जाजरकोटको पहिरो अपडेट : ९ जनाको शव निकालियो

खलंगा : अार्इतबार बिहान गएको पहिरोमा पुरिएका जाजरकोटको भेरी नगरपालिका-३ ठाटीबजारस्थित ४ वटा घरबाट ९ जनाको शव निकालिएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार र नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बोहरा रहेको प्रहरीले जनाएको छ । पहिरोबाट अन्य दुई बालिका र एक महिला शव निकालिए पनि उनीहरूको पहिचान खुलिसकेको छैन । 

रातभर परेको भारी बर्षाका कारण अार्इतबार बिहान स्थानीय अोमजंग शाहको घर मुनिबाट पहिरो चलेको थियो । सो पहिरोले पत्रकार बोहोरा र अर्का स्थानीय गोपाल सुनारको घर पुरेको थियो । 

पहिरो चलेको स्थानमा अहिले पनि भारी बर्षा भर्इरहेको र अप्ठ्यारो भू-बनोटका कारण उद्दारमा कठिनार्इ झेल्नुपरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । 

उद्दारकर्ताले पहिरोमा पुरिएका लालबहादुर द्वारलार्इ जीवितै उद्दार गरेका छन् । पहिरोमा पुरिएकी उनकी श्रीमती र बच्चाको भने ज्यान गएको हो ।

पहिरो गएको स्थानमा अर्को घर पनि पुरिएको र त्यहाँ पनि मानवीय हताहती भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

पहिरोपीडितको उद्दारका लागि हाल जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?