मार्सी भातले ‘माफियालाई राहत’

काठमाडौँ — डा. गोविन्द केसी जुम्लामा पुगेर अनशन सुरु गर्नेबित्तिकै एउटा पदावली एकाएक चर्चामा आयो, मार्सी चामलको भात । जुम्लामा पाइने यो चामल अनशन बसेका सत्याग्रही केसीले खाने कुरै थिएन । बरु यो खैरो चामलको भात पाकेको थियो, झापाको प्रस्तावित मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको चुलोमा । अनि त्यो खान पुगेका थिए, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ।

चरेसको थालमा मार्सी चामलको भात टेबलमा राखेर प्रसाईंले दुवै नेतालाई खुवाइरहेको र आफू पनि खाइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । यसरी मार्सी चामलको भात फाइदा र लेनदेनको प्रतीक बनेर आएका बेला यसलाई पकाउने र खुवाउने प्रसाईंको एउटा भिडियो अन्तर्वार्ता भाइरल भयो, जसमा उनले डा. गोविन्द केसीजस्ता एक–दुई जना नमरी यो देश उँभो नलाग्ने बताएका छन् ।

भनेका छन्, ‘ए बाबा, एक जना अधिकारी मरे त यार अनशनकै क्रममा । एक–दुई जना मान्छे अनशनमा मर्छन्, देश परिवर्तन गर्नका लागि बीसौं हजार मान्छे मर्छन् । तीन लाख मान्छे एकै दिन मरेको फ्रान्सको युद्धबारे हामीले सुनेका छौं । एक–दुई जना मान्छे मर्न दिऊँ, केही बिग्रँदैन ।’

प्रसाईंले भनेजस्तै सरकारले यस पटक डा. केसीको अवस्था असाध्यै खस्किँदासम्म पनि निजी मेडिकलवालाकै पक्षपोषण गर्ने गरी चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता गरेको छ । के सरकार डा. केसीको जीवनको बदलामा माफिया पोस्ने विधेयक ल्याउन चाहन्छ ? ‘मार्सी चामलको भात’ सँग विधेयकको कति नजिकको सम्बन्ध छ ? यतिखेर सर्वत्र प्रश्न उठ्न थालेको छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?