६ वटा मागसहित नयाँ शक्तिले माइतीघर मण्डलामा पदर्शन गर्ने

काठमाडौं । नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले गरेका क्रियाकलापका विरुद्ध प्रदर्शन गर्ने भएको छ । सो पार्टीले सरकारका कामकारवाही विरुद्ध आगामी साउन १ माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको हो ।  सो क्षेत्रलाई सरकारले हालैमात्र निषेधित क्षेत्र घोषणा गरेको छ । नयाँ शक्ति पार्टीका सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग प्रमुख विश्वदीप पाण्डेले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारका काम कारवाही विरुद्ध पार्टीको ध्यान गम्भीर ध्यान आकर्षित भएकाले ६ वटा माग समेत अघि सारिएको जनाएका छन् । 

यस्ता छन् नयाँ शक्तिका माग

१. लोकतन्त्रलाई संकुचन गर्ने अधिनायकवादी मनोदशाबाट प्रेरित भएर साउन १ गतेदेखि काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय अबिलम्ब खारेज गरियोस् । सञ्चारजगत र प्राज्ञिक क्षेत्रमा भइरहेको नग्न सरकारी हस्तक्षेप बन्द गरियोस् । प्रेस र अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपमा प्रत्याभूत गरियोस् ।

२. बजेट फ्रिज हुन नदिने नाममा जथाभावी भइरहेको असारे विकास अबिलम्ब बन्द गरियोस् । यस प्रक्रियामा भइरहेको भ्रष्टाचार, गुणस्तरहीन निर्माण र कमिसनखोरीलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस् । श्रावण–असारको आर्थिक वर्ष परिवर्तन गरी वैशाख–चैत्रको नयाँ आर्थिक वर्ष कायम गरियोस् । 

३. शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहको चरम निजीकरण, व्यापारीकरण र माफियाकरण अन्त्य गरियोस् । समाजवादी नीति अनुरुप शिक्षा र स्वास्थ्यको व्यवस्था गरियोस् । माथेमा आयोगको सिफारिस, मर्म र भावना अनुरुप स्वास्थ्य शिक्षा विधेयक संसदमा पेश गरियोस् ।

४. महिला हिंसाका घटना नियन्त्रण गर्न, महिला हिंसामा संलग्नलाई कारवाही गर्न राज्यले देखाएको उदासिनता अन्त्य होस् । पश्चिम नेपालमा कायम रहेको छाउपडी प्रथाको अन्त्यका लागि अबिलम्ब प्रभावकारी कदम चालियोस् । 

५. विकासका नाममा विशेषत ः काठमाडौं उपत्यकाभित्र भइरहेको सांस्कृतिक सम्पदाहरुको विनाश र जिर्णोद्धारमा गरिएको लापरवाही अन्त्य गरियोस् । काठमाडौं–निजगढ द्रूतमार्गसँग जोडिएको खोकनाबासीहरुको सरोकारलाई सम्बोधन गरियोस् । 

६. वर्षायामसँगै देशव्यापी रुपमा भइरहेको बाढी, पहीरो, डुबान, कटानको समस्यालाई दृष्टिगत गरी राज्यको तयारीलाई प्रभावकारी बनाइयोस् । यस्ता घटनामा उद्धार, राहत र पुनस्र्थापना कार्यलाई तदारुकताका साथ सम्पन्न गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?