नेतृत्वलाई रञ्जु दर्शनाको प्रश्न : जनताको मुख थुनेर समृद्ध नेपाल सम्भव छ ? (भिडियो सहित)

निर्वाचनपछि विवेकशिल साझा पार्टी  सामाजिक सञ्जालमा मात्रै सिमित छ, निर्वाचनपछि वेपत्तै भयो भन्ने आरोप छ नि ? 
विवेकशिल साझा पार्टी लाई निर्वाचन अघि पनि यस्ता आरोप नआएका होइनन् । ‘फेसबुके पार्टी’ भनेर नामै दिइएको थियो । तर देशविदेशमा भएका जनताले हाम्रो क्रियाकलाप तथा कार्यक्रमहरुलाई नजिकबाट नियाल्ने एक मात्र माध्यम हो ; सामाजिक सञ्जाल ।

त्यसैले पनि हामी सामाजिक सञ्जालमा एकदमै सक्रिय भएका हौं । कति सक्रिय भयौं भन्ने आधारमा भन्दा पनि हामीले सामाजिक सञ्जालमा प्रस्तुत गरेका कुरा कतिको यथार्थपरक छन् भन्ने कुरा विचार गर्न जरुरी छ ।
निर्वाचनपछि हामी मात्र नभएर नेपाली कांग्रेस, नेकपा जस्ता अन्य पार्टीहरु पनि सामाजिक सञ्जालमा सक्रिय भएको देखिन्छ ।

प्रतिपक्ष दलको भूमिकामा बसेपछि जनतालाई सरकारको कमजोरीहरु औँल्याउँदै , जनताको मन जित्ने काम गरेर 'हामी छौं ' भनेर आश्वासन दिनुपर्ने हो । तर विवेकशील यसमा अलिक कमजोर हुँदै गएको देखिन्छ नि ?
जनप्रतिनिधिहरुलाई कामै गर्न नदिएर असफल हुन् भनेर भाँजो हाल्ने काम चाहिँ गर्नु हुँदैन । एउटा निश्चित समयसम्म उहाँहरुले आफ्नो काम गर्न सक्नु भएन भने त्यसपछि केकस्तो कदम चाल्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ । 
र,जुन जनतालाई अपिल गर्ने कुरा छ, त्यसको लागि हामीले वडास्तरमै बोटबिरुवा रोप्ने, जनचेतना फैलाउने जस्ता कार्यक्रमहरु मार्फत् गरिरहेका छौं ।   

काठमाडौंको मेयरले अहिले गरिरहेको काममा कतिको चित्त बुझिरहेको छ तपाईंलाई ?
‘वाचा कम, काम बढी’ नीति अपनाइनुपर्ने थियो तर ठ्याक्कै उल्टो भयो ।
मेयरले आफ्नो विजयउत्सवमा १ सय दिन १ सय एक काम गर्छु भन्ने वाचा गर्नुभएको थियो तर उहाँको भनाई अनुसारको नतिजा आइरहेको छैन ।

काठमाडौंका खास समस्या के छन् र मेयर ज्यूले कहाँ गडबड गरिरहनुभएको छ ?
काठमाडौंकेन्द्रित भएर हेर्ने हो भने भूकम्पपछिको ‘पुनर्निर्माण’ मा जति तीव्रता आउनु पर्ने थियो त्यति आएको छैन । जब कि उहाँहरुको घोषणा पत्रमा सबैभन्दा मुख्य एजेन्डा नै यही थियो । 
काठमाडौंलाई मास्कमुक्त बनाउने विषयमा पनि उहाँहरुले प्रतिबद्धता जनाउनुभएको थियो । तर उहाँलाई अहिले कसैले यो प्रश्न ग–यो भने ‘मेयरको मात्र काम होइन यो । वातावरण विभागमा जानुहोस् ।’ भन्दै कड्किनु हुन्छ । 
सारा काठमाडौंवासीले आफ्नो जनप्रतिनिधिका रुपमा उहाँलाई मनोनित गरिसकेपछि यसरी आफ्नो कर्तव्यबाट पन्छिन त मिल्दैन नि । 
मेयरले एक्लै यी सबै काम गर्न सक्ने होइन तर जनता र सबै आवश्यक निकायलाई जोड्ने पूल त बन्न सक्नुहुन्थ्यो ।  

तर माईतीघर मण्डलाको मुद्दा, उपकुलपति प्रकरण, चिकित्सा शिक्षा विधेयक सम्बन्धी गोलमाल आदिजस्ता विषयहरुलाई मध्यनजर गर्दा चाहिँ ‘लोकतन्त्र’माथि नै प्रश्नचिह्न खडा भएको छ ।

राजधानीलाई मात्रै नभएर सारा नेपालको सन्दर्भमा हेर्दा चाहिँ सरकारले आफ्नो काम कर्तव्य कतिको पूरा गर्न सकेको छ जस्तो लाग्छ तपाईंलाई ?
केही समय अघिसम्म सरकारले बनाएको नीतिनियम, योजनाप्रति केही हदसम्म आशावादी नै थिएँ म । तर माईतीघर मण्डलाको मुद्दा, उपकुलपति प्रकरण, चिकित्सा शिक्षा विधेयक सम्बन्धी गोलमाल आदिजस्ता विषयहरुलाई मध्यनजर गर्दा चाहिँ ‘लोकतन्त्र’माथि नै प्रश्नचिह्न खडा भएको छ । त्यसैले अहिले त्योे आशामा केही गिरावट पक्कै पनि आएको छ ।   

सरकारले माईतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने भनेर निषेधाज्ञा जारी गरेको छ । यसमा तपाईंलाई के भन्नु छ ?
सरकारले गरेको यो निर्णय मात्र नभएर एकपछि अर्को गर्दै यस्ता धेरै निर्णयले अधिनायकवादतर्फ ढल्केको सङ्केत गरिरहेको छ ।
जहाँसम्म माईतीघर मण्डलामा प्रदर्शन निषेधको कुरा छ सरकारले यो बुझ्न जरुरी छ कि माईतीघर मण्डला हाम्रो साझा चौतारी हो । यहाँ हिंसात्मक क्रियाकलाप मात्र हुँदैनथिए । शान्तिपूर्ण वातावरणमा जनजागरण कार्यक्रम, ¥याली, प्रदर्शनहरु पनि हुन्थे । तर सरकारले यस्तो गरेर जनताको मुख थुन्न खोजेको प्रष्टै देखिन्छ । सरकारको मुख्य नारा भनेकै ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने छ । तर जनताको मुख थुनेर समृद्ध नेपाल सम्भव छ र ? फेरि राजाले हाम्रो मुख थुने भनेर उग्र रुपमा सडकमा उत्रिने पनि उहाँहरु नै हुनुहुन्थ्यो ।
संविधानको धारा १७ ख मा उल्लेख भए अनुसार कुनै पनि ठाउँमा भेला भएर शान्तिपूर्ण हिसाबले प्रदर्शन गर्न पाइन्छ । सरकार संविधान अन्तर्गत नै चल्दैन भने हामीले आवाज उठाउनै प¥यो नि । 

तपाईंले देखेको ‘समृद्ध नेपाल’को चित्र कस्तो छ ?
जबसम्म उपचारको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनुप¥यो भन्ने खबर आउँछ, तबसम्म म नेपाललाई समृद्ध मान्दिन ।
समृद्धिका लागि आवश्यक आधारभूत तत्त्वहरुको विकास भएपछि मात्रै समृद्धिका बारेमा सोच्ने हो ।
हाम्रोमा स्वास्थ्य, शिक्षा, यातायात जस्ता आधारभूत विषयहरु नै नाजुक अवस्थामा छन् भने समृद्धितर्फ एकैचोटि छलाङ मार्ने भन्ने बारे तत्काल मैले देखेको स्केचमा छैन ।  

उद्यमशीलताको विषयमा विवेकशील साझाले के सोचेको छ ?
उद्यमशीलताको विषयमा विवेकशील साझा अग्रपंक्तिकै पार्टी मानिन्छ । यो एकमात्र त्यस्तो पार्टी हो जसले आफ्ना सदस्यहरुलाई पनि कुनै उद्यममा लागेर मात्र पार्टीमा प्रवेश गर्नु भनेर प्रोत्साहन गरिरहेको हुन्छ । यसका अतिरिक्त पार्टीले उद्यमशीलतासँग सम्बन्धित धेरै कार्यक्रमहरु पनि आयोजना गर्ने गरेको छ ।
वर्तमान सरकारले पनि दुई तरिकाले युवाहरुका लागि उद्यमको बाटो सिर्जना गर्न आवश्यक छ । पहिलो, उद्योग कलकारखाना मार्फत् रोजगारी सिर्जना गर्ने । अर्को, कृषिलाई उजाँगर गर्ने ।  

तर सरकारले ती नीतिहरुको कार्यन्वयन गरेन । सो नीतिहरुलाई लागू गनुपर्छ भनेर फेरि पनि अनसन बस्नुप¥यो ।  यो त सरकारले सिधै जोक बनाएको होइन र ?

डा.गोबिन्द केसी चिकित्सा क्षेत्रमा भएको विकृति विसङ्गतिलाई हटाउन भनेर अन्सनमा बस्नुभएको निक्कै भयो । यही क्रममा उहाँको स्वास्थ्य स्थिति पनि नाजुक बन्दै गएको छ । यो अवस्थालाई रञ्जु दर्शनाले कसरी हेरिरहनुभएको छ ?
डा.केसीले शुरु गर्नुभएको यो सत्याग्रहमा शुरुवाती पालादेखि नै म आबद्ध छु । त्यसैले १५ औं अन्सनसम्म आइपुग्दाको यात्रा केकस्तो भयो भन्ने मलाई राम्रोसँग थाहा छ । 
५ औं अनसनपछि सरकारले ‘माथेमा आयोग’ भनेर विज्ञहरुको टोली गठन गर्यो  जसले चिकित्सा शिक्षा क्षेत्रमा के गर्नुपर्ने, के गर्न नहुने भनेर एउटा प्याकेज नै बनाएर सरकारलाई हस्तान्तरण गर्यो  । यसरी डा.केसीको अनसन तोडियो । तर सरकारले ती नीतिहरुको कार्यन्वयन गरेन । सो नीतिहरुलाई लागू गनुपर्छ भनेर फेरि पनि अनसन बस्नुपर्यो  । 
यो त सरकारले सिधै जोक बनाएको होइन र ? कम्युनिस्ट सरकारको मूल सिद्धान्त भनेकै ‘समानता’ हो । तर त्यही विषयके लागि लडिरहेका व्यक्तिको आवाज दबाउन खोज्नु भनेको त उहाँहरुको सिद्धान्त विपरीतको काम भयो नि ।
यो त ‘नेपाली टाइम’ भने जस्तै ‘नेपाली कम्युनिस्ट’ भयो । आफ्नै बेग्लै नियम । सिद्धान्त एउटा अनि गतिविधि अर्कै ।
यदि डा.केसीले अन्सन गर्नु गलत हो भने सरकारसँग पावर छ । जेल चलान गर्दिनुस् । होइन भने पहिलो अनसनमा जे वाचाहरु गरिएका थिए, ती पूरा गर्दिनु प¥यो ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?
अब हामी सबैले आशावादी हुन जरुरी छ । लोकतन्त्रमा ठूलो प्रश्न चिह्न खडा गरिएको छ, लोकतन्त्रलाई नाममा मात्र सिमित गरिएको जस्तो देखिन्छ । त्यसैले अब नागरिकहरुको शक्ति देखाउने बेला आएको छ । इतिहासलाई हेर्ने हो भने पनि सरकार भर्सेस जनताको लडाईमा जीत जहिल्यै जनताकै हुँदै आइरहेको छ । सरकारले यो कुरा मनन गरेर अघि बढ्दा ठीक हुन्छ जस्तो मलाई लाग्छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?