गृह सचिवको ठाडो निर्देशनमा महाराजगञ्ज वृत्तका डिएसपी रिजाल परिवर्तन

काठमाडौं । गृह मन्त्रालयको ठाडो निर्देशनमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भेषराज रिजाललाई रातारात काज सरुवा गरिएको छ । उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डिएसपी फणिन्द्र प्रसाईलाई ल्याइएको छ । 

महाराजगञ्ज वृत्तको कमाण्ड सम्हालेको दुई महिना नबित्दै डिएसपी रिजाललाई एक्कासी दुई न. गण सामाखुशीमा हाजिर हुने गरी काज थमाइएको छ । स्रोतका अनुसार, गृह सचिव प्रेमकुमार राईको निर्देशनमा डिएसपी रिजाललाई हटाइएको हो । 

केही दिनअघि बर्दियास्थित जिल्ला कारागारमा ज्यान गुमाएका सिके राउत समूहका एक कार्यकर्ताको ‘पोष्टमार्टम’ रिपोर्टको विषयलाई लिएर डिएसपी रिजाललाई काजमा सरुवा गरिएको जनाइएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पु-याउँदा डिएसपी रिजालले असहयोग गरेको आरोप गृह सचिव राईको छ । तर, मृतकको शव पोष्टमार्टम गर्ने नगर्ने विषयमा वृत्तका प्रमुख रिजालको कुनै भूमिका हुँदैन । 

डिएसपी रिजाललाई हटाएको खबर महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले आज बिहानमात्र पाएको हो । गृह मन्त्रालयले पछिल्लो समय नेपाल प्रहरीको सरुवा, बढुवा तथा अपराध अनुसन्धानमा प्रत्यक्षरुपमा हस्तक्षेप गर्ने गरेको छ । 

३३ किलो सुन काण्डदेखि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्ने नाममा गृह मन्त्रालयले मन्त्रालयकै कर्मचारीलाई संयोजक तोकि अनुसन्धानमा भने प्रहरीलाई लगाउने गरेको छ । 

प्रहरी महानिरीक्षकको सचिवालयले गृह सचिवको निर्देशन काट्न नसकेपछि डिएसपी रिजाललाई काजमा सरुवा गरिएको प्रष्ट पारेको छ । प्रहरी प्रवक्ता शैलेष थापा क्षेत्रीले भने, यो नियमित प्रक्रिया हो । डिएसपी रिजाललाई कारवाही स्वरुप नभइ अर्कै जिम्मेवारीका लागि काजमा खटाइएको बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?