पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति कांग्रेस नेता सिंहको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएका छन् । 

सरकारले नजिकिदै गरेको दसैं, तिहारको मुखैमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि प्रति आपत्ति जनाएका हुन् ।  

सरकारले गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेर सरकारले जनतालाई मारमा पार्ने काम मात्रै गरिरहेको दाबी गर्दै नेता सिंहले प्रधानमन्त्री ओली देश र जनताको नभई केही सिमित व्यक्तिहरुको ‘इन्ट्रेष्ट’मा चलिरहेको आरोप समेत लगाए ।  

मंगलबार नेता गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा काठमाडौंको शोभाभगवतीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीले सुशासन र समृद्धिको ठूला नारा दिएपनि जनतालाई राहत दिने कुनै पनि काम गर्न नसकेको दाबी गरेका हुन् । 

कम्युनिष्ट नेतृत्वको २ तिहाईको सरकारले कामै गर्न नजानेको बताउँदै नेता सिंहले कांग्रेसले सडकदेखि सदनसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे ।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, नेता नविन्द्रराज जोशीलगायतका कांग्रेस नेता, कार्यकर्ताहरुले त्यहास्थित गणेशमान सिंहको शालिकमा माल्याअर्पण गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?