सप्तरीका सरकारी कार्यालयमा कालोझण्डा गाड्दै राजपाले मनायो कालो दिवस

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले सप्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका छन् । 

बुधबार संविधान दिवसका अवसरमा सप्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका हुन् । 

मधेशी जनतालाई दमन गरी ‘२०७२ साल असोज ३ गते’ संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउँदै आइरहेका छन् । 

राजपाका सहमहामन्त्री गजेन्द्र मण्डलका अनुसार बुधबार बिहानैदेखि सदरमुकाम राजविराज सहितका जिल्ला प्रमुख बजारहरुमा राजपाका नेता कार्यकर्ताहरु कालोझण्डासहित प्रर्दशन गरेका छन् । प्रदर्शन र सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने कार्यक्रममा राजपाबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु समेत सामेल छन् ।

त्यस्तै राजपाले बुधबार दिउँसो राजविराजमा वृहत्त विरोध कार्यक्रम गर्ने तयारी समेत गरेको छ । विरोध सभालाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?