१ अर्ब ५० करोडको लगानीमा यस्तो बन्दैछ बुटवलमा ‘नमूना’ अत्याधुनिक प्रदर्शनी स्थल

-कपिल अधिकारी

बुटवल – ५ नम्बर प्रदेशको राजधानी बुटवलमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने प्रक्रियाको औपचारिक थालनी भएको छ ।

बुटवल उपमहानगरपालिका– १० रामनगरस्थित बुटवल मण्डपमा प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त ‘बुटवल प्रदर्शनी केन्द्र’ निर्माणका लागि मंगलबार ‘ग्लोबल टेण्डर’ आह्वान गरिएको छ । नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभागले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन हल र प्रदर्शनी केन्द्रका लागि ग्लोबल टेण्डर आह्वान गरेको हो ।

बुटवलको राजमार्ग चौराहाबाट पूर्वपट्टि रहेको बुटवल मण्डपको साढे १६ बिगाहा जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल बन्न लागेको हो । साढे १० बिगाहा क्षेत्रफलमा अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ‘सभाहल’ निर्माणको काम चलिरहेको छ । आकाशबाट हेर्दा नेपाली राष्ट्रिय झण्डा आकारमा सम्मेलन केन्द्र र प्रदर्शनी स्थलको निर्माण हुनेछ । मण्डपमै रहेको बाँकी ६ बिगाहा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाइनेछ । १ अर्ब ५० करोडभन्दा बढी लागत अनुमान गरिएको यो प्रदर्शनी स्थल मुलुककै नमूना हुने जनाइएको छ ।

बुटवल मण्डपमा काठमाडौंको भृकुटी मण्डपजस्तै भित्र खुल्ला भएको ठूलो भवन हुनेछ । प्रदर्शनीको लागि विभिन्न व्यवस्थित दर्शकदीर्घा पनि बस्नेछन् । सोही प्रदर्शनी केन्द्रमै चिल्डेन पार्क, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरण तयार हुनेछ ।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका बेलामा बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र लगायतको निर्माणको संकल्प गरिएको थियो । सरकारले गत माघमा मुलुकका सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले प्रदर्शनी केन्द्र निर्माणको औपचारिक प्रक्रियाले आफूहरू खुशी भएको उल्लेख गर्दै बुटवलका लागि अर्को गौरवको विषय थपिएको प्रतिक्रिया दिए । बुटवल अर्थात् बुद्धबल्लीलाई मुलुककै प्रमुख केन्द्रका रुपमा विकास गर्ने अभियान स्वरुप अर्को नयाँ कामको थालनीले बुटवलबासी सबैलाई खुशी बनाएको प्रमुख सुवेदीले बताए ।

बुटवल मण्डपमा अस्थायी संरचना बनाएर प्रदर्शनी तथा मेला महोत्सव सञ्चालन हुँदा लाखौं रकम खेर गइरहेको अवस्था छ । अब व्यवस्थित प्रदर्शनी केन्द्र बन्ने प्रक्रियाको औपचारिक शुभारम्भ भएपछि बुटवलका उद्योगी, व्यवसायी उत्साही बनेका छन् । रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन लगायतका संस्थाले अस्थायी संरचना निर्माण गर्दै बर्सेनि मेला महोत्सव गर्दै आएका थिए ।

उद्योग संघका अध्यक्ष गणेश अधिकारीले प्रक्रिया शुरू हुनु खुशीको कुरा रहेको भन्दै ग्लोबल टेण्डरमा सामेल हुने कम्पनीलाई अग्रिम शुभकामना दिए । रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले बुटवलम व्यवस्थित प्रदर्शनी केन्द्रको खाँचो रहेका बेलामा शुरू भएको प्रक्रियाले उत्साह जागेको बताए । उनले समयमै काम सम्पन्न नहुने रोगको भने अन्त्य हुन जरुरी रहेको बताए । 

उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलले आर्थिक सवलीकरणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले समयमै काम सम्पन्न गर्ने र गराउनेतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?