जनतालाई सामाजिक न्यायको अनुभूति हुने गरि काम गर्नुस् : मुख्यमन्त्री शाही

सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले पाँच वर्ष भित्रै जनतालाई सामाजिक न्यायको अनुभुति हने गरि काम गर्नुपर्ने बताएका छन् । 

 मुख्य न्यायधिवक्ताको कार्यालय, कर्णाली प्रदेशको आयोजनामा आज सुर्खेतमा भएको ‘स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि तथा अभिमुखीकरण’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले स्थानीय तहका न्यायिक समितिहरुको कार्यसम्पादन जनताले न्यायको अनुभुति गर्ने खालको हुनुपर्ने बताए ।

पञ्चायतकालमा प्रधानपञ्चहरुले गर्ने न्यायका कारण सिंगो व्यवस्थाका विरुद्ध जनमत वनेको उदाहरण दिँदै मुख्यमन्त्री शाहीले जनताको वलीदानीवाट प्राप्त सरकारले जनमुखी न्याय दिनुपर्नेमा जोड दिए । 

 ‘तपाईँहरुको काँधमा ऐतिहासिक जिम्मेवारी आएको छ ।’ स्थानीय तहका न्यायीक समितिका पदाधिकारीलाई मुख्यमन्त्री शाहीले भने, ‘तपाईहरु अरुको भर नपर्नुस्, जनताबाट सिक्नुस् र जनतालाई न्याय हुनेगरि काम गर्नुस् ।’ 

न्याय सम्पादनमा त्रुटी भएमा सामाजिक द्धन्द्ध निम्तिन सक्ने बताउँदै मुख्यमन्त्री शाहीले जनताको बीचमा रहेका अन्तरविरोधहरुको समाधान गरेर जनतालाई विकास र समृद्धिको बाटोमा डोर्याउन आवश्यक रहेको बताए ।

जनशैली अवलम्वन गर्ने जनप्रतिनिधि मात्रै जनप्रिय हुने भन्दै मुख्यमन्त्री शाहीले वाजागाजा, तामझाम र फुलमालाको माग नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । 

स्थानीय तहका सरकार र प्रदेश सरकारको आपसि सम्वन्धको विकास गर्न प्रदेश समन्वय परिषदको वैठक वोलाएको वताउदै मुख्यमन्त्री शाहीले प्रदेश सरकार र स्थानीय सरकारको सम्वन्ध एकअर्काको परिपुरक हुनुपर्ने बताए । 

कार्यक्रममा वोल्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गाँउमा सिंहदरवार होईन जनसरकार आएको वताउँदै जनसरकारको अनुभुति जनताले गर्नुपर्ने बताए ।

 यसैगरि कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आफनो न्यायका लागि अड्डा अदालतको ढोकामा पुग्न डराउने दिदीवहीनीको हातमा अहिले आफैले फैसला गनुपर्ने जिम्मेवारी आएको बताए । 

कार्यक्रममा भुमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले स्थानीय तहका न्यायिक समितिको नेतृत्वमा महिला हुनु भनेको महिला आन्दोलनको उपलब्धी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?