मुग्लिन बजारबाट जिउँदो सालकसहित दुई पक्राउ, यस्तो काममा प्रयोग हुन्छ सालक

चितवन– संरक्षित वन्यजन्तु सालकसहित दुई जनालाई प्रहरीले आज मुग्लिन बजारबाट पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय मुग्लिनको संयुक्त टोलीले जिउँदो सालकसहित दुबै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोर्खाका २८ वर्षीय टेकबहादुर गुरुङ र पाल्पाका २९ वर्षीय प्रेमबहादुर थापा रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

गोर्खाबाट काठमाडौँ लाँदै गरिएको संरक्षित वन्यजन्तु सालक लिएर हिँडिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

नियन्त्रणमा लिइएको सालक र पक्राउ गरिएका दुवै जनालाई जिल्ला वन कार्यालयमा बुझाइने प्रवक्ता शर्माले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई संरक्षित वन्यजन्तु चोरीशिकार ऐनअन्तर्गत कारबाही गरिने जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलले जानकारी दिए । पौडेलका अनुसार उनीहरुलाई एक लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने सक्ने छ ।

सालकको खपटा सौन्दर्यका सामग्री बनाउनमा प्रयोग गर्ने गरेको उनले बताए  । नेपालमा यसको खासै प्रयोग नगरिने भएकाले विदेशमा बढी मात्रामा निर्यात हुने गरेको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?