यस्तो छ बुटवल उपमहानगरको दीर्घकालीन विकास योजना

बुटवल : बुटवल उपमहानगरपालिकाले आफ्नो १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ । त्यसमा पाँच वर्षे आवधिक योजना समेटिएको छ । 

उपमहानगरपालिकामा एक वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो वर्षलाई अध्ययन वर्षका रूपमा लिँदै अब समृद्धिको आधार वर्षका रूपमा दीर्घकालीन योजनासहित महत्वपूर्ण काम अगाडि बढाएको हो । उपमहानगरपालिकामा मङ्गलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुरुयोजना निर्माणको निम्ति विज्ञसमूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडावासी तथा विभिन्न सरोकारवाला निकायसँग सुझाव सङ्कलन गरिएको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए । 

उहाँले विभिन्न विषयगत समितिमा छलफल गर्ने काम सम्पन्न गर्दै तेस्रो नगरसभाबाट उपमहानगरपालिकाको एकीकृत विकास गुरुयोजना पारित गरिएको जानकारी दिए । साथै नगर पाश्र्वचित्र निर्माण गर्ने कामसमेत सम्पन्न भएको बताए । तत्कालीन अङ्ग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्णकदको शालिक बनाइने भएको छ । सो किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी ढाँचा तयार भइरहेको प्रमुख सुवेदीले बताए । 

विभिन्न विज्ञसँगको अन्तरक्रिया र छलफलमार्फत ऐतिहासिक धरोहरकारुपमा रहेको सो किल्लाको संरक्षण गर्न कार्यपालिकाको बैठकबाट वैशाख ७ गतेलाई जितगढी विजयोत्सवका रूपमा मनाउने निर्णय भएको जनाइएको छ । 

बुटवल उपमहानगर वडा नं १ र २ लाई पुरातात्विक बस्तीका रूपमा विकास गर्र्न र बुटवल १ मा अवस्थित पुरानो नगरपालिका भवन भएको स्थानमा बटौली सङ्ग्राहलय निर्माण गरिने भएको छ । सो कामका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार पार्ने काम अगाडि बढाइएको छ । हिल पार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिष्ट पार्क निर्माण गर्न सर्भे तथा जग्गा यकिन गर्ने काम सम्पन्न गर्दै डिपीआर तयार पार्ने काम भइरहेको नगरप्रमुख सुवेदीले जानकारी दिए । सो बुद्धमूर्ति लुम्बिनीको मायादेवी मन्दिर परिसरबाटसमेत देख्न सकिने बताइएको छ । 

यस्तै शिवनगर सामुदायिक वनमा ‘रामपिथेकस जियोलोजिकल पार्क’ बनाउन सर्भे तथा जग्गा यकिन गर्ने काम भइरहेको छ । मिलन पार्कको विकास गर्न गुरुयोजना निर्माण गर्दै पूर्वाधार निर्माणको काम शुरु भएको छ । पशुपतिनाथको महिमासँग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने छ । पार्क संरक्षण गर्न पर्खाल निर्माण गर्ने काम भएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करीब १६ हजार घरघुरीको लगत सङ्कलन गरी अमिनमार्फत नापी गर्ने प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?