छब्बीस गैंडा मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैंडा मरेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैंडा मरेका हुन् ।

गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैंडा मरेका थिए । त्यसैगरी बच्चा जन्माउन नसकेर तीन वटा गैंडा मरेको उनले बताए।

विसं २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैंडा मारेका थिए । त्यसयता भने तस्करले गैंडा मार्न सकेका छैनन् ।

अन्य कारणले वर्षेनी मर्ने गैंडाको संख्या भने बढ्दो रहेको छ । आर्थिक वर्ष २०७३-७४ मा २५ वटा गैंडा मरेकामा एउटा चैत २५ गते तस्करले मारेको र अन्य अरु कारणले मरेको सूचना अधिकारी अर्यालले बताए।

आव २०७२-७३ मा अन्य कारणबाट १५ वटा गैंडा मरेका थिए । तस्करले गैंडा मार्न नसके पनि अन्य कारणले मर्ने गैंडाको संख्या बढ्दै गएपछि मृत्युको कारण न्यून गर्न अनुसन्धान गर्न शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए।

विभागबाट पर्यावरणविद् सहितको टोलीले गैंडाको मृत्युका यस विषयमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले भने, ‘तस्करले गैंडा मार्न नसके पनि अरु कारणले गैंडा मर्ने क्रम बढेकाले यसको कारणको खोजी गर्न शुरु गरिएको छ ।’

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो गणनाअनुसार ६०५ वटा गैंडा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?