सञ्चार प्रविधिको विकास विना प्रहरीका कामकारवाही प्रभावकारी हुनेमा शंका

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आधुनिक सूचना तथा सञ्चार प्रविधिको विकास विना प्रहरीका कामकारवाही प्रभावकारी ढंगले सम्पादन हुन नसक्ने बताएका छन् । 

महानिरीक्षक खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित ६०औं प्रहरी संचार दिवसका अवसरमा उनले यस्तो कुरा बताएका हुन । 

संचार निर्देशनालयका प्राविधिकद्धारा निर्मित संचार म्यासेन्जर तथा सरुवा व्यवस्थापन सूचना प्रणाली ‘एप्लीकेशन’हरुको उदघाटन गर्दै महानिरीक्षक खनालले यसबाट संचार क्षेत्रमा आन्तरिक काम कारवाहीमा गोपनियताका साथै अन्य काम पारदर्शित हुने विश्वास व्यक्त गरे । 

प्रहरीको कामकारवाहीमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्वका बारे चर्चा गर्दै उनले प्रहरी कार्यमा सूचनाको भावमा उत्पन्न हुनसक्ने जटिलता न्यूनिकरण गर्न संचार प्रविधिको आवश्यकता, यसको प्रयोग र विकासको अपरिहार्यता रहेको दावी गरे । 

नेपाल प्रहरीले सूचना तथा संचार प्रविधिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले  प्रहरी कर्मचारीहरुले प्राप्त साधन स्रोतलाई उच्चतम प्रयोग गरी सांगठनिक छवि अभिवृद्धि गर्न व्यावसायिक निष्ठा, पारदर्शिता एवं ईमान्दारिताका साथ आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिए । 

समारोहमा संचार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा. राजिव सुब्बाले स्वागत मन्तव्य तथा नेपाल प्रहरीको संचार प्रणाली आधुनिकरण तथा सुढ्ढीकरण सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । 
 उक्त अवसरमा संचार निर्देशनालयका प्राविधिकद्धारा निर्मित संचार एप्लीकेशनहरुको बारेमा प्रहरी निरीक्षक ई. अरेन्द्रप्रसाद सिंहले जानकारी दिइएको थियो । 

प्रहरी महानिरीक्षक खनाल र मातहत विभिन्न कार्यालयका संचार ईन्चार्जहरुबीच अन्तरक्रिया समेत भएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?