बा हराए !

-मधुकर खड्का

सितली भिरको बुढो बर जस्तै
निर्भीक-निडर ठिङ उभिरहने
मेरा बा !
आज एकाएक हराए 

बर्सौदेखि नापेका
अधेरी बनका पदचापहरुलाई 
बिरानो बनाई  
नागबेली गर्दै बहने दरौदीको
अंगालोभरिको मायालाइ बिच्छेद गर्दै
मेरा बा एकाएक हराए !

मैले सोधें-
ए सितली भिरको बर !
तिमीले मेरा बा देख्यौ ?
ऊ मौन बस्यो 
सायद उसलाई थाहा छ :
एक दिन 
मेरा बा जस्तै ऊ पनि हराउने छ 
यसै-यसै गरी
म कसलाई सोधौ ?
कहाँ खोजौ ?
मेरा हराएका बा !

मलाई थाहा छ :
मैले मेरो एक इतिहास हराएँ
एक युग हराएँ 
मैले ढाकर र भोटको कथा हराएँ
फोकल्यान्डको बन्दुक हराएँ
मैले जम्मै जम्मै
इतिहास हराएँ
मेरा बा हराए !

facebook : khadkamd

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?