फुटको संघारमा नेविसंघ,  बहुमतको निर्णयले महाधिवेशनको मिति घोषणा !

काठमाडौं । कांग्रेसको भातृ संगठन  नेपाल विद्यार्थी संघ फुटउन्मुख देखिएको छ ।  अध्यक्ष नैनसिंह महरको कार्यशैलीको विरोधमा रहेको महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको समूहले अध्यक्ष महरले महाधिवेशन गर्न नचाहेको भन्दै एकलौटी रुपमा महाधिवेशनको मिति घोषणा गरेसँगै नेविसंघ फुट उन्मुख देखिएको हो । 

बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकको निर्णय भन्दै काफ्ले समूहले संगठनको १२ औं महाधिवेशनको मिति घोषणा गरेको छ  । 

 संघका  उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा राजधानीमा बसेको भनिएको बैठकले  आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने निर्णय गरिएको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्सीय महाधिवेशन आयोजक समिति गठन गरेको छ भने उनकै संयोजकत्वमा नियमावली तयारी समिति गठन गरिएको छ ।  समितिले ५ दिनभित्र नियमावली तयार पार्नुपर्नेछ । 

यस्तै अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति गठन गरिएको छ  भने उपाध्यक्ष नविन राईको संयोजकत्वमा विधान मस्यौदा तयार गर्न विधान समिति गठन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए । 

महाधिवेशन सम्पन्न गर्न प्रचारप्रसार समिति, आवास तथा भोजन व्यवस्थापन समिति, शैक्षिक  प्रतिवेदन समिति, सांगठनीक तथा राजनीतिक प्रतिवेदन समिति, स्वयम्सेवक परिचालन समिति, मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, खानेपानी, यातायात, विवाद निरुपण र आर्थिक  समिति गठन गरिएको छ । 

बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधान विपरित गरेका मनोनयन खारेज  गरेको घोषणा समेत गरेको छ ।  विधान बमोजिम रिक्त २२  जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय महामन्त्री  कुन्दनराज काफ्लेले जानकारी दिए । 

महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदानन नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ । 

योसँगै लामो समयदेखिको नेविसंघको विवाद थप पेचिलो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?