प्रतिनिधिसभाको बैठक साउन तीन गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक साउन ३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ । 

आजै संसद्मा कांग्रेसको अवरोधका कारण बैठक आधा घण्टाका लागि स्थगन गरिएको थियो । 

बैठकको शुरुवातमै कांग्रेसका सांसदहरुले आमरण अनशनरत डा. गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए । 

सोही क्रममा कांग्रेसका सांसद पुष्पा भुषालले आमरण अनशनरत डा.केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको र वार्ताका लागि कुनै ठोस् पहल नगरेको आरोप लगाए । 

उनको प्रश्न थियो, “मुलुकमा बाढी, पहिरो र डुबानले आक्रान्त हुनुका साथै रोगको संक्रमण फैलिने सम्भावना छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीको आन्दोलन चर्केर मुलुकका अस्पतालमा स्वास्थ्य सेवा बन्द भएपछि जनताको स्वास्थ्य हालत के होला ?” 

उनले कांग्रेसले आमरण अनशनरत डा गोविन्द केसीका माग सम्बोधन हुनुपर्छ भनेर आवाज उठाउँदा संसद्मा डा केसी कांग्रेसलाई भोट हालेको मान्छे भनेर कुरा उठ्नु दुःखद भएको बताए । 

सांसद भुषालले डा केसी जीवनमरणको अवस्थामा रहेको बेला संसद् बैठक अघि बढाउन सहयोग गर्न नसकिने बताएका थिए । 

सभामुख कृष्णबहादुर महराले डा केसीका माग बारेको विषय संसद्मा प्रवेश भएको र सरकार पनि गम्भीर देखिएको बताएका थिए । उनले त्यस बारेमा सरकार के भन्न चाहन्छ र सरकारको धारणा के छ, सरकारका कुरा सुन्नलाई सदनको कारबाही अघि बढाउन दिनुप-यो भनेर आग्रह गरेका थिए । 

तर सभामुखको पटकपटकको आग्रहपछि पनि काँग्रेसका सांसद आसन ग्रहण नगरी उभेर विरोध गरिरहेपछि सभामुख महराले संसद् बैठक स्थगनको घोषणा गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?