प्रतिभाकी धनी प्रतिभा : १३ वर्षकै उमेरमा यसरी बनिन् राष्ट्रिय खेलाडी

१३ वर्षको उमेर ।

जुन उमेरमा लक्ष्य, सपना जस्ता शब्दहरुको अर्थ केलाउन सक्षम भइसकेको हुँदैन हाम्रो मस्तिष्क ।

त्यसैले यो उमेरमा प्राय आँखा बन्द भएकै अवस्थामा मात्रै देखिन्छन् अधिकांश सपनाहरु । 

तर, यसको अपवाद छ । 

हो, प्रतिभा माली हुन् त्यो अपवाद ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी प्रतिभा मालीले १३ वर्षको उमेरमै आफ्नो प्रतिभा प्रस्तुत गरिन् । राष्ट्रिय टिमबाट खेलेर ।
साथीसँग गफिँदै अन्य खेलाडीको कुरा गर्ने उमेरमा उनी आफैं राष्ट्रिय खेलाडी बन्न पुगिन् । १७ वर्षको उमेरसम्म आइपुग्दा उनले अन्य दिग्गज खेलाडीहरुले नपाएको सफलता हासिल गरिसकेकी छिन् ।

***

यो त केटा भएर जन्मिनु पर्ने…

प्रतिभाको जिउडाल हेरेर जो कोहीले अनुमान लगाउन सक्छन् उनी खेलाडी नै हुन् भनेर । सामान्य केटीभन्दा अग्ली अनि खाइलाग्दी पनि । यही कारणले गर्दा उनलाई स्कुलको भलिबल टिममा समावेश गरिएको थियो । आफ्नो किशोरावस्थाको प्रारम्भदेखि नै भलिबल खेल्न शुरु गरेकी प्रतिभाले खेलमा यसरी मौलाउँछु भन्ने कल्पना सम्म गरेकी थिइनन् ।

उनलाई चुप लागेर बस्न मन पर्दैन थियो । त्यसैले अरुले खेल्दै गर्दा दर्शक भएर मात्रै बस्नै मन नलाग्ने । उनी अलिक चञ्चले स्वभावकी थिइन् । ‘सानैदेखि खेल्ने, उफ्रिने भएकाले हजुरबुवाले समेत यो त केटा भएर जन्मिनुपर्ने भन्नुहुन्थ्यो ।’ केही लजाउँदै उनले आफ्नो बालापनको रहस्य खोलिन् । त्यसैले स्कुलमा हुने खेलकुद लगायतका कार्यक्रममा सहभागी भइरहन्थिन् । बस् खेल्नुसँग मतलब थियो । त्यसताका भलिबल उनको सपना थिएन ।

त्यसैले त जब उनी स्पाईकिङ गर्छिन् तब लोभलाग्दो हुटिङ गुन्जिन्छ “वि वान्ट प्रतिभा”….. “वान्स मोर प्रतिभा”…। तर उनी यी सबै कुरा खेल सकिसकेपछि मात्रै प्रतिभा मस्तिष्कबाट महशुस गर्छिन् । 

स्कुलको भलिबल टिममा समावेश भएर ट्रेनिङ लिँदै गएपछि उनको खेल कौशलता देखेर धेरैले उनको प्रशंसा गर्न थाले । आफ्नो खेल कौशलताले निकै जीतहरु पोल्टोमा पारिसकेपछि भने उनी आफैलाई पनि भलिबल प्रति मोह बढ्दै गयो र यसैमा उनले आफ्नो भविष्य देख्न थालिन् । त्यसैले त जब उनी स्पाईकिङ गर्छिन् तब लोभलाग्दो हुटिङ गुन्जिन्छ “वि वान्ट प्रतिभा”….. “वान्स मोर प्रतिभा”…। तर उनी यी सबै कुरा खेल सकिसकेपछि मात्रै प्रतिभा मस्तिष्कबाट महशुस गर्छिन् । परिवारले पनि उनको सपनालाई भरपूर सर्पोट ग¥यो । तर, पढाइ नबिगार्ने सर्तमा । नेपालमा खेलाडीलाई खेलकै भरमा जीवनयापन गर्न मुस्किल छ भन्ने कुरा बुझेर नै परिवारले यस्तो सर्त राखेको प्रतिभाको भनाइ छ ।

‘मलाई त परिवारको सबैले निकै सर्पोट गर्नुभयो । खेल तर पढाइलाई चाहिँ सधैं प्राथमिकतामा राख भन्नुहुन्थ्यो ।’ उनले बताइन् । त्यसैले प्रतिभाले खेल जीवन र पढाइलाई आआफ्नो ठाउँमा राखिन् । भलिबलले गर्दा पढाइ कहिल्यै बिग्रेन । ‘म त्यस्तो खत्रा पढ्ने विद्यार्थी होइन । ‘एभरेज स्टुडेन्ट’ हो । त्यही भएर आफ्नो ‘पोजिसन मेन्टेन’ गर्न गाह्रो भएन ।’ यसो भन्दै गर्दा उनी मज्जैले हाँसिन् ।

अहिले प्रतिभा १२ कक्षामा अध्ययन गरिरहेकी छिन् । व्यवस्थापन संकायमा । मास्टर्ससम्म अध्ययन गर्ने उनको इच्छा छ ।
बैंकिङ क्षेत्रमा लाग्छु 

प्रतिभालाई आर्थिक पक्षमा कुनै ‘प्रेसर’ छैन । उमेर सानै भएकाले र परिवारको आर्थिक अवस्था पनि राम्रै भएकाले उनले अहिलेसम्म अभाव झेल्नुपरेको छैन । त्यसैले खेलाडीहरुको जीवन आर्थिक अभावमै बित्छ भन्ने सुन्दा उनी अचम्म मान्छिन् ।
‘यस्तो पनि हुन्छ र ! जस्तो लाग्छ ।’ आश्चर्यको भावमा उनी बोलिन् ।

यद्यपी, आफूलाई सबैभन्दा मनपर्ने भलिबल खेलाडी सिपोरा गुरुङ,  र रमिला तण्डुकार नै विदेशिएको देख्दा भने केही निराश छिन् उनी । केही समयदेखि उनलाई पनि भलिबल खेलेकै भरमा जीवन चलाउन गाह्रै हुने हो कि जस्तो लाग्न थालेको छ ।

‘भलिबलको विकल्पमा के त ? विदेशै हो तपाईं पनि ?’
‘होइन, विदेश जाने बारेमा सोचेको छैन मैले । सकेसम्म यहीँ केही गर्छु ।’ भलिबलका अतिरिक्त अन्य पेसामा लागे पनि विदेश भासिने सोच चाहिँ नभएको प्रतिभा बताउँछिन् ।
‘व्यवस्थापन विषय पढ्दै छु । त्यसैले बैकिङ फिल्ड तिरै लाग्छु होला ।’ उनी थप्छिन् ।

गोल्ड मेडल जित्न सक्छौं 
खेल क्षेत्र आलोचित छ । विवादित छ ।
खेलाडीको कदर हुँदैन, खेलको कदर हुँदैन । भविष्य पनि अन्यौल मै बित्छ भनेर पनि यस क्षेत्रलाई नरुचाइएको हुन सक्छ ।
यस्तो परिस्थितिबाट बाहिर आउन खेललाई सशक्त रुपमा अघि बढाउनै पर्ने तर्क प्रतिभाको छ ।
परिवारले आफ्नो छोराछोरीको रुचि बुझेर खेलप्रति प्रोत्साहन गर्ने हो भने र सरकारले पनि देशमा खेलमैत्री वातावरण सिर्जना गरिदिने हो भने खेल क्षेत्रको स्तरोन्नति सम्भव भएको माली बताउँछिन् ।
उनका अनुसार अहिलेको महिला भलिबल टिम एकदमै सक्रिय र सशक्त छ । यद्यपी राम्रो प्रशिक्षण र अभ्यास नपुगेको हो कि भन्ने उनको अनुमान छ ।
अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण पद्धति र प्रशिक्षकहरुबाट सिक्ने मौका पाएमा, प्रशिक्षण लिने मौका पाएमा गोल्ड अन्तर्राष्ट्रिय खेलबाट मेडल पनि ल्याउन सक्ने कुरा प्रतिभा दोहोर्याउँछिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?