चार चर्चित साहित्यकारका नजरमा विश्वकपः सबैको अनुमान फरक

काठमाडौं । रसियामा भइरहेको फिफा विश्वकपको रौनकले यतिबेला सबैलाई छोएको छ । यसपटकको विश्वकपमा रोमाञ्चकता के छ भने, जुन टिमले सहजै जित्छन् भनेर धेरैले अनुमान गरेका थिए, तीनै देशले राम्रो खेल प्रदर्शन गर्न सकेका छैनन् । विश्वकै ध्यान तानेका देशका चर्चित खेलाडीको खेल दर्शकका लागि आशा गरिएजस्तो छैन । ब्राजिलका नेइमार, अर्जेन्टिनाका मेस्सीले खेललाई जोगाइराख्छन् भन्ने धेरैलाई परेको थियो, तर दुवैले खेलमा जादु देखाउन सकेनन् । तर, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।

यसपटकको विश्वकपमा कमजोर भनिएका देशले विश्वकप जितेका देशसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् । नपत्याउँदा देशले इतिहास रचेका देशलाई दबाबमा राखेका छन् ।

विश्वकपले खेलप्रेमीलाई मात्र नभएर गैर खेलप्रेमीको पनि उत्तिकै ध्यान तानेको छ ।  कलाकार, व्यापारी, लेखक, साहित्यकार सबैका लागि चासो बनेको विश्वकपलाई लिएर हामी चार चर्चित साहित्यकारसँग समूह चरणको पहिलो खेलपछिको धारणा र अबका सम्भावनाका बारेमा कुराकानी गरेका छौं ।

गणेश पौडेल, लेखक (पैताला)

फुटबलको विकास चाहिँ अत्यधिक मात्रामा बढी भएका देशलाई अहिले साना देशले दबाबमा राखेका छन् । धेरैलाई याद नहोला तर विश्वकप जितिसकेको इटाली यसपटक छनोट चरणबाटै बाहिरिएको थियो । हुन त ३२ वटै देश उत्कृष्ट प्रदर्शनका आधारमा छानिएका छन् । फुटबलका शक्ति राष्ट्र भनिएका देशले भने यसपटक खासै राम्रो खेल प्रदर्शन गर्न सकेका छैनन् ।
यसपटक विश्वकप कसले जित्छ भन्ने नै रहस्यमय बनेको छ । इतिहासका आधारमा बलिया भनिएका टिमले साना भनिएका टिमलाई दबाबमा राख्न सकेका छैनन् ।

पहिले के हुन्थ्यो भने, टिममा एउटा हिरो हुन्थ्यो, त्यही हिरोले अरु खेलाडीलाई पनि जिताउँथ्यो, अरु खेलाडीले पनि उही हिरो खेलाडीलाई फोकस गर्थे । तर, अहिले टिमवर्कमा खेल भर पर्न थालेको देखिन्छ । खेलमा हिरोइज्म बिस्तारै हट्दै गएको छ । अहिले त मूल्याङ्कनका लागि पनि कतिवटा पास ग–यो, कतिपटक बल छोयो, गल्ती ग–यो कि गरेन भनेर हेर्न मिल्ने प्रविधि आयो । अझ पारदर्शी र सहज बन्यो । खेल निकै चाखलाग्दो छ ।

अभय श्रेष्ठ, कवि

यसपटकको विश्वकप ठ्याक्कै यही टिमले जित्छ भनेर अनुमान लगाउन गाह्रो छ । राम्रो भनिएका टिमले पनि खासै राम्रो खेलेका छैनन् । मेस्सीले क्लबमा जुन जादु देखाउँथे, त्यो जादु देखाउन सकेका छैनन् । शायद अर्जेन्टिनाका खेलाडी खेलमा एकअर्कासँग अपरिचित नै छन् जस्तो देखिन्छ । त्यसैले राम्रो प्रदर्शन गर्न नसके

हुन त अन्य राष्ट्रका खेलाडी पनि यसरी नै अगाडि आउने हो । अहिले विश्वकप यसले राम्रो गर्छ भन्ने अवस्था नै छैन । जापान जस्तो उदाउँदो देशले कोलम्बियालाई हरायो । नयाँ टिमको नयाँ जोशले शक्तिशाली भनिएका टिमलाई अत्याउने मात्र हैन, फाइनलमा झुक्काएर फाइनलमै नपुग्ने स्थिति पनि ल्याइदिन सक्छन् । यद्यपि यसपटकको खेल निकै रोमाञ्चक भएको छ । तर अर्जेन्टिनाले जित्न सक्छ । मेरा चाहना पनि त्यही हो । (आज राति भएको खेलभन्दा अघि लिइएको प्रतिक्रिया) यो बाहेक ब्राजिलको खेल पनि टिममा मिलेको छ । सम्भावना छ ।

बुद्धिसागर, लेखक (कर्णाली ब्लूज)

यसपटकको समर्थन त अर्जेन्टिनालाई नै गरिएको हो तर जुन हिसाबले जित्छ भन्ने थियो, त्यो आशा अहिले केही कम भएको छ । धेरैले सुन्दै नसुनेका देश पनि अहिले विश्वकपका लागि दाबेदार देखिएका छन् । हुन त छनोट हुने नै राम्रा खेल्ने देश हो तर यसपटक अझ नयाँ देशले पनि आफूलाई दाबेदार बनाएका छन् ।

यो विश्वकपले नयाँ खेलाडी दिन्छ जस्तो लाग्छ । खेल रोचक त छ नै । एउटा टिमले जित्छ कि भन्ने लाग्छ, तर खेल सकिँदा ठ्याक्कै उल्टो नतिजा आउँछ । समग्र खेल हेर्दा भने मलाई स्पेनको खेल राम्रो लागिरहेको छ । यो खेल म्याजिकल र टिम मिलेको देखिन्छ । मैले रसियाको खेल हेर्न पाइन, त्यो बाहेक अरु सबै खेल उत्तिकै राम्रा छन् । तर पनि तुलनात्मक रुपमा रसिया र पोर्चुगलमध्ये एउटा टिमले विश्वकप जित्छ कि भन्ने अनुमान छ मेरो ।

अझ रसियालाई आफ्नै घरेलु मैदानले पनि फाइदा पु–याउन सक्छ । आफ्नै ठाउँ भएपछि खेलाडीलाई बढी आत्मबल मिल्छ ।

उपेन्द्र सुब्बा, लेखक (लाटो पहाड)

मलाई पनि यो विश्वकप पहिलेका तुलनामा बढी चाखलाग्दो छ । विश्वकपमा दिइएका पूर्वानुमान पनि निकै फेल भएका छन् । हरेक खेल एकपछि अर्को गर्दै राम्रो बनेको छ । मेस्सीप्रतिको सम्मानका कारण अर्जेन्टिनालाई मेरो सम्मान छ । जित्न त अर्जेन्टिनाले जितोस् भन्ने चाहना नै हो । तर नयाँ राष्ट्रले यसपटक जित्यो भने पनि फरक पर्दैन । किनकि, कमजोर टिम आउने भन्ने अनुमानभन्दा बाहिरको कुरा हो । अहिले त खेल नै सोचेभन्दा फरक देखिएको छ नि । समूह चरणको पहिलो खेलमा ब्राजिल पनि स्वीजरल्याण्डसँग बराबरीमा सीमित भयो । मेस्सीले पेनाल्टी मिस गरे । यो सबै नसोचेको नै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?