विश्वकप फाइनल : बलियो फ्रान्स, नौलो क्रोएसिया

काठमाडौँ — फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार मानिएका अधिकांश ठूला टोलीले अपेक्षित प्रदर्शन गर्न चुकेको यस प्रतियोगितामा फाइनल पुगेका दुवै फ्रान्स र क्रोएसिया भने अपराजित छन् ।

आइतबार मस्कोस्थित लुजनिकी रंगशालामा क्रोएसिया पहिलो फाइनलमै उपाधि हत्याउने दाउमा छ भने फ्रान्स सन् २००६ को पीडा बिर्साउँदै दोस्रो उपाधि जित्ने लक्ष्यमा छ । १२ वर्षअघि इटालीसँग टाइब्रेकरमा पराजित फ्रान्सले सन् १९९८ मा ब्राजिललाई ३–० ले हराउँदै पहिलो विश्वकप उपाधि जितेको थियो । फ्रान्सले फाइनलसम्म यात्रा तय गर्दा समूह ‘सी’ बाट तीन खेलमा २ जित र १ बराबरी खेलेको थियो ।

यसपालि विश्वकपमा भित्र्याइएको भिडियो असिस्टेन्ट रेफ्री (भार) को पहिलो फाइदा पनि फ्रान्सले नै पाएको थियो । समूहको पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध रेफ्रीले भारको प्रयोग गरेर प्रारम्भिक निर्णय उल्टाउँदै फ्रान्सलाई पेनाल्टी दिएका थिए । समूहको शीर्षस्थानमा रहेको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । अाजकाे कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?