हिमाली सभ्यतायुक्त मुलुकबीचको पहिलो सम्मिलन नेपालमा

                  ‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

                गम्केर बजा खैँजडी, झम्केर नाँच मुजुरा

                सगरमाथि चम्किने नेपाल तारा तेञ्जिङलाई

                छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाई’

 

    विश्वको सर्वोच्च शिखर सगरमाथाको वैभव बोकेको जनकविकेशरी धर्मराज थापाको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । 

    सन् १९५३ मे २९ मा एडमन्ड हिलारीसहित तेञ्जिङ शेर्पाले सगरमाथामा पहिलो मानव पाइला चुमेको क्षण २०औँ शताब्दीको महत्वपूर्ण घटनाक्रम बन्न पुगेको थियो ।

    सगरमाथा र हिमशृंखला भएका मुलुकका लागि नेपाल त्यस्तो एउटा चुली हो, जसले हिमलदेखि समुद्रसम्मका जाति, भाषा, संस्कृति, सभ्यता र जनजीवनलाई जोडेको छ । 

    संस्कृति, सभ्यता र संवेदनाको वैशिष्ट्य बोकेका ती मुलुकबीचको उत्कृष्ट लोकसंस्कृति, पर्यावरण र जडीबुटीका साथै भावनात्मक मिलनका लागि नेपालमा पहिलो पटक ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुँदैछ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरता र मदन भण्डारी कला साहित्यिक प्रतिष्ठानको आयोजनामा २०५ औँ भानुजयन्तीका अवसरमा हुन लागेको त्रिदिवसीय सम्मिलनमा नेपालका २०० भन्दा बढी र विश्वका १३ देशका करीब ५० स्रष्टा एवं संस्कृतिकर्मीको सहभागिता हुनेछ । सम्मिलन यही असार २९, ३० र ३१ गते काठमाडौँमा आयोजना हुन गइरहेको छ ।

    ‘सगरमाथामा मानव पाइला चुमेजस्तै अर्को ऐतिहासिक उद्घोष हो यो सम्मिलन, जसको आयोजनाको आँट गर्नु भकारीलाई नाम्लो लगाएर बोके झैँ भए पनि हामी तयारीमा जुटेका छौँ ।” प्रतिष्ठानले गठन गरेको २०५ सदस्यीय सम्मिलन आयोजक समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले भन्नुभयो, “हिमवत् खण्डसँग सम्बन्धित सभ्यताको इतिहास नेपालमै छ, हामीसँग एक हजार वर्ष पुरानो अभिलेख छन्, त्यसलाई विश्वसामु चिनाएर समृद्धिको सपनामा सहभागी खोजेको छौँ ।” 

    ऋग्वेदकालदेखि नै विश्वको सर्वोच्च शिखर सगरमाथा केन्द्रबिन्दु रहेको र यसको वरिपरि रहेका हिमवत् खण्डका सभ्यताको पहिलो स्रोत रहेको उहाँको भनाइ छ ।

    विश्व मानचित्रको उत्तरी भूगोल मंगोलिया, दक्षिणको श्रीलंका, पूर्वको मलेसिया र थाइल्याण्ड तथा पश्चिमको युरोप र अमेरिकासम्म हिमवत् खण्डमा जोडिन्छ । 

    हिमवत्खण्डमा आधारित कला, साहित्य र समृद्धिका आधारहरु पहिल्याउने तथा समृद्ध समाज निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्का स्रष्टा तथा साधकका योगदानका पक्ष उजागर गर्ने सम्मिलनको उद्देश्य छ ।    

    सम्मिलनमा भारत, म्यान्मा, भुटान, थाइल्याड तथा युरोप र अमेरिकासहित १३ मुलुकबाट प्रतिनिधित्व हुने निश्चित भइसकेको आयोजक समितिका सदस्य सचिव डा देवी नेपालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

    सम्मिलननका लागि गुरु बरालको संयोजकत्वमा मोदनाथ प्रश्रित, दीनानाथ शर्मा, प्रदीप गिरी, शान्ता मानवी, देवराज घिमिरे, डा तुलसी भट्टराई, डा विजय सुब्बा र प्रा डा उषा ठाकुर रहेको परामर्श समिति र १९ विभाग गठन गरिएको छ ।

    सम्मिलनको उद्घाटन राष्ट्रिय नाँचघरमा २९ गते प्रधानमन्त्री ओलीले गर्नुहुनेछ भने ३० गते रुसी सांस्कृतिक केन्द्रमा बहुभाषिक कविगोष्ठी तथा हास्य साँझ हुनेछ । सोही दिन ‘हिमवत्खण्ड क्षेत्रका भाषाको उद्भव र विकासको आयाम’, ‘नेपालका भाषाहरुको साहित्यिक अवस्था र समृद्धिको यात्रा’, ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ र ‘नेपाली कला संस्कृतिको फैलिँदो आकाश’ विषयका कार्यपत्रसहित छलफल हुनेछ । 

    ती कार्यपत्र प्रा डा माधवप्रसाद पोखरेल, प्रा डा जीवेन्द्रदेव गिरी, प्रा डा कविता लामा र ठाकुरप्रसाद मैनालीले प्रस्तुत गर्नैछन् । यस्तै ३१ गते चन्द्रगिरिमा सिर्जना यात्रा र समृद्धिका लागि उद्घोष हुने बताइएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?