द्रौपदी मुर्मू : क्लर्कदेखि भारतको १५औँ राष्ट्रपतिसम्मको यात्रा (भिडियाेसहित)

लोकपथ
1.2k
Shares

काठमाडाैं । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेदवार मुर्मू विहीबार राष्ट्रपतिमा विजयी भएकी हुन् ।

याेसँगै भारतले १५ औँ राष्ट्रपतिको रूपमा अबको ५ वर्षका लागि द्रौपदी मुर्मूलाई पाएको छ । द्रौपदी मुर्मू भारतको १५ औँ राष्ट्रपतिमा आज चुनिएकी हुन् । यो चयन पछि उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी महिला राष्ट्रपति बन्न सफल भएकी छन् ।

सन् १९५८ को २० जुनमा उडिसा राज्यको मयूरभंज जिल्लामा जन्मेकी द्रौपदीले सन् १९७९ मा भुवनेश्वरी रमादेवी महिला कलेजबाट ग्र्याजुएसन गरेकी थिइन् । उडिसाको सिँचाइ विभागमा क्लर्कको जागिर खाएकी उनले पछि जागिर परिवर्तन गर्दै आफ्नै जिल्लाको एक कलेजमा असिस्टेन्ट प्रोफेसरको रूपमा केही समय अध्यापनको कार्य गरिन् ।

सन् १९९७ मा मयूरभंजको रंगरायपुरबाट वडा पार्षद्मा निर्वाचित भएसँगै उनको राजनीतिक यात्रा सुरु भएको थियो । सन् २००० र २००९ मा गरी दुई पटकसम्म उडिसाको मयूरभंज विधान सभा सिटबाट भारतीय जनता पार्टी (बिजेपी) को टिकट पाएर विधायकमा निर्वाचित भएकी थिइन् । सन् २००० देखि २००४ सम्म उडिसाको राज्यमन्त्रीसमेत बनेकी द्रौपदी सन् २०१५ मा झारखण्डको पहिलो महिला राज्यपाल नियुक्त भएकी थिइन् ।

मुर्मूको व्यक्तिगत जीवनलाई नियाल्ने हो भने निक्कै उतारचढाव र पीडादायी देखिन्छ । पढाइमा अब्बल रहेकी द्रौपदी उच्च शिक्षाका लागि भुवनेश्वर पुगिन् । उनी आफ्नो गाउँबाट पढ्नका लागि भुवनेश्वरसम्म पुग्ने पहिलो व्यक्ति थिइन् ।

अध्ययनकै क्रममा श्यामचरण मुर्मूसँगको भएको प्रेम सम्बन्धलाई सन् १९८० मा विवाहमा परिणत गरिन् र पतिसँगै उनी पहाडपुरमा बस्न थालिन् ।

सन् १९८४ मा ३ वर्षकी छोरीलाई गुमाएकी मुर्मू दम्पतीले सन् २००९ मा छोराको अल्पआयुमै वियोग सहनु प¥यो । दुई सन्तान गुमाएको पिडामा अध्यात्मतर्फ आफ्नो जीवन मोड्दै गर्दा सन् २०१३ मा सडक दुर्घटनामा उनले अर्को छोरा पनि गुमाइन् । उनको पीडा र दुःखको भेल यतीमै रोकिएन सन् २०१४ मा उनले पति वियोग पनि सहनु पर्यो ।

दुःख र पीडाले थलिएको जिन्दगीलाई हिम्मतका साथ अघि बढाइरहेकी द्रौपदीलाई व्यक्तिगत र राजनीतिक रूपमा नम्र र भद्र स्वभावको रूपमा चिनिन्छ ।

यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो । मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन रहेकाे थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?