नेपालको ‘अर्गानिक’ चरेस, विश्वमै उत्कृष्ट !

काठमाडौं । विश्वका विकसित र आर्थिक रुपले सम्पन्न मुलुकहरुमा नेपालमा उत्पादित चरेस निकै लोकप्रिय रहेको पाइएको छ । ती मुलुकहरुमा नेपालमा उत्पादित चरेसको माग बढ्दै जान थालेपछि अवैध उत्पादन पनि बढ्दै गएको छ । 

नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द भन्छन्, ‘सुन्दा पनि पत्यार नलाग्न सक्छ, विशेष गरी उच्च पहाडी क्षेत्रमा उत्पादित चरेसको माग अन्तराष्ट्रिय क्षेत्रमा बढ्नुको मुख्य कारण नै ‘अर्गानिक’ भएकाले हो ।’

कुनै किसिमको विषादी तथा रासायनिक मल मिसाइएको हुँदैन, गाईवस्तुको मूलपत्र र स्याउलाबाट बनेको कम्पोष्ट मल प्रयोग हुनका साथै उच्च पहाडी क्षेत्रमा उत्पादन हुने भएकाले नेपालमा उत्पादित चरेस स्वास्थ्यका लागि हानिकारक नभई लाभदायक हुने गरेको छ । 

युरोप, अमेरिका, हङकङ, चीन लगायतका मुलुकहरुमा नेपालमा उत्पादित चरेसको माग बढी हुने गरेको पाइएको छ । महानगरीय प्रहरी वृत्त दरवारमार्गले आइतवार राति ठमेलको ज्याठाबाट १० किलो चरेससहित पाँचजना अभियुक्तलाई पक्राउ गरेसँगै थप रहस्य खुलेको हो ।

विशेष गरी मकवानपुर, धादिङ जाजरकोट, रुकुम र रोल्पाको उच्च पहाडीक्षेत्रमा उत्पादित चरेस विश्वबजारमा लोकप्रिय रहेको पूर्वएआइजी चन्द बताउँछन् । चरेस विश्वले नै प्रतिबन्ध गरेको लागूऔषध हो । तरपनि, मानव स्वास्थ्यका लागि चरेस फाइदाजनक रहेको बताइन्छ ।

गाँजा र चरेसको फाइदा, खाना पचाउने

गाँजाको सेवनमा भने अमेरिकाको केही राज्य र युरोपका कतिपय देशहरुमा फुकुवा गरिएको छ । गाँजा र चरेसको सेवनले कुनै पनि खाने कुरा पचाउने ‘डाइजेष्ट’ को काम गर्ने गरेको चिकित्सकहरू बताउँछन् । वरिष्ठ चिकित्सक डा. महेन्द्र विष्ट गाँजा र चरेस मन्द खालको नशालु पदार्थ भएको बताउँछन् । 

‘नेपालको कानूनले यसको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिवन्ध लगाए पनि गाँजा र चरेस मेडिकलजन्य लागूऔषध जस्तो गम्भीर खालको लागूऔषध होइन’, डा. विष्ट भन्छन्, ‘यसको लत नै बस्यो भने घातक हुन्छ, औषधिका रुपमा प्रयोग गर्दा लाभकारी हुन्छ, दारु (मदिरा) औषधि भने जस्तै हो ।’ 

हिरोइन, एम्फेटामाइन, ब्रुनफिन, नाइट्रोभेट, डाइजेपाम जन्य लागूऔषधको तुलनामा कोकिन र अफिम स्वास्थ्यका लागि केही लाभकर हुने गरेको बताइन्छ । तर, गाँजा र चरेस जस्तो लाभदायिक होइन । सुईको माध्यमबाट प्रयोग गरिने ब्रुनफिन, नाइट्रोभेट, डाइजेपामको मिश्रणबाट बन्ने लागूऔषध, सिधै नाक र मुखबाट प्रयोग गरिने हिरोइन र एम्फेटामाइनले ज्यान नै जोखिममा पार्ने गर्छ ।

 

सिरिन्जबाट प्रयोग हुने लागूऔषधको प्रयोगसँगै एचआईभी, एड्स, टिबी, हेपाटाइटिस बी लगायतका प्राणघातक रोगको जोखिम बढ््दै गएको छ । नेपालबाट प्रत्येक वर्ष एकसय टन भन्दा बढी चरेस र गाँजा उत्पादन हुने गरेको अनुमान गरिएको छ । 

प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको चरेश तथा गाँजाको मोटामोटी तथ्याङकले सो कुरा देखाएको हो । 

नेपालमा उत्पादित चरेस र गाँजा हवाई र स्थलमार्ग प्रयोग गरी तेस्रो मुलुकमा पुग्ने गरेको प्रहरी बताउँछ । तेस्रो मुलुकबाट कोकिन र हिरोइन नेपाल आउने गरेको पाइन्छ । 

नेपालमा विशेष गरी हिरोइन र मेडिकल जन्य औषधिको प्रयोग बढी हुने गरेको देखिन्छ । नेपाली लागूऔषध कर्ताले गाँजा र चरेशभन्दा मेडिकलजन्य लागूऔषध बढी प्रयोग गर्ने गरेका छन् । सो लागूऔषध खुला सिमानाका कारण भारतबाट आयात हुन्छ । 

त्यस्तै, विश्व बजारमा पाकिस्तान र अफगानिस्तानमा उत्पादित अफिमको माग बढी हुने गरेको छ भने अमेरिकी मुलुकमा उत्पादित कोकिन लागूऔषध दुब्र्यसनीहरुबीच लोकप्रिय छ । नेपालमा गाँजा र चरेश प्रयोग गर्नेहरुभन्दा मेडिकल जन्य लागूऔषधको प्रयोग गर्ने बाहुल्यता बढी देखिन्छ । 

प्रतिबन्धित लागूऔषध उत्पादन हुने केही देशः

गाँजा र चरेस       – नेपाल र भारतमा 

औषधि जन्य लागूऔषध  – भारत र बंगलादेश

कोकिन                – उत्तर अमेरिका र दक्षिण अमेरिका

हिरोइन               – अफ्रिकन मुलुकहरुमा

अफिम               – पाकिस्तान र अफगानिस्तान

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?