मण्डेलाको जन्म शताब्दी समारोहमा ओबामाको सम्बोधन

जोहानेस्बर्ग। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दी समारोहलाई आज(मङ्गलबार) सम्बोधन गर्ने भएका छन् ।

उनी सोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग पुगेका छन्। बुधबार अर्थात् हरेक वर्षको जुलाई १८ मा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ ।

यस वर्ष उनको १०० औँ जन्मदिन हो । तर मङ्गलबारको यस समारोह उनको १०० औँ जन्मदिनको पूर्वसन्ध्यामा आयोजना गरिएको बताइएको छ ।

बाराक ओबामा सन् २०१७ मा अमेरिकाको राष्ट्रपतिबाट पदावधि सकिएर निस्किएपछि सार्वजनिक समारोहमा खासै उपस्थित हुने गरेका छैनन्।

तर नेल्सन मण्डेलालाई भने ओबामाले आफ्नो जीवनको प्रेरणाको रुपमा लिने गरेका छन्। त्यसैले उनी सो समारोहलाई सम्बोधन गर्नका लागि त्यहाँ पुगेका हुन् ।

मङ्गलबार यस अवसरमा आयोजना हुने कार्यक्रममा कम्तीमा पनि १५ हजार जनाको सहभागिता रहने भएको छ ।

उक्त सभालाई विश्वका केही नेताले पनि सम्बोधन गर्ने छन् । 

दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा रहेको ठूलो क्रिकेट रङ्गशालामा सो समोरोहको आयोजना गरिएको छ । मण्डेलाको जन्मदिनमा आयोजना हुने यस्तो कार्यक्रमलाई वर्षेनी भव्य बनाउने गरिएको छ ।

उनले उक्त सभामा विशेषगरी युवा बर्गलाई प्रजातन्त्र, मानवअधिकार र शान्तिको संरक्षणका लागि लाग्न आह्वान गर्ने अनुमान गरिएको छ ।

सन् २०१३ मा निधन भएका नेता नेल्सन मण्डेला विश्वका प्रजातन्त्रवादी नेताका रुपमा प्रख्यात थिए । उनले दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्धमा लामो सङ्घर्ष गरे र त्यसका लागि उनले २७ वर्षसम्म जेल सजाय पनि भोग्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?