्ने कुँवर अहिले ‘हजुरलाई नमस्ते ट्रेड लिंक’ का मालिक भएका छन् । उनी हेभी इक्युपमेन्ट व्यवसायी महासंघका अध्यक्ष पनि हुन् । संस्थापक अध्यक्ष ।

काभ्रेपलाञ्चोकबाट एघार वर्षमा काठमाडौं आएका ताराबहादुर ठेलागाडादेखि आफ्नो काम शुरु गरेर टेम्पो, ट्रिपर हुँदै अहिले देशमा आफूलाई सफल व्यवसायीका रुपमा स्थापित गरेका छन् ।

उनको परिचय अर्को पनि छ – कतिपयले ताराबहादुर कुँवरलाई चक्रपथ सरसफाईका अभियन्ता भनेर चिन्ने गर्छन् । उनीसहित पूरै परिवार आफ्नो जीवनको केही समय सरसफाईका लागि खर्चेका हुन्छन् ।

कुँवरले लोकपथसँगको विशेष कुराकानीमा आफ्ना जीवनका भोगाइ र सफलताको मन्त्रका बारेमा खुलेर बताए । लोकपथ स्टुडियोमा लोकपथकर्मी निता आचार्यले गरेको कुराकानी हामीले यहाँ प्रस्तुत गरेका छौंः

काभ्रेपलान्चोकदेखि काठमाडौँसम्मको यात्रा कस्तो थियो? सुनाउनुस् न ।

मेरो जन्म काभ्रेपलाञ्चोक जिल्लाको चौबास गाविस वडा नं ४ मा वि सं २०२२ साल फागुन २१ गते भएको हो । म ११ वर्षको हुँदा काठमाडौँ आएँ । त्यो बेला यहाँ मेरो कोही आफन्त थिएनन् । अर्काको घरमा काम गरेर पढ्नुपर्थ्यो । अहिले सम्झिँदा त्यो जीवन गाह्रो थियो जस्तो लाग्छ, त्यति बेला कुनै काम सानो होइन भन्ने सोच थियो । त्यसैले कहिले दुःख महसुस भएन ।

आफ्नो संघर्षको यात्रामा यहाँले धेरै उतारचढावहरु पार गर्नुभयो । दुःख के रहेछ भनेर बुझ्नुभयो? 

मैले दुःख गरेको होइन । कर्म गरेको हो । ठेला चलाउँदा त मलाई पाइलट जस्तै महसुस भयो । एउटा मान्छेले गर्न सक्ने जति सबै काम गरेको छु र मलाई यो कुरा भन्न लाज लाग्दैन । अधिकांश नेपालीहरु विदेशमा बाथरुम सफा गर्छन्, वेटरका रुपमा काम गरिरहेका हुन्छन् भने आफ्नो देशमा गाढा किन नठेल्ने, रिक्सा किन नचलाउने ?

मान्छेले सबैभन्दा दुःख पाउने कारण के रहेछ ? तपाईँको भोगाईले के सिकायो?

कामलाई दुःख भन्न मिल्दैन । हाम्रो समाजमा सबैभन्दा ठूलो समस्या भनेको परिश्रम नगर्ने र अर्काको कुरा काट्ने प्रवृत्ति हो । आफ्नो पढाइप्रति घमण्ड गर्दै काम गर्न सङ्कोच मान्छन् नेपालीहरु । विदेशी इन्जिनियरहरु यहाँ आएर आफै नट, बोल्ट कस्छन् तर नेपाली इन्जिनियर त्यसलाई नेप्किनले समातेर मिस्त्रीलाई कस्न लगाउँछन् ।

त्यसैले आलस्य र घमण्डले गर्दा मान्छेले दुःख पाउँछ । मैले मेहनेत गर्न कहिले छोडिन । कुनै कामलाई सानो वा ठूलाको संज्ञा दिइन । त्यही भएर यहाँसम्म आइपुग्न सफल भएँ । आज पनि यो प्रयास जारी छ । 

त्यसैले आलस्य र घमण्डले गर्दा मान्छेले दुःख पाउँछ । मैले मेहनेत गर्न कहिले छोडिन । कुनै कामलाई सानो वा ठूलाको संज्ञा दिइन । त्यही भएर यहाँसम्म आइपुग्न सफल भएँ । आज पनि यो प्रयास जारी छ । 

 

नेपालमा दक्ष जनशक्तिको अभाव छ भन्ने कुरा हामी विभिन्न कार्यक्रममा पनि सुनिरहेका हुन्छौँ हो?

यहाँ परिश्रम गर्ने मान्छेलाई हेर्ने दृष्टिकोण नै नराम्रो छ । सानो ठूलो हरेक क्षेत्रमा काम गर्ने मान्छेलाई सलाम गर्नुपर्छ । राज्यले पनि उनीहरुलाई उदाहरणका रुपमा सम्मान गर्नुपर्दछ अनि मात्र देशमा जनशक्तिको स्त्तरोेन्नति हुन्छ ।

नेपालमा गुणस्तरीय सामान आउँदैनन् भनिन्छ । स्वार्थ बोकेका केही सीमित व्यक्तिको कारण देश विकासका लागि गुणस्तरीय सामान नआउनुलाई कसरी हेर्नुहुन्छ ?

यो सबै कमिसनको खेल हो । देश विकासमा भन्दा पनि सबैलाई पैसा कमाउनमा ध्यान छ । शक्तिमा भएका, माथिल्लो वर्गका व्यक्तिहरु भ्रष्ट भएकाले बाँकी सबै भ्रष्ट भएका हुन् । यदि माथिल्लो स्थानमा भएकाहरुले लोभ नगर्ने हो भने सब ठीक हुँदै जान्छ । त्यसैले लिडर नै ठीक हुनुपर्छ ।

हजुरलाई नमस्ते नामको बारेमा जान्न मन लाग्यो । कसरी रहन गयो यो नाम ? यो नामका बारेमा धेरैले प्रश्न गर्छन् मलाई । सबैले यो नामलाई माया गर्छन् जस्तो पनि लाग्छ । 

बहुदलीय व्यवस्था आउने बेला ०४७ सालको चैत २४ गते नेपाल बन्द थियो । अघिल्लो दिन मेरो मिटरवाला टेम्पो बग्गीखानामा समातिएको थियो । भोलिपल्ट ट्राफिक प्रहरीले जबरजस्ती टेम्पो चलाउन लगायो । दिउँसो १२ बजेतिर भोटेपालमा बन्दकर्ताहरुले टेम्पो जलाउन खोज्दा मेरो टेम्पोको पछाडि  लेखिएको हजुरलाई नमस्ते चिह्न देखेर साथीहरुले त्यो टेम्पो बचाइदिए । हजुरलाई नमस्ते चिह्नले गर्दा त्यो टेम्पो बच्यो र त्यही टेम्पोबाट मेरो यहाँसम्मको यात्रा सुरुवात भएकाले मैले आफ्नो सबै व्यापार, व्यवसाय साथै जीवनीको नाम पनि हजुरलाई नमस्ते राखेको हुँ । 

हरेक असल व्यक्ति सफल हुँदैनन् र हरेक सफल व्यक्ति असल पनि हुँदैनन् । तपाईँको विचारमा यी दुई गुणलाई सामञ्जस्य कायम गरेर लग्न कसरी सम्भव छ ?

मान्छे अत्यन्तै लोभी हुन्छ । माथिल्लो वर्गका व्यक्तिमा आफू मात्रै खाउँ, आफैँ मात्र लाउँ, मेरो मात्र जहान छोराछोरी छन् भन्ने भावना हुन्छ । यो विचारभन्दा माथि उठेर माथिल्लो वर्गका मान्छेले तल्लो वर्गका मान्छेलाई माथि उठ्न अभिप्रेरित गर्ने, आफूले कमाएको केही प्रतिशत समाजसेवामा लगाउने, कर्म अनुसार फलको आश गर्ने जस्ता कामहरुले व्यक्तिलाई सफल र असल हुन मद्दत गर्छ ।

युवाहरुमा बढ्दै गएको छोटो समयमा धेरै सफलता प्राप्त गर्न चाहने प्रवृत्तिका बारेमा यहाँको के धारणा  छ ?

तातै खाउँ जल्दै मरुँ भन्ने सोच राख्यो भने कि त झ्यालखाना पुगिन्छ कि त यमलोक ! अहिलेको पुस्तालाई १ वर्षमै गाडी चढिहाल्नुपर्छ, २ वर्षमै महल बनाइहाल्नुपर्छ । रेस्टुराँ र तारे होटल धाइ हाल्नुपर्छ । त्यसैले यस्तो प्रवृत्ति भएकालाई म आफ्नो घाँटी हेरेर हाड निल्न र उचित समयको प्रतीक्षा गर्न अनुरोध गर्छु ।

तपाईंले ठेलादेखि शुरु गरेर टेम्पो, ट्रिपर हुँदै अहिले आफ्नै देशमा आफूलाई सफल व्यवसायीका रुपमा स्थापित गर्नुभएको छ । तर युवाहरु रोजगारको अभावमा विदेशिन्छन् । यसमा के भन्नुहुन्छ ?

हाम्रो देशमा पर्याप्त अवसरहरु छन् । तर त्यसलाई उचित तरिकाले सदुपयोग गर्ने सीप छैन युवामा । कपाल काट्नेदेखि मकै पोल्नेसम्मका कामहरु गर्न सकिन्छ । तर लजाउनु भएन ।
म २८ वटा देश घुमेको छु । त्यहाँ आफ्नो देशका युवाहरुको हालत देख्दा रुन मन लाग्छ मलाई । सीप नसिकी जानेहरुलाई साह्रै गाह्रो छ विदेशमा पनि । त्यसैले सीप जान्ने र मिहिनेत गर्ने हो भने आफ्नै देशमा प्रगति गर्न सकिन्छ ।

व्यवसायमा मात्र नभएर यहाँ समाजसेवामा पनि अग्रसर हुनुहुन्छ । चक्रपथ सरसफाई अभियानका अभियन्ता हुनुहुन्छ यहाँ । यसको बारेमा केही बताउनुस न ?

समाजसेवा गर्न धनी हुनुपर्छ भन्ने छैन । पचास सालतिरको कुरा हो युवावस्थामै थिएँ म । म र मेरा साथी मिलेर राति पनि जागै बस्थ्यौँ फोहोर फ्याल्नेलाई रङ्गेहात समात्न । मरेको गाई, कुकुर, कागजपत्रहरु फ्याल्न ल्याउँथे मान्छेहरु । त्यति बेला आफ्नो रगत पनि रातो र तातो, कुट्नै तम्सिन्थ्यौँ म र मेरा साथीहरु । फोहोर फ्याल्नेलाई जरिवानासमेत तिर्न लाउँथ्यौँ र त्यो पैसाले सडकमा बत्तीहरु जडान गर्थ्यौं । वि.सं. ०७१ सालसम्म आइपुग्दा पनि फोहोर, प्रदुषण उत्तिकै । चक्रपथको अवस्था उस्तै । त्यसैले यहाँको सरसफाईमा मैले आफै अग्रसर हुने निधो गरेँ ।

समाजसेवा गर्न धनी हुनुपर्छ भन्ने छैन । पचास सालतिरको कुरा हो युवावस्थामै थिएँ म । म र मेरा साथी मिलेर राति पनि जागै बस्थ्यौँ फोहोर फ्याल्नेलाई रङ्गेहात समात्न । मरेको गाई, कुकुर, कागजपत्रहरु फ्याल्न ल्याउँथे मान्छेहरु । त्यति बेला आफ्नो रगत पनि रातो र तातो, कुट्नै तम्सिन्थ्यौँ म र मेरा साथीहरु ।

मेरो छोराछोरी लगायत सबै परिवारै लाग्यौँ सरसफाई अभियानमा । पत्रकारहरुले पनि निक्कै सहयोग गर्नुभयो र प्रचारप्रसारमा मद्दत पु–याउनुभयो । विस्तारै सहयोगी हातहरु बढ्दै गए । स्थानीय बासिन्दा, नेपाल सेना, नेपाल प्रहरी सबैले साथ दिनुभयो । र यो अभियान सुरु गरेको ४४ हप्ता पूरा हुन्जेलसम्ममा हामी १५४ ट्रक फोहोर फ्याल्न सफल भयौँ । धुलो त उड्छ । त्यसलाई न्यूनीकरण गर्ने काम हाम्रो होइन तर पेटीबाट हिँड्दा फोहोर देखिने, दुर्गन्ध आउने अवस्था चाहिँ छैन अचेल ।

तँ आँट, म पु–याउँछु भन्छन् भगवानले भनने उखान छ हामे समाजमा । तपाईंको जीवनमा ठ्याक्के त्यस्तै भयो है ?

स्वस्थानीमा पढेको थिएँ कठोर तपस्या गरेपछि राक्षसको त वरदान पूरा गर्दिन्छन् भगवानले, म त झन् मान्छे । (हाँस्दै) झार खाने तर हार नखाने भन्ने मान्यता हो मेरो । हरेस कहिले खाइनँ । आफ्नो कर्म गर्नबाट कहिले चुकिनँ । आफ्नो कारणले कसैलाई असर पु–याइनँ । त्यही भएर होला भगवानले हरेक पाइलामा साथ दिँदै गए ।

तपाईंले ‘हजुर नमस्ते’ नामक आत्मकथा पनि प्रकाशन गर्नुभएको छ नि । पुस्तकको बारेमा केही भनिदिनुस् न ।

जीवनको कुनै मोडमा समस्याहरुले थिचिएर, पेलिएर, दबिएर हार खाने अवस्था आयो भने मेरो हजुरलाई नमस्ते पुस्तक पढ्दा हुन्छ । यसबाट जीवनमा कति हिम्मत चाहिन्छ, कति आँट चाहिन्छ, कति धैर्य धारण गर्नुपर्दछ भन्ने हौसला मिल्छ ।

जिन्दगीका अनगिन्ती कठिनाइ, समस्याहरुलाई पार गर्दै आउँदा तपाईंको जीवनमा केही त्यस्तो अविस्मरणीय दुःखदायी घटना घटेको छ ?

त्यस्तो क्षणहरु त धेरै छन् । तर ठ्याक्कै याद गर्नुपर्दा मलाई एउटा घटना याद आउँछ । मेरो ट्रिपर  नुवाकोटको रातोमाटे भन्ने ठाउँबाट बालुवा लिएर आउने क्रममा हुटमा प्यासेन्जर चढेछन् । दुर्भाग्यवश ट्रिपर पल्टियो र बालुवाले मान्छेलाई थिच्यो । ठाउँको ठाउँ उसको मृत्यु भयो । पछि उसको जहान छोराछोरीलाई देख्दा मैले आँसु थाम्न सकिनँ । कस्तो ज्यान मार्ने पेशा गरेछु जस्तो अनुभव भाको थियो ।  

समाजसेवा र व्यापार, यी दुईलाई मिलाएर लग्न सके सभ्य समाज सिर्जना गर्न सकिन्छ । कसरी मिलाएर लग्न सकिन्छ त यी दुईलाई?

यसको लागि सबैभन्दा महत्तवपूर्ण तत्व भनेको ब्यालेन्स हो । हुनेखानेले सधैँ आफूभन्दा तल्लो वर्गलाई हेरेर सन्तुष्ट हुन सिक्नुपर्छ र उनीहरुलाई माथि उठ्न मद्दत गनुृपर्दछ । आफूले आर्जन गरेको धनको केही प्रतिशत समाजसेवामा लगाउनुपर्छ जस्तो लाग्छ मलाई । यसो गर्नाले समाजमा विभेद, गरिबी, विसङ्गति धेरै हदसम्म अन्त्य गर्न सकिन्छ । त्यसैगरी निम्न वर्गका व्यक्तिले सधैँ उच्च वर्गलाई हेरेर प्रगति गर्ने प्रेरणा लिनुपर्दछ ।

तपाईंको भावी योजनाहरु चाहिँ के कस्ता छन् त ?

हालै म व्यापार व्यवसाय, समाजसेवा साथै विभिन्न संघसंस्थामा व्यस्त छु । हेभी इक्वीपमेन्ट व्यवसाय महासंघको अध्यक्षका रुपमा दुई कार्यकाल पूरा हुन लागेको छ । मलाई कुर्सीको लोभ छैन । यसपछि चाहिँ म आफ्नो सामथ्र्यले भ्याएसम्म सकारात्मक ज्ञान र सीप बाँड्ने काममा अग्रसर हुनेछु । समाजसेवामा पनि अझै धेरै सरिक हुँदै जानेछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?