नेतृत्वलाई नेकपाका नेता नारायणकाजीको प्रश्न : प्रवक्ताले चिया खाउँ भनेर सोध्नुपर्ने ?

वि.स. २०३३ सालदेखि नेपाली राजनीतिमा सक्रिय रुपमा लागि परेका नारायणकाजी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका नेता हुन् । आफ्नो राजनैतिक जीवनकालमा ३ वर्षे जेल जीवन र १९ वर्षको भूमिगत जीवन बिताएका उनले उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा पत्रकार सम्मेलन गरेर आफ्नै पार्टीका प्रधानमन्त्रीसँग असहमति राखेका कारण चर्चामा आएका थिए । कतिपयले उनलाई ‘स्टन्टबाज’ गर्ने नेता समेत भन्ने गर्छन् । २०६८ सालमा झलनाथ खनालको सरकारको समयमा श्रेष्ठ नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका उनले बाबुराम भट्टराईको सरकारको समयमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीको पद सम्हालेका थिए । नेकपाको शिर्षस्थ नेता श्रेष्ठले पार्टी एकतापछि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । तर नेतृत्वसँगको असमझदारीको कारण उनले पार्टी प्रवक्ताबाट राजिनामा दिएका छन् ।  नेकपाका नेता नारायणकाजी श्रेष्ठसँग लोकपथ अनलाईन टेलिभिजनका लागि अनिता आचार्यले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।  

 

पछिल्लो समयको राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?
धेरै वर्षको संघर्ष पश्चात नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । राजनीति क्षेत्रमा भएको यो आमूल परिवर्तन राजनीतिमा मात्र सिमित नभएर राष्ट्रको अर्थतन्त्र, समाज लगायत समग्र क्षेत्रमा अनुभव गर्न पाइयोस् भन्ने सबैको अपेक्षा छ । त्यसैले अहिले हामी सम्भावना र अपेक्षाको धरातलमा उभिएका छौं । वर्तमान राजनीति भनेको यही सम्भावनालाई पहिचान गरेर जनताको अपेक्षालाई कसरी पूरा गर्ने भन्ने योजना निर्माण र अहिलेको परिस्थितिको अन्तदर््वन्द्वमा अल्झेको छ ।

महोत्तरीको एक कार्यक्रममा अब समृद्धिमा सरिक हुन भनेर नागरिकलाई अपिल गरिरहनुभएको थियो तर त्यसको केही समयमा नै आफैले पार्टीको प्रवक्ताबाट राजिनामा दिनुभयो । किन ?
मैले पार्टीबाटै राजिनामा दिएको होइन । पार्टीको एउटा पदबाट मात्रै राजिनामा दिएको हो । प्रवक्ताको भूमिका के हो भन्ने विषयमा प्रष्ट हुनुपर्छ भन्न खोजेको मात्र हो ।
प्रवक्ता भन्नासाथ पार्टीको बैठकमा बस्ने र त्यहाँ भएको छलफलाई बाहिर आएर मिडियामा भन्ने मात्र होइन । प्रवक्ताले भेट्ने कोसँग, चिया खाने कोसँग भनेर सिमित गर्न त मिल्दैन नि । प्रवक्ताका साथसाथै ऊ एउटा नेता पनि हुने भएकाले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न सिर्जनशील भूमिका पनि निर्वाह गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो ।
म अहिले दुईवटा मिसनमा केन्द्रित छु । पहिलो, पार्टी एकताको रक्षा र सुदृढीकरण । र दोस्रो,समृद्धि । राजनीतिक क्षेत्रमा परिवर्तन आयो तर त्यो परिवर्तन अब हरेक क्षेत्रको विकास र उन्नतिको माध्यम बनिनुपर्छ ।

डा.गोविन्द केसीको मागको विषयमा अलि लचिलो बनेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईंलाई प्रत्यक्ष रुपमा आलोचना गर्नुभएको खबर मिडियामा आएको थियो । यस्तो भइरहँदा पार्टी एकतामा व्यर्थै भूमिका खेलेछु जस्तो अनुभव हुँदैन ?
त्यस्तो कहिल्यै भएन । र, हुँदैन । पार्टीभित्र कहिलेकाहीँ कुनै विषयमा विवाद हुनु भनेको सामान्य हो । विवाद बिना, बहस बिना त पार्टी मृत नै ठहरिन्छ । त्यसैले यस्ता सानातिना विवादलाई म स्वभाविक मान्छु ।
त्यसैलेपार्टी एकतामा सशक्त भूमिका खेलेकोमा पश्चताप हुँदैन । किनकी यो देशको ऐतिहासिक आवश्यकता थियो । देशले स्थिर राजनीति मागिरहेको थियो । पार्टी एकता नभएको भए देशको समृद्धिको सपना हाम्रो व्यवहारमा अनुवाद हुने सम्भावना रहँदैन थियो ।

तर, यसो हुँदा आफूलाई समाजवाद भन्ने नेकपाले आफ्नै नेताले स्पष्ट मत राख्दा सुन्दो रहेनछ । जनतालाई उनीहरुको घरघर गएर तपाईका कुरा सुन्छौं भन्ने पार्टीलाई पत्याउने ठाउँ रहेन भन्ने कुरा छ । खास कुरा के हो ?
तत्कालै नसुनिएको भएपनि केही दिनमा त मैले उठाएको सशक्त आवाजको सुनुवाई भयो नि । मैले जुन दिन त्यो विषयमा आवाज उठाएँ त्यही दिन बैठक बस्यो । सबैको धारणा बुझ्दा समान भएको पाइएपछि हामीले भोलिपल्टसम्ममा समझदारीमा आउने वातावरण सिर्जना ग¥यौं नि । 

तपाईलाई 'स्टन्ट' गर्ने नेता पनि भनिन्छ । तपाईका सबै कामहरुलाई विश्लेषण गर्दा तपाई राम्रो नेता हो कि नराम्रो भनेर छुट्याउन गाह्रो भएको जनताको भनाई छ । यसमा के भन्नुहुन्छ ?
म प्रचारबाजीमा रमाउने मान्छे होइन, मिसनमा केन्द्रित हुने मान्छे हो । व्यक्तिगत मुक्तिका लागि राजनीतिमा लागेको होइन ।
देशमा भइरहेको घटनाक्रमलाई हेर्दा मैले जे भनेको छु, देश त्यतैतिर गइरहेको छ । त्यसैले सबैले यो कुरा मेरो भनाइबाट भन्दा पनि व्यवहारबाट बुझ्न जरुरी छ । मैले पार्टी एकतामा पनि जोड दिएँ । पार्टी एकता गलत हो र ? डा.केसीको विषयमा पनि वार्ता गरेर समस्या समाधान गर्न सक्छौं भनेर अपिल गरें । के यो पनि गलत हो र ? स्टन्ट हो ? यी सबै कुरामा केही स्टन्ट छैन । कुरा क्लियर छ ।

तपाईले राजनीतिको जुन चित्र देखेर वा सोचेर राजनीतिमा प्रवेश गर्नुभएको थियो, त्यसको कति प्रतिशत पाउनुहुन्छ वास्तविकतामा ?
राजनीतिलाई फेर्न जरुरी छ । हामी राजनीतिमा राजनीतिलाई फेर्न आएका थियौं ।
राजनीति सत्ताको फोहारी खेल भन्ने बुझाई यसै जन्मेको होइन । केही हदसम्म व्यवहारमा पनि यो देखिएकाले नै यसो भनिएको हो ।
राजनीतिमा सत्ता हुन्छ र त्यही सत्ताले सत्यलाई स्खलन गर्ने जोखिम पनि हुँदो रहेछ राजनीतिमा ।
यद्यपी समग्र समाजलाई ठीक गराउने त राजनीतिलाई सुदृढीकरण गरेर नै हो । राजनीतिबाट टाढा भागेर होइन ।त्यसैले मेरो अहिलेको अभियान भनेकै राजनीतिलाई सफा गरौं, देश बदलौं भन्ने हो ।

कसरी सफा गर्ने राजनीतिलाई ?
यसका लागि दुईवटा महत्तवपूर्ण कार्य छन् । पहिलो, पार्टीभित्रै भएका आपसी मत्भेद, विवाद, व्यक्तिवादी सोच र आदर्श, विचारको स्खलनलाई निर्मूल गर्ने ।
दोस्रो,समाजमा अब राजनीतिक आन्दोलन भन्दा पनि भ्रष्टचार विरोधी आन्दोलन, सुशासनका लागि आन्दोलन, विकासका पक्षमा आन्दोलन जस्ता सामाजिक, सांस्कृतिक आन्दोलनको आवश्यकता छ ।यसका लागि सबैजना जुट्न जरुरी छ ।

भनेपछि सफा राजनीति हेर्न, अनुभव गर्न अझै धेरै कुर्नुपर्ने भयो है ?
शुद्ध, सफा त हुँदै हुँदैन । समाज नै यस्तै छ । यद्यपी राजनीतिलाई गुणात्मक रुपमा फेर्न केही समय अवश्य लाग्छ ।

सामाजिक सञ्जालमार्फत् यहाँका शुभचिन्तकहरुले पार्टी एकतापछि नारायणकाजी श्रेष्ठ र नेकपाका अध्यक्ष प्रचण्डकाबीचमा तीक्तता आएको हो भन्ने प्रश्न राख्नुभएको छ । खास कुरा के हो ?
हाम्रो सम्बन्ध एकदमै राम्रो छ । त्यस्तो तीक्तता आएको होइन ।
पार्टी एकता भनेको नेपाली क्रान्तिलाई नयाँ ऐतिहासिक चरणमा कसरी अघि बढाउने भनेर हामी दुवैजनाको सहमतिमै बढेको पहलकदमी हो ।
पार्टीलाई जीवन्त बनाउन पार्टीभित्र विचारको बहस हुन जरुरी छ तर स्थायी गुटबन्दीले कसैलाई फाइदा पु¥याउँदैन भन्ने मेरो मान्यता हो । त्यसैले जसलाई म र कमरेड प्रचण्डबीच त्यस्तो परिस्थिति सिर्जना भएको छ भन्ने लाग्छ उहाँहरु गलत हुनुहुन्छ ।

चुनावताका नेकपाको नारा नै आर्थिक समृद्धि भन्ने थियो । तर चुनाव भएको यत्रो समय बितिसक्दा पनि हामीले समृद्धिको झिनो अनुभुतिसम्म गर्न पाएका छैनौं । हामीले नदेखेको हो कि तपाईहरुले देखाउन नसक्नु भएको हो ?
जनताले अनुभति गर्न नसकेकोमा हामीले असन्तुष्टि व्यक्त गर्न मिल्दैन ।
सरकारले राष्ट्रिय स्वाधीनताको आधारमा दुवै छिमेकी मुलुकहरुसँग सम्बन्ध विकास गर्ने कुरामा सफल भएको छ ।
दोस्रो, संवैधानिक क्रियाननमा ऐनहरु छैनन् । त्यो ऐन बनाउने र संघीयतामा जाँदा संरचनात्मक पुनर्गठनको आवश्यकता छ । त्यसैले सम्पूर्ण मन्त्री तथा मन्त्रालय कानून बनाउनमा लागीपरेका छन् ।
यति हुँदाहुँदै पनि सिन्डिकेट अन्त्य गर्ने जस्ता सकारात्मक कामहरु पनि भइरहेका छन् । तर जनताले अपेक्षा गरेजस्तो आमूल परिवर्तन भने अहिले नै भइहालेको छैन । हामीले गर्नुपर्छ ।

बर्खामा पूरै शहर डुबेको छ , सडकमा हिँडीसाध्यै छैन । यस्ता कुराहरुलाई कहिलेसम्म नजरअन्दाज गर्ने ?
एकैपटकमा सबै काम गर्न सकिन्छ भन्ने त होइन यद्यपी हामीले जुन गतिमा काम गरिरहेका छौं त्यसैमा सन्तुष्ट भएर बस्ने अवस्था पनि छैन ।
हाम्रो कामहरुलाई गम्भीर समीक्षा गरेर त्यसमा गुणात्मक सुधार ल्याउनलाई नयाँ योजना र कमिट्मेन्ट जरुरी छ । नगरी साध्यै छैन । हाम्रो सरकार फेल हुनु भनेको नेपालको राष्ट्रियता जोखिममा पर्नु हो । 

अन्तिममा, 
नेपाली समाजमा ठूलो राजनीतिक परिवर्तन भयो  तर राजनीतिक परिवर्तन मार्फत् देश, समाज, आर्थिक अवस्थाको रुपान्तरण गर्न अझै बाँकी छ । त्यसका निमित्त हामी एक शूत्रीय अभियान बनाएर हामी अघि बढ्नुपर्छ । बढ्छौं ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?