ऋणीसँग चौध प्रतिशतसम्म ब्याज लिनु सामान्य हो : सीईओ गौतम (भिडियो सहित)

काठमाडौं । बैंक त्यस्तो वित्तीय संस्था हो, जसले जनताको धनराशी जम्मा गर्ने तथा आवश्यक पर्दा ऋण दिने गर्छ । आ–आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकबाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । तर अहिलेपनि नेपालका ग्रामीण बस्तीहरुमा बैंकिङ पहुँच सरल तरिकाले पुग्न सकिरहेको छैन । किन बैंकहरु ग्रामीण क्षेत्रमा शाखा विस्तार गरेर जनतालाई सेवा दिन हिच्किचाउँछन्? पछिल्लो समय बैंकहरुले उच्च ब्याजदर दिन प्रतिस्पर्धा गरिरहेका छन् । हाम्रा बैंकिङ कारोबार कत्तिको सुरक्षित छन् ? यिनै विषयमा केन्द्रित रहेर लोकपथकर्मी अनिता आचार्यले सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ तुलसीराम गौतमसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

बैंकहरुमा बढी ब्याजदर दिने प्रतिस्पर्धा चलिरहेको छ, खास कुरा के हो ?

जुनसुकै क्षेत्रमा पनि प्रतिस्पर्धा त हुन्छ नै । बैंकमा पनि त्यस्तै हो । तर धेरै नै उतारचढाव भएको छैन । डिपोजिटमा हामी एघार प्रतिशतसम्म दिइरहेका छौँ । 
ऋणमा चाहिँ १३–१४ प्रतिशतसम्म ठीकै हो जस्तो लाग्छ मलाई । किनभने कुनै बेला ऋणमा ब्याजदर २२ प्रतिशतसम्म तोकेको थियो राष्ट्र बैंकले ।

बैंकहरुलाई ब्याजदर बढाएर ऋणीहरुलाई चर्को मारमा पारेको आरोप छ नि !

ब्याजदर बैंंकले आफै बढाउने होइन । ऋणको ब्याजदर भनेको डिपोजिटको ब्याजदरमा आधारित हुन्छ । हामीले डिपोजिटलाई ११ प्रतिशत ब्याज दिइरहेका छौँ भने ऋणीबाट १३–१४ प्रतिशत ब्याज लिनु गलत होइन । फेरि त्यसरी लिएको पैसा बैंकले आफै राख्ने पनि होइन । यो दुई ठाउँमा जान्छ ।

डिपोजिटर र बैंकका कर्मचारीको सञ्चय कोष । प्राय बैंकहरु शहरकेन्द्रित छन् । उता ग्रामीण भेगमा पैसा बैंकिङ प्रणालीमा लानुपर्छ भन्ने चेतनासम्म छैन ।

बैंकहरुले किन ग्रामीण भेगमा सेवा दिन हिच्किचाएका होलान् ?
अहिले त्यस्तो अवस्था छैन । हरेक गाउँपालिकामा एउटा ए–क्लास बैंक अनिवार्य छ भनेर सरकारले नै पारित गरिसकेको छ । यो नियम लागू भएदेखि अहिले हरेक गाउँपालिकामा बैंक खुलिरहेका छन् ।
यातायात, बिजुली जस्ता पूर्वाधार नै नपुगेका दुर्गम ठाउँमा, पातलो बस्ती भएको ठाउँमा हामी पुग्न सकेका छैनौँ । किनकि हामीलाई पनि काम गर्न सहज वातावरण चाहिन्छ ।

बैंकले अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको छ भनिन्छ नि खास कुरा के हो?
हाम्रो समाजमा कृषि, उद्योग, कलकारखानालाई मात्र उत्पादक क्षेत्र भनिन्छ । यो बुझाई नै गलत छ । कुनै पनि क्षेत्र अनुत्पादक हुँदैन ।

एउटा घरले आफैमा केही उत्पादन गर्दैन तर त्यो घर बनेकै कारण सिमेन्ट, इँटा, काठ आदिजस्ता सामग्री बिक्छन् । मजदुरहरुले काम पाउँछन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबै उत्पादनसँगै जोडिएका छन् ।

कार किन्नेलाई ऋण दिने तर भैंसी किन्नेलाई सजिलै ऋण नदिने । बैंकहरु किन पक्षपाती भएका?
बैंकले दिने ऋण च्यारिटी त होइन नि । ऋण लिने व्यक्तिले निश्चित समयमा ब्याजसहित पैसा बुझाउन सक्नुप–यो । हामीले त्यही अनुसार प्रक्रिया पूरा गरेर ऋण दिने हो ।
भैंसी पाल्नेलाई ऋण दिन भनेरै कृषि विकास बैंक स्थापना भएका छन् । उनीहरुले कृषकलाई विशेष सहुलियतका साथ ऋण दिइरहेका पनि छन् ।

यतिमात्र नभएर सरकारले हरेक बैंकलाई केही प्रतिशत कृषिलाई दिनुपर्छ भनेर निर्देशन पनि दिएको छ ।

आफ्नो ३५ वर्ष लामो करियरमा यहाँले बैंकिङ क्षेत्रमा प्रविधिको के–कस्तो विकास अनुभव गर्नुभयो?
बैंकको उद्देश्य र काम त उही हो । पहिले पनि, अहिले पनि । निक्षेप उठाउने, ऋण दिने र पैसा एक ठाउँबाट अर्को ठाउँसम्म पु–याउने ।

अहिले, मात्र च्यानल परिवर्तन भएको छ । पहिले, डोकोमै वा बोरामै बोकेर पैसा एक ठाउँबाट अर्को ठाउँ लग्नुपथ्र्यो ।  जसलाई हामी ‘तोडा चलान’ भन्ने गथ्र्यौं ।

क्रमशः यातायात हुँदै अहिले ‘वायर’ का माध्यमबाट नगदको कारोबार हुन्छ । पहिले पैसा झिक्नलाई काउण्टरमा घण्टौं सम्म लाइन बस्नुपर्ने अवस्था थियो भने अहिले एटियम, डेबिट कार्ड, क्रेडिट कार्डको जमाना आइसक्यो ।

प्रविधिले यति ठूलो फड्को मारिसक्यो कि अब त हरेकको हातैमा बैंक छ । मोबाइल फोनबाट नगद कारोबार हुन थालिसक्यो ।

प्रविधिले यत्रो फड्को मारिसक्दा पनि हाम्रो देशमा अझै कतिलाई एटीएमको बारेमा राम्रो ज्ञान छैन । हामी वित्तीय साक्षरतामा कमजोर भएका हौँ ?
त्यस्तो होइन । हरेक कुरालाई विकास हुन समय लाग्छ । इतिहासलाई फर्केर हेर्ने हो भने सन् १४३९ मा जमर्नीका जोहानेस गुटेनबर्गले विकास गरेको ‘प्रेस’ लाई नेपाल भित्रिन झण्डै ४ सय वर्ष लाग्यो ।

त्यस्तै चीनमा २ हजार वर्ष अगाडि देखि नै कागज प्रयोगमा आएको भनिन्छ । तर नेपालमा कागजको इतिहास २ सय वर्षभन्दा लामो नहोला ।
यसरी हामी हरेक क्षेत्रमा वर्षौं वर्षपछि भइरहँदा यो प्रविधि आएको केवल दश वर्ष जति भयो । त्यसैले त्यति आत्तिहाल्नुपर्ने अवस्था छैन । क्रमश सुधार हुँदै जान्छ ।

नेपालको बैकिङ क्षेत्र कतिको सुरक्षित छ जस्तो लाग्छ यहाँलाई?
अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्दा त्यस्ता ठूला घटना घटेका छैनन् हाम्रो देशको बैकिङ क्षेत्रमा ।
यसको मतलब हामी शतप्रतिशत सुरक्षित छौं पनि भन्न मिल्दैन । अक्कलझुक्कल स–साना घटनाहरु त जहाँ पनि हुन्छन् । तर, भयङ्कर क्षति भएको अहिलेसम्म सुन्नमा आएको छैन ।

अहिले हाम्रा १ सय १० वटा शाखा छन् । अबको दुई तीन महिनामा १ सय २५ वटा शाखा स्थापना गर्ने लक्ष्य छ

सेञ्चुरी कमर्सियल बैंकको अबका योजनाहरु के कस्ता छन् ?
प्रविधिको तीव्र विकाससँगै आफ्नो क्रियाकलाप र सुविधाहरुलाई अघि बढाएर लैजाने सोच छ । जसअन्तर्गत् हामी जतिसक्दो छिटो ‘फोन पे’ प्रणालीको विकास गर्नेछौँ ।
यही वर्ष देशभरिका विभिन्न ठाउँहरुमा एटिएम मेसिन स्थापना गर्ने योजना बनाएका छौं ।

यसका अतिरिक्त हामीले आफ्नो शाखा बिस्तार गर्ने योजना बनाएका छौँ । अहिले हाम्रा १ सय १० वटा शाखा छन् । अबको दुई तीन महिनामा १ सय २५ वटा शाखा स्थापना गर्ने लक्ष्य छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?