राष्ट्रिय खेलाडी सरस्वती चौधरी भन्छिन्ः अब म पनि विदेश भासिन्छु

काठमाडौं । नेपालको ग्रामीण भेगमा भलिबललाई लोकप्रिय खेल मानिन्छ ।

लोकप्रिय खेल भएपनि महिला खेलाडीको सङ्ख्या भने पुरुषको तुलनामा कम छ ।

धनगढीकी सरस्वती चौधरी तिनै कम खेलाडीमध्ये पर्छिन् । राष्ट्रिय भलिबल टिमकी खेलाडी पनि हुन् उनी । नेपाल सशस्त्र प्रहरी (एपिएफ) को तर्फबाट पनि खेल्ने सरस्वती खेलाडीका लागि उत्प्रेरणा पनि हुन् ।

६ फिट उचाइ । पातलो शरीर । पर्फेक्ट भलिबल खेलाडी देखिन्छिन् उनी ।

त्यसमाथि नेपाली युवतीहरूमा ६ फिट उचाइ हुनु भनेको असामान्य मानिन्छ ।
‘बाटोमा हिँड्दा मान्छेहरू फर्कीफर्की हेर्छन् । कत्रो अग्लो मान्छे भन्दै छक्क पर्छन् ।’ कुराको शुरुवातमै हामीले सोधेका थियौं, कस्तो अग्ली तपाईं त ।

६ फिट अग्ली सरस्वतीलाई पहिले आफ्नो हाइट असहज लाग्ने गथ्र्यो । आफू अग्लो भएकोमा लाज लाग्थ्यो । अचेल भने खासै वास्ता लाग्दैन ।

सबैले फर्केर हेर्ने अस्वभाविक उचाइ अहिले सरस्वती चौधरीका लागि सबैभन्दा फाइदाको विषय बनेको छ । भलिबल खेल्दा उनको उचाइ करिअरको ‘प्लस प्वाइन्ट’ भएको छ ।

उनलाई ‘राम्रो’ खेलाडीका रुपमा हेर्ने गर्छन् साथीहरूले ।
एक वर्षमै उनले आफ्नो टिमलाई राष्ट्रिय स्तरका नौ वटा भन्दा बढी प्रतियोगितामा जित दिलाइसकेकी छिन् ।

हरेक खेलमा ‘बेस्ट प्लेयर’ को उपाधि पाउनु उनका लागि कुनै नौलो कुरा होइन आजकल ।

फर्केर हेर्दा…
सुदूर पश्चिमाञ्चलको धनगढीमा जन्मिएकी सरस्वती सानैदेखि अत्यन्तै लजालु र कम बोल्ने स्वभावकी थिइन् ।

भलिबल खेल्न त परै जाओस्, खेल्ने बारेमा सोचेकी समेत थिइनन् उनले ।

तर, जे हुन लेखेको छ त्यो भएरै छाड्छ भनेझैं सरस्वतीको जीवनले आफै मोड लियो । उनले भलिबललाई नचुने पनि भलिबलले उनलाई चुन्यो ।

जे हुन लेखेको छ त्यो भएरै छाड्छ भनेझैं सरस्वतीको जीवनले आफै मोड लियो । उनले भलिबललाई नचुने पनि भलिबलले उनलाई चुन्यो ।

कुरा ६ कक्षामा पढ्दाको हो । विभिन्न ठाउँका विद्यालयहरू भलिबल प्रतियोगितामा भिड्न लागेका थिए । तर प्रतियोगिता  नजिकिँदै जाँदा पनि विद्यालयको भलिबल टिममा पर्याप्त खेलाडी भएनन् ।

खेलाडी सङ्ख्या पूरा गर्नलाई मात्रै भएपनि सरस्वतीलाई टिममा समावेश गरियो । अरुभन्दा अग्ली भएकाले पनि उनलाई धेरैले रुचाए ।

एकाएक यस्तो परिवर्तन भइरहँदा सरस्वतीको मनमा अनौठो उत्सुकता जागेको थियो ।

खेल, प्रशिक्षण, प्रतियोगिता । त्यतिबेला यी सबै कुरा नौला थिए उनका लागि । अहिले भने दैनिकी बनेका छन् ।

सोही प्रतियोगितामा सहभागी पोखराको एक विद्यालयले उनको उचाइ देखेर आफ्नै विद्यालयमा छात्रवृत्ति दिने साथै खाने, बस्ने व्यवस्था पनि मिलाइदिने ‘अफर’ राख्यो । उनले अफर स्वीकारिन् ।

त्यसपछि शुरु भयो सरस्वतीको भलिबल यात्रा ।

पछि उनलाई एपीएफले आफ्नो टिममा लिएर थप प्रशिक्षण दियो ।
अहिले उनी एपीएफ महिला भलिबल टिमकी सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् ।


महिला भलिबल टिमलाई अन्याय
हिलेको खेल हेर्ने हो भने नेपाली महिला भलिबल टिम अत्यन्तै सबल रहेको सरस्वतीको दाबी छ ।

‘अवसर दिने हो भने हामी अन्तर्राष्ट्रिय मैदानमा गएर समेत मेडल ल्याउन सक्छौं’, चौधरी भन्छिन्, ‘तर धेरै खेलाडी अवसर नपाएर कुवाको भ्यागुतो बनेका छन् ।’

नेपालमा भने खेलाडी प्रायः राष्ट्रिय तथा स्थानीय स्तरका खेलमा सिमित छन् ।
यसैपालिको एशियन गेम्समा पनि पुरुष भलिबल टिमलाई मात्र प्रतिस्पर्धाका लागि पठाइएको छ ।

‘योग्यता हुँदाहुँदै, अन्तर्राष्ट्रिय स्तरमा भिड्न सक्छौं भन्ने आत्मविश्वास हुँदाहुँदै पनि महिला भलिबल टिम नजरअन्दाज भएको देखिन्छ ।’, दुःख व्यक्त गर्दै सरस्वतीले सुनाइन्,

‘कहिलेसम्म सानोतिनो गेममा सिमित हुने?, अन्तर्राष्ट्रिय मैदानमा देशलाई प्रतिनिधित्त्व गर्न हामी तयार छौं ।’ उनले भनिन् ।
यसो भन्दै गर्दा केही दिक्क, केही उदास भएजस्तो देखिन्थिन् उनी ।
विदेशिएका राष्ट्रिय खेलाडी 

खेलाडीहरूले उमेर हुन्जेल, खेल्न सकुन्जेल आफ्नो सबै समय खेललाई नै समर्पित गर्छन् । तर खेलकै भरमा रहेर उनीहरूलाई आफ्नो न्यूनतम आवश्यकता पूरा गर्न समेत धौ धौ परिरहेको अवस्था छ ।

त्यसैले देशका अधिकांश खेलाडीहरू खेलका अतिरिक्त अन्य व्यवसायमा पनि सरिक छन् ।

मनिता शाही, सविता राज भण्डारी जस्ता राष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ, राष्ट्रिय फुटबल खेलाडी अनिल ओझा, प्रलय राजभण्डारी लगायतका दजर्नौं खेलाडीहरू विदेशमा आफ्नो श्रम बेचिरहेका छन् ।

नेपाली खेल परिवेशलाई नियाल्दा, वर्तमान समयमा खेलाडीहरूको सबैभन्दा सरल विकल्प भनेको ‘वैदेशिक रोजगार’ हो ।
कति विदेश पलायन भइसके । कति हुने तयारीमा छन् ।

मनिता शाही, सविता राज भण्डारी जस्ता राष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ, राष्ट्रिय फुटबल खेलाडी अनिल ओझा, प्रलय राजभण्डारी लगायतका दजर्नौं खेलाडीहरू विदेशमा आफ्नो श्रम बेचिरहेका छन् ।

त्यस्तै, राष्ट्रिय एथ्लिट केशरी चौधरी अहिले खाडी मुलुक भासिएकी छिन् । देशका ‘गहना’ मानिने खेलाडीहरूले अर्काको देशमा आफ्नो श्रम बेच्नुपर्ने अवस्था सिर्जना हुनु आफैमा एउटा लज्जास्पद विषय हो ।

अन्य देशका खेलाडीहरूलाई बन्द प्रशिक्षणमा रहँदा औसतमा दिनको सय डलर दिइन्छ भने नेपालका खेलाडीहरूले मात्र १४ डलर पाउँछन् ।

यही एउटा तथ्यले पुष्टि गर्छ खेलाडीहरू विदेशिनुको कारण ।

शायद विदेश जान्छु

जसरी पनि जितेर मात्रै निस्किन्छु । – कुनै बेला सरस्वतीले भलिबलका लागि यस्तै सोच्ने गर्थिन् ।

तर अहिले उनले आफ्नो ट्रेनिङ सँगसँगै करियरका बारेमा पनि सोच्नुपरेको छ ।
भलिबल मात्रै खेलेर नहुने रहेछ भनेर उनले महसुस गरिसकेकी छिन् ।

उनी मात्र नभएर उनका खेलाडी साथीहरुको पनि यस्तै विचार छ ।

त्यसो भए, भलिबलको विकल्पमा के सोच्नु भएको छ भन्ने प्रश्न गर्दा उनले विदेश जान सक्ने सम्भावना भएको बताइन् ।

‘केही सीप लागेन भने विदेश जान सक्छु । हेरौं के हुन्छ !’ यसो भन्दै गर्दा सरस्वती चौधरी निराश भने देखिइनन् । आशा नै नभएपछि निराशा किन हुन्थ्यो र !

नेपालमा खेलाडीलाई कुनै सम्मान र अवसर छैन भन्ने उनले राम्ररी बुझिसकेकी छिन् शायद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?