स्वयम्भूनाथको पर्खालमा चढेर जोखिमपूर्ण सेल्फी ! खै नियम ? ५ देशका दर्दनाक सेल्फी घटना

स्वयंभूनाथ स्तुपामा हरेक दिन पर्यटकहरुको भीड लाग्ने गर्छ । यहाँ आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकहरुको बाक्लो उपस्थिति हुन्छ । शहरको कोलाहल र अस्तव्यस्ततादेखि अलि टाढा, एकान्तमा अवस्थित भएकाले पनि हुन सक्छ शान्ति र आनन्दमय वातावरणका लागि प्राय मान्छेहरु स्वयंभू परिसरमा टहलिन मन पराउँछन् ।

समुन्द्री सतहभन्दा ७७ फिट माथि उचाईमा अवस्थित स्वयंभूबाट लगभग पूरै काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । त्यसैले यो विशेषता पर्यटकहरुलाई स्वयंभूतर्फ आकर्षित गर्ने अर्को महत्वपूर्ण पक्ष हो । धेरै जसो आफ्नो क्यामेराको आँखाले त्यो दृश्य नियाल्न व्यस्त देखिन्छन् भने केही मात्र आफ्नो रियल आँखाले । त्यस्तै कतिपय भने विभिन्न भावभंगीमा फोटो खिचाउनमा मस्त देखिन्छन् ।

स्वयंभू स्तुपादेखि ठ्याक्कै पछाडिपट्टि भएको पर्खालमा अडेसा लागेर उपत्यकालाई नियाल्नेको संख्या कम हुँदैन । कहिलेकाहीँ त तछाडमछअड नै मच्चिन्छ । पालो कुर्नेहरु फोटो खिच्नेको पोज याद गरेर बस्छन् । यद्यपी केही दिन अघि मात्रै स्वयंभूमा यस्तो दृश्य देखियो जसले फोटो क्रेजले मान्छेलाई कतिसम्म अविवेकी बनाउँछ भनेर पुष्टि गर्छ ।

स्थान : स्वयंभू स्तुपाको पछिल्तिर 

समय : दिउँसो २ बजे

दृश्य : पर्खालमाथि दुई युवक, हातमा क्यामेरा

दिउँसोको करिब १ बजे । दुई युवक स्वयंभू स्तुपा पछाडिको पर्खालमा अडेस लागेर उपत्यकाको दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्दै थिए । अन्दाजी १८ वर्षका ती दुई युवक पालैपालो पर्खालमाथि चढे । त्यही पर्खाल जसबाट घना बस्ती देखिन्छ । अव्यवस्थीत बस्ती । काठमाडौँ सहरको । घरैघरको थुप्रो । नमीलेका दाँतजस्ता । 

ती दुई युवक यति सजिलैसँग जम्प गर्दै पर्खालमाथि उक्लिए मानौं कुनै साउथ इन्डियन फिल्मका नायक हुन् जो स्टन्ट देखाउन रेडी छन् । एउटाले फोटो खिच्दिँदै गर्दा अर्को पोज दिएर मख्ख ।दुईजनाले एक अर्कासँग ठाउँ साटे । रोल पनि । अब भने, खिच्नेले खिचायो । हेर्दासमेत रिँगटा लाग्ने उचाइलाई सजिलै नजरअन्दाज गरे उनीहरुले । बेपर्वाह फोटो खिच्नमा व्यस्त थिए दुवै ।

शायद, उति खेरै उनीहरुको फेसबुकले ‘ह्वाट्स अन योर माइन्ड’को जवाफ पाउनेवाला थियो । यो तस्वीरले ५ मिनेटमा ५० लाइक चाहिँ कटाउँछ  उनीहरु संवादमा उत्रिहाले । 

फोटो क्रेज

आजकल सेलिब्रेसनको बेला कमैले मात्र त्यो क्षणको मजा लिइरहेका हुन्छन् । त्यसैगरी क्यामेरा बिना कसैले घुम्न गएको देख्नु पनि एकादेशको कथा भइसक्यो । जीवनका हरेक क्षण लेन्सको सानो गोलाकार भित्र सिमित गरिन्छ ।  

फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालले झनै यो परिपाटीलाई उजागर गरेको छ । सामाजिक सञ्जाललाई आफ्नो लाईफ लाइन मान्ने हाम्रा लागि त्यहाँ पाइने लाईक र कमेन्ट खुराक बनेका छन ्। आफ्नो फोटोमा पाएको लाइक र कमेन्टको आधारमा आफूलाई मूल्याङ्कन गर्छौं, अरुसँग दाँज्छौं । यहीे होडबाजीमा कतिजना आफ्नो ज्यानै जोखिममा पारेर समेत फोटो खिच्न पछि पर्दैनन् ।

हामी अमानवीय पो बन्दैछौं कि ?

केही समय अघि ईटालीमा एउटा सेल्फीनिक्कै आलोचित बन्यो । ट्रेनले ठक्कर दिएर घाइते भएकी महिलालाई उद्धार टोलीले उपचार गरिरहँदा एक युवकले आफ्ना दुई औँला देखाएर (भिक्ट्री) पोजमा सेल्फी लिएका थिए । त्यही बेलाउनलाई एक फोटो पत्रकारले आफ्नो क्यामेरामा कैद गरे ।

‘अब चाहिँ मान्छेमा रत्ति नि नैतिकता बाँकी रहेन’भन्ने क्याप्सन राखेर भाईरल बनाइदिए त्यस फोटोलाई । विभिन्न सञ्चार माध्यमले त्यस फोटोलाई बुस्ट गरे । सामाजिक सञ्जालमा पनि निक्कै आलोचित बन्यो त्यो तस्वीर ।

त्यस्तै, चर्चित हुने दाउमा दुर्घटनाका हृदयविदारक तस्वीरदेखि कसैको निजी तस्वीरहरु समेत खुलेआम सार्वजनिक गरिन्छन्,भाइरल बनाइन्छन् ।

आँखा अगाडि कोहीे आफ्नो मृत्युसँग जुधिरहँदा अर्को मान्छे भिक्ट्री को पोज दिएर सेल्फी खिच्नुले मानव प्रवृत्ति कुन दिशातर्फ जाँदैछ भन्ने संकेत गर्छ ? के यो असंवेदनशीलताको पराकाष्ठा होइन र ?

केही दर्दनाक घटना

वर्षेनी फोटो लिने क्रममा भएका असावधानीका कारण कैयौँ मानिसको ज्यान जाने गरेको छ ।

एक अनुसन्धान अनुसार फोटो खिच्ने क्रममा विश्वमै सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश भारत हो । भारतलाई पच्छ्याउँदै पाकिस्तान र अमेरिका क्रमश दोस्रो र तेस्रो नम्बरमा पर्दछन् ।

अप्ठेरो ठाउँ र प्रतिकूल अवस्थामा फोटो खिच्ने क्रममा भएका केही दर्दनाक मृत्युहरु :

भारत : रेलमा यात्रा गरिरहँदा ढोका भन्दा बाहिर ढल्केर एक युवक सेल्फी लिन खोज्दै थिए । दुर्भाग्यवश उनको खुट्टा चिप्लिएर रेलबाट खसे । उनलाई बचाउनउन ३ जना साथीपनि रेलबाट हाम फाले तर अगाडिबाट आइरहेको रेलको ठक्करबाट उनीहरुको पनि मृत्यु भयो । 

इङ्ग्ल्यान्ड : सि फर्ड प्राकृतिक आरक्षण क्षेत्रमा रहेको भीरमाउफ्रेर पोज दिने क्रममा एक २३ वर्षे युवतीको मृत्यु भएको थियो ।

श्रीलंका :श्रीलंकाको कहवा रेलवे ट्र्याकमा एक नवविवाहित जोडी सेल्फी लिँदै थिए । उताबाट आएको ट्रेनको ठक्करमा परेर दुर्भाग्यवश बेहुलाको लागि त्यही सेल्फी जीवनकै अन्तिम सेल्फी हुनपुग्यो भने बेहुली गम्भीर घाइते भइन् ।

रुस : १२ वर्षे एक बालिका सेल्फी खिच्नलाई १७ औँ तलाको बरण्डामा चढ्ने क्रममा त्यहाँबाट खसेर उनको मृत्यु भयो ।

पाकिस्तान : कुँहर नदीमा सेल्फी लिने क्रममा ११ वर्षे बालिका पानीमा डुबिन् । उनलाई बचाउन उनकी आमापनि पानीमा हामफालिन् । आफ्नी छोरी र श्रीमतीलाई डुबेको देखेर बाबु पनि हतारहतार हामफाले । दुर्भाग्यवश एकै परिवारका तीन जनाको चिहान भयो त्यो नदी । यो दृश्यका प्रत्यक्षदर्शी उनीहरुका ६ वर्षे छोरा थिए । सोही नदीमा त्यसपछि पनि यसै गरी सेल्फीखिच्ने क्रममा दुईजनाको मृत्यु भइसकेको छ । 

नेपाल : २१ वटा हात्तीको बथान बाटो काट्दै गर्दा एक सवारी चालक सेल्फी खिच्नलाई आफ्नो गाडीबाट बाहिर निस्के । हात्तीहरुको आक्रमणबाट उनको मृत्यु भयो । 

यी घटनाहरु केही उदाहरण मात्र हुन् । अरुको जीवनमा घटेका यस्ता घटना हामीलाई कथा जस्तो लाग्छन् । केही समयसम्म हाम्रो चिया गफको ‘विषय’ पनि बनिन्छन् । यद्यपी मान्छेहरुको फोटोप्रतिको बढ्दो क्रेज देख्दा यस्ता घटना बारम्बार नहोला भन्न सकिन्न ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?