जम्बो टोलीसहित प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा जाने

काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओली यही असोज ६ गते न्यूयोर्क भ्रमणमा जाने भएका छन् । 

नेपाली प्रतिनिधि मण्डलका २० सदस्यसहित प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन् । 

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको न्युयोर्क भ्रमणको तयारी भइरहेको जानकारी दिएको हो । 

मंगलबारदेखि संयुक्त राष्ट्र संघको ७३ औँ महासभा (युएनजीए–७३)का औपचारिक कार्यक्रमहरु शुरु हुँदैछ । महासभा अन्तर्गत दुई सातासम्म विभिन्न सत्रमा छलफल हुने कार्यक्रम रहेको छ । मंगलबार (अजोस २ गते अर्थात १८ सेप्टेम्बर) स्थानीय समयअनुसार बिहान १०ः३० बजे परिवार नियोजन सम्बन्धी सत्र शुरु हुँदैछ । महासभा अन्तर्गत विभिन्न विषयमा २ सय ७५ वटा कार्यक्रम हुने छ । 

यी नै कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधि मण्डलका २० सदस्यहरु अमेरिका जान लागेका हुन् । 

स्रोतका अनुसार टोलीमा प्रधानमन्त्री ओलीसहित पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरु, प्रधानमन्त्री कार्यालयका अधिकारीहरु तथा प्रधानमन्त्रीका केही सल्लाहकारहरु समेत सहभागी हुने छन् । त्यस्तै नेपाली प्रतिनिधि मण्डलमा न्युयोर्कस्थत नेपाली नियोगबाट अधिकारीहरुसमेत सहभागी हुने छन् । 

प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको सदस्य राष्ट्रको प्रतिनिधि सम्बोधन तालिकामा असोज ११ गते बिहीवार (सेप्टेम्बर २७) स्थानीय समय अनुसार दिउँसो ३ बजेदेखि राति ९ बजेसम्मको सत्रमा नेपालको तर्फबाट सम्बोधन हुने कार्यक्रममा उल्लेख छ ।

महासभामा असोज ९ देखि असोज १५ सम्म सदस्य राष्ट्रका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका बनेको छ । जस अन्तर्गत नेपालका तर्फबाट सरकार प्रमुखले सम्बोधन गर्ने सूचीमा उल्लेख गरिएको छ । 

प्रधानमन्त्री ओलीले १ सय ४ वटा देशका राष्ट्र, सरकार र प्रतिनिधि मण्डल प्रमुखहरुले सम्बोधन गरेपछि मात्र सम्बोधन गर्ने छन् । 

महासभामा प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा अतिकम विकसित राष्ट्र(एलडीसी) र अतिकम विकसित भूपरिवेष्ठित राष्ट्रको हित, जलवायु परिवर्तन, गरिबी निवारणलगायतका मुद्दालाई प्राथमिकताका साथ उठाउने मन्त्रालय स्रोतले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले युनजिए–७३ को साइडलाइनमा केही उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम बनिरहेको छ । प्रधानमन्त्री ओलीले केही मित्रराष्ट्रका प्रधानमन्त्री÷राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने गरी कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ । 

यसैगरी प्रधानमन्त्री ओली उत्तर अमेरिकाबाट दक्षिण अमेरिका भ्रमणमा समेत जाने कार्यक्रम समेत रहेको बताइएको छ । दक्षिण अमेरिकी राष्ट्र कोस्टारिकाबाट भ्रमणको निम्तो आएको हुँदा प्रधानमन्त्री ओली त्यस तर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?