उडेर जून छुन्छु भन्थेँ….संगीतकार बिबि अनुरागीसँग भिडियो वार्ता

 

खहरे खोला, उर्लेर आउँछ । 

तहसनहस पार्छ । 

ठूलो खैलाबैला मच्चाउँछ ।

थोरै विनाश पनि पुर्याउँछ । 

अनि केही क्षणमै स्याप्पै सुकेर जान्छ ।

ठीक त्यस्तै भएका छन् नेपाली संगीतकर्मीहरु ।

गीत सुपरहिट बनाउन अनेक फण्डाहरु अपनाउँछन्, गीतले बजार तताउँछ पनि तर छोटो समयपछि गीत गायब र गीत बनाउने मान्छे पनि । 

अहिले नेपाली सांगीतिक क्षेत्रलाई हेर्ने हो भने गुणस्तरीय संगीतका स्रष्टा हातका औंलामै गन्न सकिन्छ ।

सिधा भाषामा भन्दा संगीतलाई बुझेर, संगीतमै भिजेर आफ्नो जीवन संगीतमा समर्पित गर्ने संगीतकारहरु लोप हुन लागेको अवस्था देखिन्छ । 

संगीत स्रष्टाहरुको त्यही सिमित परिधीभित्र पर्ने एक होनहार प्रतिभा हुन्, बिबि अनुरागी ।

हेर्दा गम्भीर । 

केही सोचिरहे जस्तो देखिने । 

तानाबाना बुनिरहेजस्तो लाग्ने व्यक्तित्व । 

कम बोल्ने । बोल्दा सोचेर मात्रै बोल्ने ।

अनुरागीले आफ्नो जीवनको दुई दशक भन्दा बढी समय संगीतमा समर्पित गरिसकेका छन् ।

जीवनमा सोच्दै नसोचेको सुख पाएँ, सोच्दै नसोचेको दुःख पनि पाएँ । तर संगीतले सबै दुःख बिर्साइदियो । 

थुप्रै गीतमा उनले संगीत मात्र होइन आवाज समेत भरिसकेका छन् ।

‘जीवनमा सोच्दै नसोचेको सुख पाएँ, सोच्दै नसोचेको दुःख पनि पाएँ ।’ आफ्नो २४ वर्ष लामो सांगीतिक यात्रा स्मरण गर्दैगर्दा अनुरागी केही भावुक भए । 

‘तर संगीतले सबै दुःख बिर्साइदियो । संगीतमा खै कस्तो शक्ति हुँदो रहेछ ।’ दङ्ग पर्दै उनले थपे ।

केही समयदेखि मिडियामा त्यत्ति देखा नपर्ने अनुरागी अहिले आफ्नै म्युजिक स्टुडियोमा व्यस्त छन् । 

उनका स्टुडियोमा दजर्नौं गीतहरु रेकर्ड भइरहन्छन् । 

आफ्नै स्टुडियो भएकाले पनि उनी नयाँ पुराना दजर्नौं संगीतकर्मीहरुसँग चियाको चुस्की साट्न पाउँछन् । 

संगीत क्षेत्रमा लागेका नयाँनयाँ व्यक्तिहरुसँग संगत गर्ने क्रममा उनले वर्तमान समयको नेपाली संगीतको ट्रेन्ड लाई पनि राम्रोसँग बुझ्ने मौका पाएका छन् ।

केही सोचे भावुक भए र थपे, ‘पहिले र अहिलेको संगीतमा आकाश जमिनको भिन्नता छ ।’

जब उनले उडेर जून छुन्छु भन्थेँ भन्ने गीतमा संगीत भरे ।

तब उनले वा… वा.. वा… भनेर बेपत्ता हुने स्रोता वा दर्शक भन्दापनि आत्मिय शुभचिन्तक कमाए ।

अनुरागीको भाषामा ती शुभचिन्तक उनले कमाएका सम्पत्ति हुन् । अनमोल सम्पत्ति । 

लगत्तै ‘जहाँ तिमी त्यहाँ म हुन नपाउँदा’ आएपछि बजार मज्जैले तात्यो । गीत सुनेर धेरै आफ्नो ‘फ्ल्यास ब्याक’ मा पुगे ।

प्रतिक्रिया आयो, यो गीतले मेरो कथा भन्यो । धेरैले उनलाई धन्यवाद भन्न भ्याए ।

त्यसपछि आएको ‘तिम्रो झल्को आउँछ मेरो परदेशी’ पनि कम्ती रुचाईएन ।

त्यसैले त अहिले पनि यी गीतहरु सुनिदैनन् मात्रै । गुनगुनिदैनन् मात्रै ।

वेपर्वाह महसुस गरिन्छन् । 

***

तर अहिले समय फेरिएको छ । अझ भनौँ समयले गीत, संगीत, स्रष्टा, सर्जकलाई सोच्न बाध्य बनाएको छ ।

त्यसको एउटै कारण छ, आजकल नेपाली सांगीतिक क्षेत्रमा सदावहार गीतहरु कमै बनिन्छन् । 

क्षणिक रुपमा बजार तताउनलाई सेल्फी, फेसबुक, सेक्स जस्ता शब्दहरु अटाईनहटाई गीतमा घुसायो ।

अनि त्यसैलाई विषय बनाएर गीत निर्माण गर्यो । चर्चित कलाकारलाई भिडियोमा उत्तेजक रुपमा प्रस्तुत ग¥यो । गीत सुपरहिट ।

 संगीतको 'स' थाहा नहुनेहरु आफूलाई 'गायक' भन्दै गर्व गर्छन् ।

बिहे, पार्टीमा केही समयसम्म ती गीतहरु गुञ्जिन्छन् पनि तर, कहिले सम्म ? 

यस्तो विकृतिप्रति अनुरागी गहिरो चिन्ता व्यक्त गर्छन् ।

नेपाली सांगीतिक क्षेत्रमा पैसाकै भरमा गायक हुनेहरुको झुण्ड बनेको छ । यो कुरामा अनुरागी सहमत छन् । 

****

‘आवाजलाई साधना र अभ्यासले भन्दा पनि प्रविधि प्रयोग गरेर राम्रो बनाउँछन् आजकल । संगीतको स थाहा नहुनेहरु आफूलाई गायक भन्दै गर्व गर्छन् ।’ उनले लोकपथसँग गुनासो पोखे ।

‘गीत गुनगुनाउन आउने बित्तिकै आफूलाई नामूद गायक भन्नेहरुलाई के भनौँ र खोई ?’ उनले निधार खुम्चाउँदै भने । 

***

पैसा जोगाउने फण्डा हो कि सांगीतिक क्षेत्रमा जनशक्तिको अभाव भएर हो अथवा संगीतकारहरु आफैं मल्टिट्यालेन्टेड भएको नि हुन सक्छ ।

खैर जे सुकै होस् तर आफ्नो गीतमा आफैं अभिनय गर्ने ट्रेन्ड ह्वात्तै बढेको देखिन्छ ।

बिबि अनुरागी पनि यो ट्रेन्डदेखि अछुतो रहन सकेनन् । पछिल्लो समयका उनका केही गीतहरुमा उनले आफैं अभिनय गरेको पाइन्छ ।

संगीतकार आफैं, गायक पनि आफैं अनि अभिनय समेत आफ्नै ।

किन ? हामीले प्रश्न तेर्सायौं ।

उनी भन्छन् ‘गीतको भिडियो जुगौंजुग जीवित रहन्छ । सदावहार रहन्छ । कुनै दिन म बुढो भइहाल्छु तर भिडियोमा त अहिलेकै बिबि अनुरागी कैद भएको छ नि !’

उनी मज्जैले हाँसे । 

*** 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?