राजधानी र प्रदेश नामांकरणको विषयलाई लिएर ‘धनगढी’ आन्दोलित

धनगढी । प्रदेशको नामाकरण र राजधानीको विषयलाई लिएर प्रदेश ७ का बासिन्दा बिहीवार पनि आन्दोलित भएका छन् । 

प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासी आन्दोलित भएका हुन् । उनीहरुले धनगढीमा रहेको अस्थायी राजधानी कुनैपनि हालतमा अन्यन्त्र सार्न नदिने अडान लिएका छन् ।  

प्रदेश राजधानी र नामांकरणका लागि सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा सदस्य तारा लामा तामाङ संयोजकत्वमा गठन गरेको संसदीय विशेष समितिले प्रदेश नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नागरपालिका–४ मा रहेको तेघरीलाई राख्ने प्रस्ताव सदनमा पेश गरेपछि आन्दोलन चर्किएको हो । 

बुधबार पनि अस्थायी राजधानी धनगढीमा नागरिक समाजको अगुवाइमा प्रदेशसभा भवनको मूल गेटमै विरोध प्रदर्शन गरिएको थियो । प्रदेशसभामा प्रदेश ७ को राजधानी र नामांकरणका विषयमा छलफल चलिरहेका बेला गेटमा सर्वसाधारणले टायर बालेर चर्का नाराबाजी गर्दै विरोध प्रर्दशन गरेका थिए । 

धनगढी नगरबासीले अर्बौं लगानी  खर्चेर अस्थायी राजधानी धनगढीको निर्माण भइसकेको अवस्थामा अन्य स्थानमा राजधानी सार्दा अझ खर्च बढ्ने तर्क अगाडी सारेका छन् । 

यस अघिको क्षेत्रीय सदमुकाम दिपायलबाट धनगढीमा राजधानी सार्ने प्रस्ताव गरे सँगै दिपायलमा रहेका अर्बौंका रकम खर्च गरि निर्माण गरिएका भौतिक संरचना प्रयोग विहिन अवस्थामा रहेका छन् । 

धनगढी बजारका अधिकांश पसल बन्द छन् भने सुदूरपश्चिम यातायात, मालिका यातायात, कर्णाली रिभर साइड यातायात लगायत सार्वजनिक यातायतका सम्पूर्ण सवारी साधनहरु बिहीवार  बिहानैदेखि चलेका छैनन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?