वैदेशिक लगानीको ‘जानकार हुँ’ भन्नेले गरे चार करोड ठगी

काठमाडौं । झट्ट हेर्दा उनी सामान्य मान्छेभन्दा फरक देखिन्छन् । सफाचट र आकर्षक पहिरन, मीठो बोली बोल्नु उनको ठगी धन्दाको प्रमुख विशेषता जस्तै हो ।

पहिलोपटक भेट्ने जो कोहीले पनि उनलाई नराम्रो भन्न सक्दैनन् । मीठो बोली र भद्र व्यवहार भित्रको कर्तुत नभोगेसम्म पहिलोपटक भेटेकाहरूले उनको बारेमा अन्य कुरा जान्दैनन् । 

यी तिनै व्यक्ति हुन्, जो सर्वसाधारणबाट चार करोड ठगी गरेको आरोपमा प्रहरीको फन्दामा परेका छन् । 

सुनसरी इनरुवा घर भई हाल बालुवाटार बस्दै आएका ४४ वर्षीय अनिल विश्वकर्मा गजमेर ।

गजमेरलाई करोडौं ठगी मुद्दामा मंगलवार पक्राउ परेका थिए । विशेष गरी दलित समुदायका उच्च व्यक्तित्वसँग सम्पर्क बढाउने दलित उन्मुक्ति र आर्थिक उन्नतिका विषयमा बहस गर्ने गजमेरले दलित समुदायका व्यक्तिलाई बढी ठगी गरेको देखिन्छ ।

विगतमा म्यानपावर कम्पनी सञ्चालन गरी ठगी मुद्धामा नै फसेर अदालतबाट उन्मुक्ति पाएका गजमेरले पुनः वित्तीय कम्पनीको नाममा ठगी गर्न थालेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलका अनुुसार गजमेरको विगतको इतिहास पनि राम्रो छैन ।

उनीमाथि दर्जनौं उजुरी परेका छन् । उनी आफु बैदेशिक लगानी भित्र्याउन सक्ने व्यक्ति हु भन्दै विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै हिँड्थे । 

धेरै मीठा गफ हाँक्ने, भेटेजतिका सबैलाई मेरै मान्छे हो भन्ने, र अन्तमा आर्थिक उन्नतिका लागि ब्याजको लोभ देखाई लगानी गर्न लगाउने, पैसा ठग्ने, भाग्ने गरेको परिसरका प्रमुख बताउँछन् ।

गजमेरले एक वर्षको अवधिमा ‘माइ इनभेष्टमेण्ट कम्पनी’ र ‘ब्राइट इन्भेष्टमेण्ट कम्पनी’ को नाममा ४ करोड ३१ लाख सात हजार ठगी गरेको प्रहरी स्रोत बताउँछ ।

उनले माइ इनभेष्टमेण्टको नाममा ५४ लाख र ब्राइटरका नाममा तीन करोड ५५ लाख ठगी गरेको पाइएको छ । 

उनको ठगी अपराधको मारमा परेका सुरेन्द्रमान मास्के र राजेन्द्र महर्जन लगायत १ सय ९ जनाले उनीविरुद्ध उजुरी दिएका छन् ।

गजमेरले पाँच सयभन्दा बढीलाई ठगी गरेको अनुमान गरिएको छ ।

माइ इनभेष्टमेण्ट र ब्राइट इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष समेत रहेका गजमेरले सर्वसाधारणको मन जित्न शुरु शुरुमा ऋण दिनेहरूलाई ब्याज समेत दिने गर्छन् ।

पहिलो–दोस्रो किस्ता ऋण पनि दिने, बिस्तारै ऋणको लोभ देखाई लगानी थप्न लगाउने र अलि बढी पैसा लगानी भएमा लगानी गर्ने व्यक्तिसँगको सम्बन्ध टुटाएर अर्कै व्यक्ति खोज्ने गरेको पाइएको छ । 

ठगी गरेर आर्जन गरेको नगदबाट गजमेरले काठमाडौंका विभिन्न स्थानमा घर र जग्गा किनेको प्रहरी बताउँछ ।

उनले आफ्नो दुईवटै कम्पनी मुनाफामा चलिरहेको गफ दिएर २५ प्रतिशतसम्मको ब्याजको लोभ देखाउदै आएका थिए । 

सोही ब्याजको लोभसँगै उनको नम्र बोली व्यवहार र आकर्षणप्रति विश्वास गरेर लगानी गर्नेहरूको संख्या यति पुगेको प्रहरी स्रोत बताउँछ ।

अभियुक्त गजमेरलाई ठगी महल तथा बैकिङ कसुर अन्तर्गत कानूनी कारबाहीका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

अभियुक्त गजमेरमा भ्रमको विश्वास छरेर सर्वसाधारणलाई हिँड्दै बाटोमा ठग्ने क्षमता भएको प्रहरी बताउँछ ।

उनी कुनै पनि व्यक्तिसँग धेरै लामो गफ गर्दैनन् । छोटो गफ गर्छन्, पैसा धुत्छन्, त्यसपछि एक्कासी ब्याज दिने नाममा एकपटक भेट्छन् । 

पहिलो किस्ताको ब्याज दिएपछि सम्पर्कविहीन हुन्छन् । प्रहरीले यस्ता बदमासी राजधानीमा फस्टाउँदै गएको भन्दै सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ ।

ठगेर काठमाडौंमा घर बनाउने तर आफूचाहिँ भाडामा बसेर घरको भाडा खाने ठगहरू बढ्दै गएको अपराध महाशाखा बताउँछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?