तारकेश्वरमा माओवादी केन्द्रबाट को–को छन् मेयरका आकांक्षी ?

काठमाडौं । काठमाडौं महानगरसँग जोडिएको तारकेश्वर नगरपालिकामा स्थानीय तहको निर्वाचनको सरगमी बढ्न थालेको छ । विभिन्न राजनीति दलबाट आगामी स्थानीय तहको निर्वाचमा नगरको नेतृत्वका लागि नेताहरूको नाम बाहिर आउन थालेका छन् ।

सरकारले २०७९ वैशाख ३० गते एकै पटक स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै तारकेश्वरमा निर्वाचनको सरगर्मी बढेको हो ।

सोही क्रममा माओवादी केन्द्रबाट विभिन्न व्यक्तिहरूको नाम चर्चामा आएको छ । तारकेश्वरबाट आगामी निर्वाचनमा माओवादी केन्द्रबाट पूर्वप्रत्यासीदेखि लिएर पार्टीमा आबद्ध विभिन्न नेताहरू आफूलाई उम्मेदवारका रुपमा अघि बढाउन थालेका छन् ।

हाल तारकेश्वरमा माओवादी केन्द्रबाट ४ जनाको नाम मेयरका लागि अगाडि आएको तारकेश्वर माओवादी केन्द्रका एक नेताले बताए ।

यी हुन् माओवादी केन्द्रबाट मेयरका आकांक्षी :

१. धनलाल महर्जन

तारकेश्वर माओवादी केन्द्रको परिचित नाम हो धनलाल महर्जन । पार्टीको पूर्वजिल्ला सदस्य समेत रहेका महर्जन हाल पार्टीको केन्द्रीय सल्लाहकार समितिको सदस्य रहेका छन् । भूमिगत कालदेखि नै माओवादी आन्दोलनसँग जोडिएका महर्जन तारकेश्वरको मुटुमा रहेको नेपाल राष्ट्रिय (एनआर) क्याम्पसका प्रमुख समेत भएर काम गरेको छन् ।

आगामी निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेयरका आकांक्षी रहेका नेता महर्जन यसअघिको निर्वाचनमा समेत मेयरका प्रत्यासी रहेका थिए । बौद्धिक जगतमा समेत राम्रो प्रभाव पारेको मानिने महर्जन राष्ट्रिय प्राध्यापक संघको पूर्वउपाध्यक्ष समेत हुन् । यसअघि पराजित भएका कारण यस पटकको निर्वाचनमा स्वाभाविक उम्मेदावरका रुपमा महर्जनलाई हेरिएको छ ।

२. सानुभाइ मालवुल

आगामी निर्वाचनमा माओवादी केन्द्रबाट तारेश्वरमा मेयरको आकांक्षीका रुपमा अघि सरेको नाम हो सानुभाइ मालवुल । मालवुल हाल माओवादी केन्द्र पार्टी तारकेश्वरका इन्चार्ज रहेका छन् ।

शालिन नेताको रुपमा आफ्नो छवि बनाएका नेता मालवुल संकटकालबाटै माओवादी केन्द्रको राजनीतिमा होमिएका हुन् । तारकेश्वर माओवादीमा सिनियारिटीका हिसाबले अगाडि रहेका मालवुल २०६८ साला वैद्य माओवादी केन्द्रबाट अलग हुँदा वैद्यतिर लागेका थिए भने पछि माओवादी केन्द्रमा फर्किएको उनी निकट बताउँछन् । मालवुल सशक्त दावेदारका रुपमा रहे पनि आफू स्वयम् भने त्यसबारेमा अगाडि नआउने उनीसँग नजिक रहेकाहरू बताउँछन् ।

३. रामकुमार थापा

तारकेश्वरबाट आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षी हुन् रामकुमार थापा । हाल तारकेश्वर नगर कमिटीमा माओवादी केन्द्रको अध्यक्ष रहेका थापा राजनीतिसँगै व्यवसायमा समेत आबद्ध छन् ।

कपडासम्बन्धी व्यवसायमा आबद्ध थापा यसअघि तारकेश्वर महानगरपालिका वडा नं ८ का वडाध्यक्षका उम्मेदवार समेत रहेका थिए । भूमिगत कालदेखि नै माओवादी केन्द्रमा आबद्ध उनी हाल समाजसेवामा समेत आबद्ध छन् ।

४ रवि गौतम ‘प्रभात’

माओावदी केन्द्र बागमती प्रदेशको कमिटी सदस्य रहेका गौतम आगामी स्थानीय तहको निर्वाचनमा तारकेश्वरबाट मेयरको आकांक्षीको रुपमा देखिएका छन् । स्थानीयस्तरमा राम्रो प्रभाव बनाएका नेता गौतम भूमिगत कालदेखि नै माओवादी आन्दोलनसँग जोडिएका हुन् । मेयरका लागि उनको नाम अन्यबाट आए पनि उनी स्वयम्ले भने उक्त कुरा बाहिर ल्याएका छैनन् ।

त्यस्तै आगामी निर्वाचनमा माथिका नामहरूबाहेक अन्यहरूको समेत नाम चर्चामा रहेको एक माओवादी केन्द्रका नेताले जानकारी दिए । उनका अनुसार आागामी निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको अवस्थामा आफूहरू उपमेयरको रुपमा रहने वा मेयरको रुपमा रहने भन्ने पार्टीले निर्णय गर्ने ती नेताको भनाइ छ ।

माओवादी केन्द्र मात्र होइन अन्य दलमा समेत यतिबेला आगामी निर्वाचनमा मेयरको आकांक्षीहरूको नाम बाहिरिन थालेका छ ।

यो पनि

काठमाडौं महानगरमा कांग्रेसबाट पूर्वमन्त्रीदेखि वडाध्यक्षसम्म मेयरका आकांक्षी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?