बागमतीका ३३ निर्वाचन क्षेत्रको नालिबेली, कहाँ को बलियो ?

प्रकाश पुडासैनी

जब निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश निर्वाचन मिति घोषणा गर्यो । योसँगै देशमा निर्वाचनको पर्व सुरु भयो । गाउँदेखि सहरसम्मका कुन क्षेत्रमा को उम्मेदवार बन्ला र कसले जित्ला भन्ने आँकलन सुरु भइसकेका छन् ।

यी र यस्तै चर्चाको शिखरमा छ बागमती प्रदेश पनि । नहोस् पनि किन ? १३ जिल्ला सम्मिलित प्रदेशमा ३३ वटा प्रतिनिधि सभा क्षेत्र हुनु, अनि संघीय राजधानी यही प्रदेशमा पर्नुले अन्य प्रदेशको तुलनामा यहाँको चासो बढी हुनु स्वभाविकै हो ।

कुन जिल्लामा कति क्षेत्र ?

यस प्रदेशमा पर्ने रसुवा, दोलखा र रामेछापमा एउटामात्र निर्वाचन क्षेत्र छ । त्यसैगरी नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली र भक्तपुरमा २–२ वटा निर्वाचन क्षेत्र रहेका छन् भने ललितपुर र चितवनमा ३–३ वटा निर्वाचन क्षेत्र छन् ।

यसपाली नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीसहित ५ दलीय गठबन्धन मिलेर निर्वाचनमा जाने तयारीमा छन् । यता प्रतिपक्षी दल नेकपा एमाले साना दलसँग मिलेर निर्वाचनमा होमिने सुरसार कस्दैछ ।

यद्यपी, स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको आधारमा एमाले बागमती प्रदेश भरी १० निर्वाचन क्षेत्रमा मात्रै अघि देखिन्छ । जसको परिणामले बागमतीमा एमालेलाई जित निकाल्न २०७४ को जस्तो सहज भने छैन । किनकी त्यतिबेला उसको साथमा रहेको माओवादी यतिबेला पाँच दलीय गठबन्धनमा छ ।

यस्तो छ अघिल्लो निर्वाचनको अंकगणित

२०७४ सालको निर्वाचनमा बागमती प्रदेशको ३३ संघीय निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले मात्रै २० स्थानमा जित निकालेको थियो । तर, यो नतिजा निक्लनुको पनि कारण छ । त्यो हो– माओवादी–एमाले बामपन्थी गठबन्धन ।
यही गठबन्धनले नेपाली कांग्रेसलाई ५ वटा क्षेत्रमा मात्र जित निकाल्यो भने गठबन्धनकै बलमा नेकपा माओवादी केन्द्रले ७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो ।

जसमध्ये भक्तपुर–१ म नेपाल मजदु्र किसान पार्टीले जित निकालेको थियो ।

उसो त अघिल्लो निर्वाचनले एमालेका लागि फलिफाप भयो । यद्यपि, ठीक ५ वर्षपछि परिस्थिति उल्टो बनेको छ । त्यसैले मंसिरको ४ को निर्वाचन एमालेका लागि फलामको चिउरा हुने देखिएको छ । भने, यतिबेला गठबन्धनभित्र टिकटको किचलोले कठिन परिरहेको देखिन्छ ।

कहाँ को बलियो ?

काठमाडौं

अघिल्लो निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमध्ये एमालेले मात्रै ६ स्थानमा जित हासिल गरेको थियो । माओवादी केन्द्रको समेत साथ रहेका कारण एमालेले सहज रुपमा जित हासिल गरेको हो । तर, हाल माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी नरहेको कारण यो जित निकाल्न एमालेलाई असहज देखिन्छ ।
क्षेत्र नं २ र क्षेत्र नं ८ बाट निर्वाचित सांसदहरु एकीकृत समाजवादीमा छन् । भने अन्य क्षेत्रमा पनि माओवादी र एकीकृत समाजवादीले साथ दिएको खण्डमा कांग्रेसले जित निकाल्न सक्छ ।

गत स्थानीय तह निर्वाचनको परिणाम अनुसार काठमाडौंका ७ वटा क्षेत्रमा नेपाली कांग्रेसका वडाध्यक्षहरुले ल्याएको मत बढी छ । भने, नेकपा एमालेबाट उम्मेदवार बनेका वडाध्यक्षहरुले ३ स्थानमा मात्रै अघि छन् ।
काठमाडौंको १० वटा क्षेत्रमध्ये क्षेत्र नं २, ४ र ५ मा मात्रै एमालेको अग्रता देखिन्छ । अन्य क्षेत्रमा कांग्रेसको अग्रता छ । आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेको अवस्थामा पनि अघिल्लो निर्वाचनमा भन्दा नतिजा सुधार गर्ने संकेत देखिन्छ ।

भक्तपुर

भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमध्ये ०७४ को निर्वाचनमा क्षेत्र नं १ नेमकिपा र क्षेत्र नं २ मा एमालेले जित हासिल गरेको थियो । क्षेत्र नं १ मा अझै पनि नेमकिपा बलियो छ, भने क्षेत्र नं २ मा एकीकृत समाजवादीले एमालेको साथ छोड्दा एमालेलाई जित हासिल गर्न कठिन पर्ने देखिन्छ । स्थानीय निर्वाचनको कुरा गर्ने हो भने क्षेत्र नं १ मा नेमकिपाबाट वडाध्यक्षका उम्मेदवारहरुले ल्याएको मत धेरै देखिन्छ । भने क्षेत्र नं २ नेपाली कांग्रेसका वडाध्यक्षहरुले पाएको मत धेरै देखिन्छ । यसरी वडाध्यक्षहरुले पाएको मतको आंकलन गर्दा क्षेत्र नं २ अन्य दलको समेत साथ पाउने अवस्थामा गठबन्धनका उम्मेदवारले जित हासिल गर्न सहज हुने देखिन्छ ।

ललितपुर

०७४ को निर्वाचनमा ललितपुरका तीन क्षेत्रमध्ये १ र २ मा नेकपा एमाले र क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रले जित निकाल्यो । यद्यपि, गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत परिणामका आधारमा हेर्ने हो भने तीनै क्षेत्रमा कांग्रेस अघि देखिन्छ । पछि–पछिएमालेले पच्छ्याए पनि यता माओवादी र एकीकृत समाजवादीको मत जोड हुँदा गठबन्धनलाई निकै सहज पर्ने देखिन्छ ।

काभ्रेपलाञ्चोक

०७४ को निर्वाचनमा कांग्रेस निल भएको अर्को जिल्ला हो–काभ्रेपलाञ्चोक । दुई निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नम्बर १ मा माओवादी केन्द्र र क्षेत्र नं २ मा एमालेका उम्मेदवारले जित हासिल गरेका थिए ।

क्षेत्र नं १ मा कांग्रेससहितको मत लिँदा गठबन्धन अघि देखिन्छ । क्षेत्र नं २ एमालेको किल्ला मानिए पनि प्रदेशमा जित हासिल गरेका प्रभावशाली नेताहरु एकीकृत समाजवादीमा गएका कारण त्यति सहज देखिँदैन् । २०६४ मा माओवादीको दबदबा रहेको अवस्थामा समेत एमालेले जित निकालेको क्षेत्र हो, यो । तर, त्यतिबेला प्रभाव राख्ने नेताहरु एमालेमा नहुनुले पनि कठिन परिस्थिति सिर्जना हुने देखिन्छ ।

स्थानीय निर्वाचनलाई हेर्दा क्षेत्र नम्बर १ मा कांग्रेस अघि देखिन्छ । यद्यपि, २ मा भने एमाले नै अघि छ । तर, दुवै क्षेत्रमा गठबन्धन भएको अवस्थामा एमाललेलाई गतिलो धक्का लाग्ने पक्का छ ।

सिन्धुपाल्चोक

२०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोकको दुवै निर्वाचन क्षेत्रमा तत्कालिन बाम गठबन्धनका उम्मेदवारले जित हासिल गरे । क्षेत्र नं १ मा नेकपा माओवादी र क्षेत्र नं २ मा एमालेले जित हासिल गरेको थियो । क्षेत्र नं १ मा आगामी निर्वाचनमा यसअघि प्रतिष्पर्धा गरेका दुवै नेटताहरु गठबन्धनमा रहेका कारण दुई मध्ये एकले टिकट पाउँदा गठबन्धनलाई जित निकाल्न सहज पर्ने देखिन्छ । यता क्षेत्र नं २ मा तत्कालिन समयमा कांग्रेसले राप्रपालाई सहयोग गरे पनि जित भने एमालेको भएको थियो ।

गत स्थानीय निर्वाचनमा कांग्रेस माओवादी गठबन्धन भनिए पनि सिन्धुपाल्चोकका धेरै स्थानीय तहमा मित्रवत प्रतिष्पर्धा भएको थियो । जसअनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका वडाध्यक्षहरुले ल्याएको मत धेरै छ । भने क्षेत्र नं २ मा नेकपा एमाले अघि छ ।

दोलखा

एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा ०७४ को निर्वाचनमा एमालेले जित निकालेको थियो । त्यतिबेला झण्डै २५ हजार मतान्तरले विजयी भएको एमाले अहिले पनि बलियो छ । जसलाई गत स्थानीय निर्वाचनको परिणामले पनि पुष्टि गर्छ ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले प्रात मत परिणामका आधारमा एमाले माथि छ । त्यसैले गठबन्धन भएकै अवस्थामा पनि दोलखामा एमालेलाई सहज देखिन्छ ।

नुवाकोट

निर्वाचनका बेलामा चर्चामा रहेने जिल्ला मध्ये नुवाकोट पनि एक हो । यो जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरु राष्ट्रिय राजनीतमा समेत प्रतिनिधित्व गर्ने भएकाले यहाँको निर्वाचनलाई विशेष रुपमा हेरिन्छ ।

२ वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा यसअघि दुवैमा बाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका थिए । नेपाली कांग्रेसको राम्रो पकड रहेको जिल्ला भए पनि २०७४ को निर्वाचनमा बाम गठबन्धनका कारण दुवै क्षेत्र कांग्रेसले गुमाउन पर्यो । त्यतिबेला क्षेत्र नं १ मा माओवादी केन्द्र र क्षेत्र नं २ मा नेकपा एमालेले जित हासिल गरेको थियो । तर, आगामी निर्वाचनमा गठबन्धन नभइ एकल निर्वाचनमा होमिएको अवस्थामा कांग्रेसलाई सहज छ । जसलाई गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षले पाएको मतले पनि पुष्टि गर्छ । त्यसको साथै क्षेत्र नं १ मा एमाले तेस्रो नम्बर र २ नं क्षेत्रमा एमाले दोस्रो नम्बरमा छ । त्यसैले आगामी निर्वाचनमा नुवाकोटमा एमालेलाई कठिन देखिन्छ ।

चितवन

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा ०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्र बाम गठबन्धनले बाजी मारेको थियो । यद्यपि, आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर गएको अवस्थामा पनि एमालेसँग तीव्र प्रष्तिपर्धा हुने देखिन्छ ।
आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुरानै क्षेत्र अर्थात क्षेत्र नं ३ बाट लड्ने तयारीमा छन् । त्यसैले यो क्षेत्रको निर्वाचनलाई चासोका साथ हेरिन थालेको छ । साथै, गठबन्धनले अन्य दुई क्षेत्रमा जित निकाल्नका लागि बलिया उम्मेदवार उठाउने तयारी गरेको छ । गत स्थानीय तहको निर्वाचनको कुरा गर्ने हो भने तीन वटै निर्वाचन क्षेत्रमा एमालेका वडाध्यक्षहरुको मत अगाडि छ । दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । यद्यपि, एमाले–कांग्रेसको मतान्तर भने धेरै छ । जसका कारण गठबन्धनलाई चितवनमा एमालेसँग जुध्न त्यति सहज भने छैन ।

धादिङ

धादिङलाई एमालेले आफ्नो भोट बैंक नै ठान्छ । उसो त ०७४ को निर्वाचनमा राम्रो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी भए । तर, अहिले एमालेमा फुटको असर छ । जिल्लाका प्रभावशाली नेताहरु एकीकृत समाजवादीमा जानुले पनि यसपाली धादिङमा एमालेलाई कठिन देखिन्छ ।

यद्यपी, गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा भने एमाले क्षेत्र नम्बर १ मा अघि छ । यो क्षेत्रमा दोस्रोमा माओवादी केन्द्रका वडाध्यक्षहरुले प्राप्त गरेको मत र तेस्रोमा कांग्रेस छ ।

त्यस्तै, क्षेत्र नम्बर २ मा कांग्रेस अघि छ । एमालेसँग ४ हजार हाराहारी मतान्तरमा रहे पनि अन्य दलको साथ हुँदा एमालेसँग प्रतिष्पर्धा रोचक बन्ने देखिन्छ ।

आगामी निर्वाचनमा बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङबाट प्रतिष्पर्धा गर्ने तयारीमा छन् । जसकारण एमालेलाई सकस पर्ने देखिन्छ ।

रसुवा

एउटामात्र निर्वाचन क्षेत्र रहेको रसुवामा ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेको थिए । गत स्थानीय निर्वाचनको मत परिणामको आधारमा पनि कांग्रेस नै अघि देखिन्छ । त्यसैले यो क्षेत्रमा गठबन्धनलाई सहज दखिन्छ ।

सिन्धुली

२०७४ को आम निर्वाचनमा सिन्धुलीको दुवै क्षेत्रमा तत्कालिन बाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका थिए । क्षेत्र नं १ मा नेकपा एमाले र क्षेत्र नं २ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।

क्षेत्र नं १ मा १० हजार मतान्तरसहित एमाले विजयी भएको थियो । त्यस्तै, क्षेत्र नं २ मा कुरा गर्दा माओवादी केन्द्रका उम्मेदवारसँगले झण्डै १२ हजारको मतान्तरसहित कांग्रेस पराजित भएको थियो ।

यद्यपी, अहिलेको पाँच दलीय गठबन्धनका कारण एमाले धरापमा परेको छ । यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरक्षित स्थान खोजिरहँदा सिन्धुलीबाट पनि उठ्न चर्चा छ ।

स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा क्षेत्र नं १ मा वडाध्यक्षले पाएको कुल मतको आधारमा नेपाली कांग्रेस अघि छ । झण्डै एक हजार मतान्तरले मात्र दोस्रो स्थानमा छ, एमाले । तेस्रोमा नेकपा माओवादी केन्द्र छ ।

त्यस्तै क्षेत्र नं २ मा वडाध्यक्षहरुले पाएको मतको आधारमा एमाले अघि छ । यहाँ माओवादी दोस्रो स्थानमा छ भने कांग्रेस तेस्रो स्थानमा छ । त्यस्तै जसपा चौथो स्थानमा छ । एकीकृत समाजवादी जम्मा ३५ मतसहित राप्रपा भन्दा पछाडि छ । यसरी हेर्दा दुवै क्षेत्रमा गठबन्धन गरेर जाँदा पनि नतिजा निकाल्न गठबनधनलाई त्यति सहज भने छैन ।

रामेछाप

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा ०७४ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारले विजयी हासिल गरेका थिए । त्यतिबेला ७ हजार मतान्तरसहित कांग्रेस पराजित भएको थियो ।

यद्यपी, यसपाली माओवादी केन्द्र पाँच दलीय गठबन्धनमा रहेकाले गठबन्धनका उम्मेदवारको जित सहज देखिन्छ । यता स्थानीय तहको निर्वाचन मत परिणामका आधारमा रामेछापमा कांग्रेस अघि देखिन्छ ।

मकवानपुर

२०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका तर्फबाट मकवानपुरको दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरुले जित हासिल गरेका थिए । क्षेत्र नं १ मा कांग्रेससँगको सहकार्यमा राप्रपाले बाम गठबन्धनसँग प्रतिष्पर्धा गरेको थियो ।

यद्यपी क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धन बाम गठबन्धनसँग पराजित हुन पुगेको थियो । यता क्षेत्र नं २ मा बाम गठबन्धनका उम्मेदवारले झण्डै १२ हजारको मतान्तरसहित एमालेले जित हासिल गरेको थियो । क्षेत्र नं २ मा आगामी निर्वाचनमा गठबन्धनलाई टिकट भागबण्डा मिलाउन कठिन पर्ने देखिन्छ । किनकी, अघिल्लो निर्वाचनमा प्रतिष्पर्धी दुवै नेताहरु एउटै गठबन्धनमा भएका कारण गठबन्धनलाई सकस पर्ने देखिन्छ ।

स्थानीय निर्वाचनको मत परिणामका आधारमा पनि दुवै क्षेत्रमा एमाले बलियो देखिन्छ । मकवानपुरमा तत्कालिन नेकपा विभाजन हुँदा एमालेका धेरै नेताहरु एकीकृत समाजवादीमा गएका कारण पनि एमालेलाई केही गाह्रो भने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?