आपत्कालीन टेलिफोन सेवा

रसुवा । वर्षायाममा हुन सक्ने विपद् व्यवस्थापनलाई  सहज बनाउने उद्देश्यले रसुवामा हटलाइन टेलिफोन सेवा सञ्चालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार प्राकृतिक प्रकोप वा आकस्मिक घटनामा आम नागरिकलाई तुरुन्तै खबर दिन हट लाइन टेलिफोन सेवा सञ्चालनमा ल्याइएको हो ।

जडान भएको ०१०५४००१९ नंको आपात्कालीन हटलाइन टेलिफोन चौबीसै घण्टा सञ्चालनमा आउने र विपद्का साथै शान्ति सुरक्षा, सरकारी कार्यालयको सेवा प्रवाह, स्थानीय तहले गरेका अनियमिततासम्बन्धी गुनासा सुन्ने र सो गुनासोको प्रतिक्रिया सम्बन्धित गुनासोकर्तालाई दिनेसमेतका कार्य उक्त हटलाइनबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।

कुनै पनि घटनाको जानकारी लिन चाहने इच्छुक व्यक्तिलाई पाँच मिनेटमै हटलाइनबाट  घटनाको विवरण उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको बताइएको छ ।

यस्तै जिल्ला प्रशासन र सबै सरकारी कार्यालयबाट प्रशासनिक कार्य चुस्त पारी आमनागरिकलाई छिटो छरितो सेवा प्रदान गर्न थालिएको छ ।

युवा प्रशासक कृष्णप्रसाद पौडेलको प्रयासबाट थालिएको सुधारात्मक कार्य बमोजिम उक्त कार्यालय पुग्ने सोवाग्राहीलाई आरामदायी कुर्सी, वाइफाई, बच्चा भएका महिला सेवाग्राहीलाई स्तनपान गराउने छुट्टै स्थान, महिला र पुरुषलाई छुट्टाछुट्टै शौचालय र बाहिरी भागमा फूलबारीसहितको स्वच्छ वातावरणको व्यवस्था गरिएकाले  प्रशासन सुधारमा निकै परिवर्तन आएको पाइएको सेवाग्राही ईश्वरलाल श्रेष्ठले चर्चा गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?