बालाजु-नेपालटार सडकको कन्तबिजोग, जनता भन्छन्, ‘रेल चाहिएन, बाटो बनाइदेऊ’

काठमाडौं । नेपालटार बाइपासमा मेडिकल पसल राखेर बसेका सरोज श्रेष्ठ धूलोको एलर्जी भएपछि पाँच वर्षदेखि आँखामा निरन्तर औषधि हालिरहेका छन् । बाइपासको उकालोनिर उनको मेडिकल पसल छ । जुन पसल १४ वर्षदेखि त्यहीँ छ । उनले यो चौध वर्षको अन्तरालमा आफ्नो अगाडिको बाटो झनभन्दा झन् बिग्रेको देखेका छन् ।

पसलमा बसेका श्रेष्ठलाई सोध्यौं, धूलोले निकै असर पारेजस्तो छ है? धूलो सफा गर्दै गरेको टालो छेउमा राखेर औषधि देखाउँदै भने, ‘यी हेर्नुस्, औषधि आँखामा हाल्दैछु, धूलोले एलर्जी भएछ ।’
ठ्याक्कै त्यही बेला एक युवती कलेज ड्रेसमा आइन् । दुईवटा मास्क किनिन् । उत्तिखेरै लगाइन् । र, गइन् । 

हाम्रो कुरा सुनिरहेकी थिइन् उनले । तर, नाम सोधेनौं ।

‘हुन त पहिले पनि महानगरपालिका भनिएको काठमाडौंमा राम्रो र व्यवस्थित सडक थिएन, अहिले त झन् सडक नै छैन भनेपनि हुन्छ, पहिलेको भन्दा अझ खत्तम छ’, उनले आफ्नो अगाडिको खाल्डामा पानी जमेर स–साना दह भएको सडक देखाउँदै भने, ‘यी अहिले हिलो छ, एकैछिनपछि घाम लाग्यो भने, बुङ्गबुङ्गती धूलो उड्छ ।’

धूलोका कारण उनका आँखा नै बिगारिदिएको छ । श्वासप्रश्वासमा असर पार्ने, घाँटीमा असर गर्ने समस्या उनले मात्र हैन, सबैले भोगिरहेका छन् । नाकको भित्र समस्या आउने, आँखा पाक्ने, चिलाउने, छाला सुख्खा हुनेजस्ता विभिन्न समस्या लिएर बिरामी श्रेष्ठकहाँ आइपुग्छन् । उनी आफै पनि धूलोले ग्रस्त छन् ।

‘हिलो हुँदा पनि वायुमण्डलमा उत्तिकै धूलो छ, यसले सबैलाई असर पारेको छ, बाटोको कुरा गर्ने हो भने पहिले भएको भन्दा अहिले अझ खत्तम छ’, उनले भने, ‘अझ यो त नेकपाका सांसद रामवीर मानन्धरको एरिया हो, यही ठाउँमा यस्तो छ, अब के कुरा गर्नु?’

‘सरकारलाई हामीले कर तिर्दा पनि उत्तिकै सास्ती खेप्नुपर्छ नि, यो धूलो र हिलोको नियन्त्रण गर्न हामीले सक्ने कुरा हैन, यसका लागि राज्यले नै कदम चाल्नुपर्ने हो ।’, श्रेष्ठले गुनासो गरे ।
त्यतिबेला एक महिला डेढ वर्षीय बच्चालाई खोकी लागेको भन्दै उपचार गराउन आइन् । 

हामी हिँड्यौ ।

नेपालटारमा ठेलागाडामा श्रंगारका सामान बेचेर हिँड्ने नुवाकोटका बुद्धिलाल श्रेष्ठलाई पनि पूरै तनाव छ । बाटो छेउमा ठेलागाडामा राखेर उनलाई आफ्नो व्यापार गर्नुपर्छ । तर, धूलो र हिलोकै कारण त्यति सजिलो भने छैन उनलाई व्यापार गर्न ।

‘धूलो र हिलोले त कति समस्या पु–याएको छ सबैलाई थाहा छ नि, यहाँ बेच्न राखेका सामान पनि धुलाम्मे हुँदा खासै विक्री हुँदैन, त्यहीमाथि हिलोले झन् समस्या थपेको छ’, बुद्धिलालले भने ‘जाम पनि उत्तिकै हुन्छ, यही नेपालटारको पुल तर्न पनि जोखिम छ ।’

हिलो र धूलोबाट आजित भएका बुद्धिलालले दुवै नै ज्यानमारा भएपनि धूलोभन्दा हिलो नै ठीक भएको बताए ।

नेपालटार चोकमै जुस पसल राखेकी गोर्खाकी अम्बिका तिवारीले हिलो र धूलोका कारण पछिल्लो समय निकै सास्ती खेप्नुपरेको बताइन् ।

‘ग्राहक आएर यस्तो फोहोर बनाएर राख्ने भन्दै प्रश्न सोध्नुहुन्छ, भर्खरै सफा ग–यो, एकैछिनमा धुलाम्मे हुन्छ’, अम्बिकाले भनिन्, ‘पानी प–यो, यो ठाउँमा कति मान्छे लड्छन् भनेर गन्नै सकिँदैन, कति त ट्रक र बसको बीचमै पनि पर्छन्, यो बाटो हिँड्दा कति लड्छन् यसको त कुरै नगरम् ।’

नेपालटारमा ओहोरदोहोर गर्ने कलेजका विद्यार्थी, स्थानीय र अन्य सर्वसाधारण पनि आजभोलि हिलोका कारण समस्यामा छन् । स्कूल हिँडेका विद्यार्थीका जुत्ता चिनिँदैनन् । सफाचट भएर घरबाट निस्केका सर्वसाधारण चोकमा आइपुग्दा हिलाम्मे भइसकेका हुन्छन् ।

अम्बिका तिवारी भन्छिन्, ‘स्कूल जाँदाखेरी बच्चा यहाँसम्म आइपुग्दा कुन रंगको जुत्ता लगाउँछ भन्ने थाहा हुँदैन, हप्ता दिनमा डोजर आउँछ, अलिकति माटो हाल्छ, जान्छ ।’
नेपालटार चोक असारमा रोप्न खोक लगाएको खेतजस्तै भएको छ । सवारी र मान्छेको भीड पनि उत्तिकै हुन्छ । नजिकैको पुल हिलोले लतपतिएको छ ।

नेपालटारमा दुई वर्षदेखि व्यापार गर्दै आएकी अम्बिकाले अहिलेको बाटो पहिलेको भन्दा पनि अझै खत्तम भएको बताइन् । ‘जति समय लगाएर भएपनि पहिले बाटो बनाए आनन्द हुन्थ्यो, बाटो हिँड्ने मान्छे हामीले हिलो बनाएझैँं गर्दै सराप्दै हिँड्छन् ।’

नेपालटार क्षेत्रमा मात्र होइन, काठमाडौंका सबै क्षेत्रमा धूलो र हिलोले जनतालाई आजित बनाएको छ । सरकारले यी समस्यालाई समाधान गर्न कुनै पहल चालेको छैन । बरु उल्टो रेल र पानीजहाजको सपना बाँडेको छ । सर्वसाधारणले सरकारलाई रेल र पानीजहाजको सपना बाँडेको तर सामान्य सडक समेत बनाउन नसकेको भन्दै विरोध गर्दै आएका छन् ।

बाटोमा हिँड्दै गरेका धादिङका आकाश न्यौपाने भन्दै थिए, 'भो रेल चाहिएन, यो बाटो बनाइदेऊ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?