जबजब असार १५ आउँछ

जबजब असार १५ आउँछ । हरेकका घरमा भ्याएसम्म, मिलेसम्म दही चिउरा खाइन्छ । 

मानो रोपेर मुरी फलाउने धाउन्नमा वर्षाभरी खेतलाई अखडा बनाउँछन् । जिम्मलहरुले बेठी लगाएर रोपाइँ गर्छन् । 

हिलाम्ये खेतभरी रोपार र बाउसेहरु देखिन्छन् । तब मलाई तिम्रो याद आउँछ ।

राजन तिमी कहाँ छौ ? देशको मुहार परिवर्तन गर्ने सपना बोकेर हिँडेका तिम्रा पाइलाहरु कहाँसम्म पुगेर रोकिए? मलाई भन  ।
आखिर तिमी कहाँ हराएका छौ?

थाहा छ? गाउँमै कृषि क्रान्ति गर्ने र वैदेशिक रोजगारीमा गएका यूवाहरुलाई गाउँ फर्काउने सपना बोकेका तिमीलाई अचानक बुर्जुवा शिक्षा दिएर बालबालिकाको भविष्य अन्धकारमा पारेको आरोपमा देशको मुहार फेर्न रक्तक्रान्ति गर्ने भन्दै हिँडेका नकाबधारी छापामारहरुले अपहरण गरेपछिको हरेक असार पन्ध्र मेरो लागि खल्लो छ ।

हामीले सँगै असार पन्ध्र मनाउन नपाएको पनि कतिका वर्ष भइसक्यो । यति वर्षसम्म देशमा लोकतन्त्र र गणतन्त्र आइसक्यो । तर, तिमी अझै हराएका छौ । तिमीलाई अचानक राति एक बजे एक हुल नकाबधारी आएर न्याँक्दै लगेको कुरा भोलिपल्ट गाउँघरमा हल्ला चलेको थियो ।

मैले ठानेकी थिएँ – तिम्रा बा सँग भएको पैतृक सम्पत्तिको केही हिस्सा युद्धरत पार्टीलाई दिनुपर्छ भन्ने माग राखेका उनीहरुले हजारौं रुपैयाँ पाएपछि तिमीलाई छाडिदिनेछन् । सफाया हुनसक्ने धम्किसहितका पत्र पठाएर सुन असुलेपछि तिमीलाई कुनै रात घरमै ल्याएर छोडिदिनेछन् ।

तिमी अपहरणमा परेको १० दिनपछि सामाजिक र नेपाली विषय कृष्ण सरले पढाउनुहुन्छ । म त्यही हिसाब नै पढाउँछु । हाम्रो स्कुलमा प्लस टु थपिएको छ ।

चमेली उजेलीहरुले छोरी भएकै कारण स्कुल जान नपाउने व्यवस्था हटेको छ । गाउँलेहरु तोरी, कोदो, उखुको सट्टा काउली, बन्दागोभी गाजर र कुरिलो फलाउँछन् ।  हाम्रो गाउँले रेडियोबाटै थाहा पाएको हो, देशमा लोकतन्त्र आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । 

तर, तिमीलाई लानेहरुले बखानेको जस्तो व्यवस्था आइसक्दा पनि अझै तिमी के को खोजीमा हिँडिरहेका छौ? फेरि तिमीलाई लैजान आदेश दिने कमाण्डरहरु त दिनहुँ मिडियामै देखिरहेकै हुन्छु । तिमीलाई कहीँ कहिल्यै देख्दिन । किन हो ? 

तिमी अपहरणमा परेको १० दिनपछि सामाजिक र नेपाली विषय कृष्ण सरले पढाउनुहुन्छ । म त्यही हिसाब नै पढाउँछु । हाम्रो स्कुलमा प्लस टु थपिएको छ ।

भुल्यौ तिमीले ?  त्यो दिन हामी टारीखेतको रोपाइँ सकेर सँगै घर फर्केका थियौँ ।

सेती दोभाननिरको कालो चुच्चे ढुंगामाथि बसेर काकी आमैले बनाएको केराउ आलुको अचार र चिउरा खाँदै कति जिस्किएका थियौं । उज्याला सपनाहरु  वाचा बन्धन बाँधेका थियौं । आउने मंसिरमै विवाह गर्नेमा प्रतिवद्ध थियौं ।
तर, त्यहि असार १५ एकाएक मेरो जीवनको कालो दिन बन्छ भनेर मैले कल्पना पनि गरेको थिइन ।

असार पन्ध्रकै दिन तिमी हामीबाट छुट्टिनुपरेको त्यो क्षण याद आउँछ । गाउँलेहरूले तिम्रो कृषि क्रान्तिलाई सम्झिरहेका छन् ।

अहिले पनि तिम्रो यादमा टोलाएका मेरा आँखाहरु उल्टै मलाई सजाय दिइन्छन् । मेलापातमा पहिले त मल पाँज्नेदेखि बिरुवाले फल दिदाँसम्म तिम्रो कुरा गर्थे खेतालाहरु । जब हाम्रो पखेराबारीबाट तिम्रो आँगन देखिन्छ । बालाई पिँढीमै कुँजिएको देख्छु । आमालाई पिँढीको फलैचामा कुँजिएकी देख्छु । म भक्कानिन्छु राजन ।

अझ मलाई यो भन्न कठिन भइरहेको छ कि तिमीले जुन टिनको छानो टाल्ने सपना सुनाएका थियौ, त्यो अब टाल्ने ठाउँ नै नदेखिने गरी ह्वाङ्गै छ । तिम्रो घरको खैरो कुकुर आँगनको डिल छोडेर कतै जान मान्दैन । 

परिवार यो हालतसम्म पुग्दा फेरि तिमी कुन क्रान्तिको नाममा आफूलाई घर आउनबाट रोकिरहेका छौँ । किन अल्मलिरहेका छन् तिम्रा पाइलाहरु ? कि अर्को कुनै क्रान्तिको सेटिङ गर्दैछौ ? 

मलाई थाहा छ, राजन । तिमीलाई क्रान्तिको लागि उर्जा दिनेहरुले कमाएको अकूत सम्पत्ति र देखाउन लाज हुने गरी थुपारेको ब्ल्याक मनीको पर्दाफास गर्न तिमीजस्तो योद्धा घर फर्किनेछौ । 
तिमीलाई टिनको छानो फेर्न क्रान्ति आवश्यक छ भन्दै जबरजस्ती थुतेर लगेकाहरुको सम्पत्ति विवरण सार्वजनिक हुँदा मैले जिब्रो टोकें । कति लुटेका रहेछन् । कति चुसेका रहेछन् । अझै पनि यो वा त्यो बहानामा देश बनाउनबाट पन्छिएका छन् । देशको अस्तित्व धरापमा पारेर मस्तीमा लीन छन् । 

तिमी आउनैपर्छ राजन ।

जुन तिमीले देखेको सपना थियो, त्यो अझै पूरा भएको छैन । अँ, समाजमा धेरै थोक फेरिएको छ तर असार पन्ध्रको रौनक उस्तै छ ।

आऊ । अब फेरि हामी पूरै रुझ्नेगरी हिलो खेल्नुपर्छ । अहिले धेरैले नक्कली हिलो खेल्ने र गमलामा धान रोप्ने गर्न थाले राजन । हामीले फेरि उनै खेतमा हिलो खेल्नुपर्छ । किनकि, त्यहाँ उत्तर आधुनिकता पुगिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?