जंगलमा बस्ने उटेले पनि मनाए संविधान दिवस

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन् ।

उनीहरुले खुलेरै आज संविधान दिवसको गुणगान गरे । विगतमा आफ्नै रीतिथितिमा तल्लीन हुने र आफूलाई जङ्गलको राजा मान्ने उनीहरु यस वर्ष कर्णाली प्रदेश सरकारसँगै हातेमालो गर्दै दिवस समारोहमा सामेल भए । दिवसमा उनीहरुले पैसरु नाच देखाए, अरूलाई आकर्षित गरे, प्रदेश प्रमुखसहित मन्त्री र सरकारका उच्च अधिकारीहरुलाई समेत मनोरञ्जन दिए ।

जङ्गलको बास छोडेर दैलेखेको गुराँस गाउँपालिका–८ झ्याजेस्थित बस्दै आएका राउटे दक्षिण एशियाको लोपोन्मुख जातिका रुपमा मानिन्छ । पछिल्लो समयको विकास र मानव चहलपहलका कारण राउटे रहनसहन र संस्कार छोडेर आधुनिक संस्कृति अँगाल्न थालेका छन् । यसबारेमा भने राउटेका मुखिया वीरबहादुर शाहीले जङ्गलमा आफ्नो सिकार सकिएकाले मान्छेको नजीक जान बाध्य भएको बताए ।

“मान्छेले जुङ्गल मास्या (फँडानी गरे) । हाम्मो बास उठाया । सिकार नेठ्या (सके) । जङ्गलमा गुना बाँदर सकिदा मेरा जन्ता भोकै भया” मुखिया शाहीले दुःखेसो पोख्नुभयो, “हामी हाम्मै संस्कारमा रमाउन चाहान्छौँ ।” मुखिया शाहीले भने, “सरकारका ठूला मान्छेसँग संविधान दिवस मनाउन पाउँदा खुशी लाग्याछ । यहाँका जुन्तासँग दिवस मनाउन आया हौँ ।”

सफा कपडा लगाएको, पढेको, चिल्लो र फुर्तिलो दुनियाँभन्दा आफ्नो पहिचान माथि रहेको उउनले बताए । राउटे संस्कार, पहिचान र रहनसहन फेरबदल हुनुले अस्तित्व सङ्कटमा पर्ने चिन्ता रहेको मुखिया शाहीको भनाइ थियो ।

दिवस समारोहमा कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले राउटे, कुसुण्डा जातिको हितमा सरकारले काम गर्नुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?