प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधन : भारतको कोलकत्ता पुग्ने पानी जहाज प्रदेश २ बाट चल्छ

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तराईको विकासको लागि प्रतिवद्ध भएको बताएका छन् । 

शनिबार मध्यन्ह प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले केन्द्र सरकार विभेदकारी हुन नसक्ने भन्दै उनले प्रदेश २ को विकासका लागि पूर्ण सहयोग गर्ने बचन दिएका हुन् ।

उनले सम्बोधन गर्ने क्रममा नेपालबाट भारतको कोलकत्ता जाने पानी जहाज प्रदेश २ बाट चल्ने समेत बताए । नेपालको तीन नदीबाट पानी जहाज चाडै सञ्चालन हुने बताए । 

यसैगरी तराईमा उर्बरभूमी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका लागि सिँचाइ आयोजनाको काम चाँडै भन्दा चाँडै गरिने बताए । तराइको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट छुट्ट्याएको समेत बताए । 

त्यस्तै जनता आवास कार्यक्रम अनुसार प्रदेश २ को हरेक जिल्लामा १ बजार घर बनाउने योजना रहेको बताए । जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउने उनले बताए । साथै अबको ५ वर्षमा हुलाकी सडक निर्माण कार्य पूरा गरिसक्ने प्रधानमन्त्री ओलीले जानकारी दिए । 

सम्बोधनका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो मित्रता राम्रो भएको जानकारी दिँदै दुई देशबीचको सम्बन्ध थप प्रगाढ र मजबुत बनाउने बताए । सरकारको उद्देश्य समृद्ध नेपाल सुखी नेपाल भएको र दुई छिमेकीले पनि यही चाहेको उनको भनाई थियो । 

त्यस्तै जनकपुरलाई फोहरमुक्त बनाउन सरकारले आवश्यक कदम चाल्ने बताउँदै प्रधानमन्त्री ओलीले ल्याण्ड फिल्ड साइट निर्माण हुन नसक्दा फोहर व्यवस्थापनमा समस्या भएकोले जमीन खोज्न सरकारले पहल गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?