हरेक राजनीतिक दलको केन्द्रीय नेताको निर्वाचन क्षेत्र सधैँ चर्चामा रहने गर्दछ । संघ, प्रदेश र स्थानीय निर्वाचनमा समेत केन्द्रीय नेताहरूको जिल्लामा के हुँदै छ भन्ने चासोको विषय रहने गर्दछ ।
सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देशभर निर्वाचनको सरगमी बढ्न थालेको छ ।
विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरू आ–आफ्नो क्षेत्रमा कसलाई र कस्तो उम्मेदवारलाई अगाडि बढाउने भन्ने छलफलमा जुटेका छन् । सोही क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्ला तनहुँमा पनि स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ ।
तनहुँमा हाल १० स्थानीय तह (६ गाउँपालिका र ४ नगरपालिका) रहेको छ । त्यसमध्ये एक हो तनहुँको भानु नगरपालिका । कांग्रेस वरिष्ठ नेता पौडेलको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने उक्त नगरपालिकामा यतिबेला चुनावी सरगर्मी बढेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा आकांक्षीहरू देखिन थालेका छन् । हाल मुख्यतः भानु नगरपालिकामा नेपाली कांग्रेसबाट ७ जना मेयरको आकांक्षीको रूपमा अघि आएका छन् ।
विद्यार्थी राजनीतिमा लामो समयमा काम गरेकाहरूदेखि लिएर पुराना राजनीतिज्ञसम्म स्थानीय तह निर्वाचन २०७९ को मेयरको आकांक्षीको रूपमा चर्चामा छन् । हाल विपिन अधिकारी, आनन्दराज त्रिपाठी, लक्ष्मीप्रसाद आचार्य, सहदेव अधिकारी, श्याम मग्राती, श्रीभक्त आचार्य, बालकुमारी लोहनी र चिनु पोखरेललगायत रहेका छन् ।
के छ मेयरका आकांक्षीहरूको राजनीतिक इतिहास ?
१. आनन्दराज त्रिपाठी
कांग्रेसको भातृ संगठन नेविसंघ हुँदै पार्टी राजनीतिमा आएको नाम हो आनन्दराज त्रिपाठी । विद्यार्थी राजनीति हुँदै हाल पार्टीको महासमिति सदस्य बनेका त्रिपाठी पार्टी सभापति शेरबहादुर देउवानिकटका नेता हुन् ।
२०४२–४३ तिर सारदा शिक्षा सदन माविमा स्कुल पढ्दैदेखि राजनीतिमा सक्रिय भएका त्रिपाठी हालै सम्पन्न पार्टीको १४औँ महाधिवेशनमा स्वतन्त्र केन्द्रीय सदस्यमा उठेका थिए । स्वतन्त्रबाट ६१० मत पाएका उनी नेपाल विद्यार्थी संघको दुई पटक केन्द्रीय सदस्य र एक पटक महामन्त्री समेत बनेका छन् ।
काठमाडौंका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा समेत रहेर काम गरेका छन् । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको विश्वभाषा तथा नेपाल ल क्याम्पसमा उनले स्ववियुमा बसेर काम गरेको बताउँछन् । २०५३ मा विश्वभाषामा स्ववियु सदस्य, २०५९ मा सचिव हुँदै २०६१ मा सभापतिको प्रत्यासी रहेका उनी नेपाल ल क्याम्पसमा २०५५ मा सहसचिव र २०५७ मा सचिव समेत भएका छन् ।
वरिष्ठ नेता पौडेलसँग फरक मत राख्ने त्रिपाठी हाल पार्टीको कामसहित सामाजिक काममा सक्रिय छन् । नगर विकास समितिको सभापति भएर काम गरेका नेता त्रिपाठी युवा पंक्तिलाई पार्टीले विभिन्न जिम्मेवारी दिनुपर्नेमा जोड दिन्छन् । नेता त्रिपाठी आगामी स्थानीय तहको निर्वाचनमा भानु नगरपालिकाबाट मेयरको उम्मेदवारको रुपमा अगाडी आएका छन् ।
२. विपिन अधिकारी
आगामी स्थानीय तहको निर्वाचनमा भानु नगरपालिकाबाट मेयरको आकांक्षीको रुपमा आएको अर्को नाम हो, विपिन अधिकारी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका अधिकारीसँग पार्टी संगठन र विभिन्न संस्थामा आबद्ध रहेर काम गरेको अनुभव छ ।
लामो समयसम्म विद्यार्थी राजनीतिमा व्यतित गरेका नेता अधिकारी काठमाडौंको महेन्द्ररत्न क्याम्पसमा नेविसंघको इकाइ अध्यक्ष हुँदै केन्द्रीय राजनीतिमा आएका हुन् । कांग्रेसका युवा नेता प्रदीप पौडेलको निकट मानिने अधिकारी आगामी स्थानीय तहको निर्वाचनमा भानु नगरपालिबाट मेयरको आकांक्षीको रुपमा अगाडि आएका छन् ।
जीपी कोइराला लोकतन्त्र संवर्द्धन केन्द्रको महासचिव, शान्ति र मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था alliance for peace को महासचिवलगायत विभिन्न संस्थामा काम आबद्ध रही काम गरेका नेता अधिकारीले शैक्षिक योग्यताअन्तर्गत समाजशास्त्र र अंग्रेजी भाषा साहित्यमा स्नातकोत्तर, कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् । २०६२/६३ सहित देशमा हुने विभिन्न आन्दोलनमा सक्रिय अधिकारी आागमी स्थानीय तहको निर्वाचनमा देशभर युवा नेतृत्व आउनुपर्नेमा जोड दिन्छन् ।
भूकम्प तथा बाढी पहिरो गएका बेला देशका विभिन्न स्थानमा पुगेर उद्धार र राहतमा जुट्ने गरेका उनी आगामी स्थानीय तहको निर्वाचनमा आफूलाई मेयरको उम्मेदवारको रुपमा अघि बढाउन छलफललाई तीव्रता दिएको उनले बताए ।
३. आशा थापा मगर
हाल तनहुँको भानु नगरपालिकाकी उपमेयर हुन्, आशा थापा मगर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भानु नगरपालिकाबाट मेयरको आकांक्षीको रुपमा उनको नाम समेत चर्चामा छ । पार्टीको १४औँ महाधिवशेनबाट महाधिवेशन प्रतिनिधि बनेकी उपमेयर थापामगर कांग्रेस नेता शंकर भण्डारीनिकट मानिन्छिन् ।
विगत दुई दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय उनी बसन्त गाउँ समितिको सभापति समेत रहेकी छिन् । विभिन्न सामाजिक काममा सक्रिय उनी आगामी स्थानीय निर्वाचनमा मेयरको आकांक्षीको रुपमा छलफल र भेटघाटलाई तीव्रता दिएकी छिन् ।
४. लक्ष्मीप्रसाद आचार्य
भानु नगरपालिकाबाट मेयरका लागि आकांक्षीको रूपमा अघि आएको अर्को नाम हो लक्ष्मीप्रसाद आचार्य । आचार्य हाल पार्टीको महासमिति सदस्य रहेका छन् । तनहुँको भानु नगरपालिकामा पुराना राजनीतिज्ञको रूपमा रहेका नेता आचार्य वरिष्ठ नेता पौडेलनिकट मानिन्छन् ।
विद्यार्थी राजनीतिबाट आएका नेता आचार्य पार्टीको १३औँ महाधिवेशनमा तनहुँ क्षेत्र नं १ बाट क्षेत्रीय सभापतिको प्रत्यासी रहेका थिए । स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै नेता आचार्यले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
५. सहदेव अधिकारी
तनहुँमा स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै भानु नगरपालिबाट मेयरको आकांक्षीको रूपमा अगाडि आएको नाम हो सहदेव अधिकारी । जिल्लाको पार्टीसचिवको जिम्मेवारीमा रहेका अधिकारी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
विद्यार्थी राजनीतिबाट आएका अधिकारी पार्टीको १३औँ महाधिवेशनमा जिल्ला सहसचिव रहेका थिए । जिल्लामा राजनीतिसँगसँगै व्यवसायमा समेत आबद्ध रहेका उनले एकता सदन बोर्डिङ स्कुलका सञ्चालक समेत हुन् ।
६. श्याम मग्राती
आगामी स्थानीय तहको निर्वाचनमा भानु नगरपालिकाबाट मेयरको लागि आकांक्षीको रूपमा अघि आएको अर्को नाम हो श्याम मग्राती । वरिष्ठ नेता पौडेलनिकट रहेका मग्राती हाल तनहुँ क्षेत्र नं १ बाट पार्टीको क्षेत्रीय सभापतिमा निर्वाचित हुन् ।
लामो समय वैदेशिक रोजगारीमा रहेका उनी नेपाल फर्किएपछि राजनीतिमा थप सक्रिय भएर लागेको उनी निकटहरू बताउँछन् । जिल्लामा स्थानीय तह निर्वाचनको सरगर्मी बढेसँगै उनले नेता–कार्यकर्ताहरूसँग भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
७. श्रीभक्त आचार्य
भानु नगरपालिकामा पुराना राजनीतिज्ञको रूपमा परिचित नेता हुन् श्रीभक्त आचार्य । आगामी स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै आचार्यको नाम पनि मेयरको रूपमा अगाडि आएको छ । जिल्लामा कांग्रेस नेता गोविन्दराज जोशीसँग निकट रहेका उनी तत्कालीन भानु गाविसका अध्यक्ष समेत रहेर काम गरेका छन् ।
त्यस्तै भानु नगरपालिकामा नेपाली कांग्रेसको नगरका पूर्वअध्यक्ष रहेका उनी नगरसभापतिको आकांक्षीका रूपमा अघि आएका छन् । जिल्लामा पौडेल र जोशीको ठूलो वाकयुद्ध रहेको अहिलेको अवस्थामा जोशीले आफ्नो टिमबाट उनलाई अघि सार्नसक्ने उनी निकट बताउँछन् ।
(नाताले आदीकवि भानुभक्त आचार्यका नाती हुन् ।)
८. बालकुमारी लोहनी
आगामी स्थानीय तहको निर्वाचनमा भानु नगरपालिकाबाट मेयरका लागि आकांक्षीको रूपमा आएको अर्को नाम हो बालकुमारी लोहनी । यसअघि कांग्रेसको महासमिति सदस्य रहेकी उनी जिल्लामा कांग्रेस नेता गोविन्दराज जोशीनिकट मानिन्छिन् ।
माओवादी द्वन्द्वकालमा पति गुमाएकी उनी त्यसपछि थप राजनीतिमा सक्रिय रहेको उनी निकटहरू बताउँछन् । जिल्लामा वरिष्ठ नेता पौडेल र नेता जोशीको टक्करका बेला उनलाई जोशीले मेयरको रूपमा अघि सार्नसक्ने उनीनिकट बताउँछन् ।
९. चिनु पोखरेल
भानु नगरपालिकामा स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै आकांक्षीको रूपमा अघि आएको अर्को नाम हो, चिनु पोखरेल । महिला संघको राजनीतिबाट मेयरको रूपमा अघि बढ्न लागेको उनीनिकटहरू बताउँछन् ।
कांग्रेसको भातृ संगठन नेपाल महिला संघको केन्द्रीय सदस्य बनेकी उनी शिक्षण पेसामा समेत आबद्ध छिन् । हाल पार्टीको महासमिति सदस्य रहेकी उनले आगामी स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै भेटघाट र छलफललाई अघि बढाएकी छिन् ।
पार्टीका वरिष्ठ नेता पौडेल र पूर्वसहमहामन्त्री गोविन्दराज जोशीबीच ठूलो टक्कर रहेको छ । दुवै नेताहरू एक–अर्कामा व्यक्तिगत लान्छानामा समेत उत्रिन्छन् । जोशीले २०७४ सालमा पौडेलविरुद्ध उम्मेदवारी नै दिएर त्यसको विरोध गरेका थिए । आगामी स्थानीय तहमा पनि जोशी आफ्नो छुट्टै उम्मेदवार उठाउने तयारीमा रहेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया