फर्केर हेर्दा ०७४ निर्वाचन : कति थियो कांग्रेसबाट निर्वाचित २३ सांसदको मतान्तर ?

प्रकाश पुडासैनी

संसदको प्रमुख प्रतिपक्ष दल– नेपाली कांग्रेस । प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फका ४० जना प्रतिनिधिसभा सदस्यसहित संसद छिरेको कांग्रेस यतिबेला सरकारको नेतृत्वमा छ ।

२०७४ को निर्वाचनबाट तत्कालिन बाम गठबन्धनलाई जनताले पाँच वर्ष सरकार चलाउने म्याण्डेटसहित संसद छिराए । तर, तत्कालिन नेकपाले सत्ता टिकाउन सकेन । उसो त, सरकार चलाउने अभिभारा कांग्रेसको हातमा आयो । र, कांग्रेससहित पाँचदलीय गठबन्धनले यतिबेला मुलुकको शासन सत्ता चलाइरहेका छन् ।

बाम गठबन्धनले बढारिएको कांग्रेस !

२०७४ को निर्वाचन परिणामलाई एकपटक फर्केर हेर्ने हो भने तत्कालिन बाम गठबन्धनको हुरीले कांग्रेसलाई बढारेकै हो । २०४८ सालदेखि पक्कड मानिएका कतिपय ठाउँमा कांग्रेसले साख जोगाउन सकेन । २०६४ सालमा माओवादीको दबदबा रहेको अवस्थामा समेत जित निकालेको कतिपय क्षेत्रमा त्यतिबेला गुमाउनु पर्यो ।

बाम गठबन्धनका कारण कुनै प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नेहरुमा कांग्रेस निल जस्तै थियो । गण्डकी प्रदेशको कुरा गर्ने हो भने कांग्रेस झण्डै निलको अवस्थामा पुगेको थियो । नवलपुर पूर्वमा १ सिट जितेर प्रदेशमा इज्जत जोगाएको थियो, कांग्रेसले । त्यस्तै बागमती प्रदेशको ३३ वटा प्रतिनिधि सभा क्षेत्र रहेकामध्ये ५ वटा क्षेत्रमा मात्र जित निकाल्यो । अन्य प्रदेशमा पनि कांग्रेसको उपस्थिती राम्रो थिएन ।

तर, त्यतिबेला कांग्रेसले जित निकालेको २३ वटा क्षेत्रको अवस्था कस्तो थियो ? कति मतान्तरमा बाम गठबन्धनलाई कांग्रेसका उम्मेदवारले पछारे ? एकपटक हेरौं,

कहाँ कसले जिते कति थियो मतान्तर ?

शेरबहादुर देउवा

२०७४ को निर्वाचनमा बाम गठबन्धनलाई पराजित गर्दै जित हासिल गर्ने अर्का पात्र हुन्, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । २०७४ को निर्वाचनमा देउवाले डडेलधुरा क्षेत्र नं १ बाट २८ हजार ४ सय ४६ मतसहित जित हासिल गरेका थिए ।

उनका निकटतमा प्रतिद्धन्दी बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४ सय ९८ मत प्राप्त गरेका थिए ।

स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवारले व्यापक मतान्तरसहित अघि देखिएका छन् । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले पाएको कुल मत २१,७५३, माओवादीले १२, ८७८, एमालेले १०,४४९, एकीकृत समाजवादीले ५,०४१, राप्रपाले ७४१ मत प्राप्त गरेका छन् ।

प्रकाशमान सिंह

२०७४ को निर्वाचनमा जित हासिल गर्ने मध्येका एक हुन्, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह । सिंहले काठमाडौं क्षेत्र नं १ बाट १० हजार ९ सय ३६ मत प्राप्त गरेका थिए । भने उनका निकटतम प्रतिद्धन्दी विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रले १० हजार १ सय १८ मत ल्याएका थिए । यता बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अनिल कुमार शर्मा ५ हजार ३ सय ३६ मतमै सिमित भए ।

यता स्थानीय निर्वाचनको मत परिणामको आधारमा पनि नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३ सय मतले अघि छन् । कांग्रेसले ९ हजार ८ सय ९५, एमालेले ९ हजार ५ सय ४१, राप्रपाले १ हजार ३ सय ७६ र माओवादीले १ हजार १ सय ५९ मत प्राप्त गरेका छन् ।

गगनकुमार थापा

२०७४ को निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै जित निकाल्ने नेपाली कांग्रेसका अर्का पात्र हुन्– गगनकुमार थापा । थापाले काठमाडौंको क्षेत्र नं ४ बाट ३ हजारको मतान्तरसहित जित हासिल गरेका थिए । थापाले २१ हजार ५ सय ५८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका राजन भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका थिए । सो समयमा क्षेत्र नं ४ लाई विशेष रुपमा हेरिएको थियो ।

काठमाडौं क्षेत्र नं ४ मा स्थानीय निर्वाचनमा भने नेपाली कांग्रेसका वडाध्यक्षहरुले ल्याएको मतको आधारमा कांग्रेस दोस्रो स्थानमा रहेको छ । सो क्षेत्रमा नेकपा एमालेले १६ हजार ६ सय ७, कांग्रेसले १५ हजार ७ सय ६३, एसले २ हजार ४ सय १४, राप्रपाले २ हजार २ सय ९३, माओवादी केन्द्रले ८ सय ४४ र जसपाले ३ सय १४ मत प्राप्त गरेका छन् ।

भिमसेनदास प्रधान

२०७४ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधानले जित हासिल गरे । उनले उनका निकटतम प्रतिद्धन्दी बाम गठबन्धनले अघि सारेको माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई १ हजार भन्दा बढी मतान्तरसहित पराजित गरे । प्रधानले १६ हजार ७ सय ८५ मत प्राप्त गरेका थिए भने सुवेदीले १५ हजार ४ सय ८५ मत प्राप्त गरेका थिए ।

गत स्थानीय निर्वाचनमा पनि सो क्षेत्रमा नेपाली कांग्रेसका वडाध्यक्षहरुले पाएको मत एमाले भन्दा ३ हजारले बढी छ । सो क्षेत्रमा नेपाली कांग्रेसले १७ हजार २ सय ७७, एमालेले १४ हजार ३ सय ३, माओवादी केन्द्रले २ हजार ४ सय ६२, एकीकृत समाजवादीले १ हजार ८ सय ५९, राप्रपाले १ हजार ८ सय १६ मत प्राप्त गरेका छन् ।

डा. मिनेन्द्र रिजाल

२०७४ को निर्वाचनमा बाम गठबन्धनलाई हराएर प्रत्यक्षमा निर्वाचित हुने पात्र हुन्– कांग्रेस नेता डा. मिनेन्द्र रिजाल । रिजाल मोरङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । सो समयमा रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गरी संसद छिर्ने ढोका उघारेका थिए । उनका निकटतम प्रतिद्धन्दी तत्कालिन बाम गठबन्धनबाट नेकपा एमालेका ऋषीकेश पोखरेलले ३४ हजार १४ मतमै सिमित भए ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका आधारमा भने यो क्षेत्रमा कांग्रेस दोस्रो स्थानमा छ । सो निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतपरिणामका आधारमा एमाले पहिलो स्थानमा छ । जसमा एमालेका वडाध्यक्षहरुले कुल ३२ हजार ३ सय ६६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले कुल ३१ हजार ४ सय १३ मत प्राप्त गरेका छन् । त्यसो त गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले जम्मा ६ हजार ५ सय ८३, यता एकीकृत समाजवादीले १ हजार ९३ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाको मत २ हजार ८ सय ९० छ ।

मोहन आचार्य

बामगती प्रदेश अन्तर्गतको जिल्ला रसुवामा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका थिए । तत्कालिन बाम गठबन्धनका उम्मेदवार जनार्दन ढकाललाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले जित निकालेका थिए । आचार्यले १४ हजार ४ सय ५३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी ढकालले १० हजार २ सय ७८ मत प्राप्त गरेका थिए ।

स्थानीय निर्वाचनको मतको आधारमा पनि नेपाली कांग्रेस अघि रहेको छ । रसुवामा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षहरुले पाएको मत ११ हजार ८ सय ३९, नेकपा एमालेको मत ११ हजार ४०, माओवादी केन्द्रको ४ हजार ३ सय ९२ र जसपाले ५ सय ६८ रहेको छ । त्यसो हुुँदा आगामी निर्वाचनमा पनि कांग्रेसलाई सहज पर्ने देखिन्छ ।

ज्ञानेन्द्र बहादुर कार्की

त्यसैगरी २०७४ को निर्वाचनमा बाम गठबन्धनको दबदबालाई चिर्दै जित निकाल्ने अर्का पात्र हुन्, ज्ञानेन्द्र बहादुर कार्की । हाल नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्कीले सुनसरी क्षेत्र नं ४ बाट ७ हजारको मतान्तरसहित जित हासिल गरेका थिए । सो समयमा कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गरेका थिए ।

यता स्थानीय निर्वाचनको मतको आधारमा पनि यो क्षेत्रमा नेपाली कांग्रेस नै अघि छ । वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेसका उम्मेदवारले २८ हजार ७ सय ५६, एमालेका उम्मेदवारले २३ हजार ६ सय १३, जसपाले ९ हजार ८ सय ६३, एकीकृत समाजवादीले ३ हजार ७ सय, माओवादी केन्द्रले ३ हजार ६ सय ४६ र राप्रपाले ३ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् ।

स्व. प्रदीप गिरी

२०७४ सालको आम निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई हराउँदै जित आफ्नो पोल्टामा पार्न सफल कांग्रेसका अर्का पात्र हुन् नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरी । २०७४ को निर्वाचनमा गिरीले सिराहा क्षेत्र नं १ बाट २३ हजार ९ सय ५१ मतसहित जित हासिल गरेका थिए । सो समयमा उनका निकटतम प्रतिद्धन्दी बाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३ सय ७१ मत ल्याएका थिए । भने संघीय समाजवादी फोरमका उम्मेदवार राजलाल यादवले १३ हजार ३ सय ५१ मत प्राप्त गरेका थिए ।

त्यसो त स्थानीय तहको निर्वाचनको मतको आधारमा पनि क्षेत्र नं १ मा नेपाली कांग्रेस नै अघि छ । नेपाली कांग्रेसका उम्मेदवारले २० हजार ७ सय ८७, एमालेका उम्मेदवारले १६ हजार १ सय ५२, जसपाले ११ हजार ४ सय ५१, एकीकृत समाजवादीले ७ हजार ४ सय ८६, माओवादी केन्द्रले ३ हजार ९ सय ९८ ले मत प्राप्त गरेका छन् ।

डा. नारायण खड्का

सरकारका परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्का २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ जित निकाल्ने २३ सांसदमध्येका एक हुन् । उदयपुर क्षेत्र नं १ बाट निर्वाचित खड्काले थोरै मतान्तरसहित विजयी भएका थिए । सो समयमा खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी मन्जुकुमार चौधरीले ३२ हजार ५ सय ९४ मत ल्याएकी थिइन् ।

यता स्थानीय निर्वाचनको कुरा गर्ने हो भने सो क्षेत्रमा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवारहरुले ल्याएको मत धेरै छ । एमालेले २१ हजार ६ सय ५२, नेपाली कांग्रेसले २० हजार ७ सय ५७, माओवादी केन्द्रले ८ हजार १ सय ७९, जसपाले २ हजार ४ सय २९, एकीकृत समाजवादीले १ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् ।

विजयकुमार गच्छादार

विजयकुमार गच्छादारले २०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका थिए । सुनसरी क्षेत्र नं ३ बाट गच्छादारले थोरै मतान्तरसहित जित निकालेका थिए । उनले तत्कालिन बाम गठबन्धनका उम्मेदवार नेकपा एमालेकी भगवती चौधरीलाई हराएका हुन् । गच्छादारले ३८ हजार ९ सय १२ मत प्राप्त गरेका थिए भने चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी थिइन् ।

गत आम निर्वाचनमा सो क्षेत्रमा कांग्रेसले जिते पनि स्थानीय निर्वाचनमा भने एमालेका वडाध्यक्षहरुले पाएको मत धेरै रहेको छ । एमालेले ३५ हजार ५३, कांग्रेसले ३३ हजार ५ सय ७१, जसपा ५ हजार ५ सय १६, माओवादी केन्द्रको ३ हजार ८ सय, एकीकृत समाजवादीले ६ सय ६२ मत प्राप्त गरेका थिए ।

तेजुलाल चौधरी

प्रदेश नं २ अन्तर्गतको जिल्ला सप्तरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरीले जित हासिल गरेका थिए । तत्कालिन राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई १० हजार बढी मतान्तरले विजयी भएका हुन्, यादव । उनले २४ हजार १ सय १३ मत ल्याइरहँदा उनका निकटतम प्रतिद्धन्दी राजपाका उम्मेदवार मृगेन्द्र कुमार सिंह यादव जम्मा १४ हजार ८ सय ८६ मा सिमित भए । यता बाम गठबन्धनबाट उम्मेद.वार बनेका नेकपा एमालेका मोहम्मद इस्लामले १४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए ।

गत स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका वडाध्यक्षहरुले पाएको मत धेरै रहेको छ । क्षेत्र नं ४ मा नेपाली कांग्रेसले १६ हजार ९ सय ७५, जसपाले १५ हजार ६ सय ८२, एमालेले १० हजार ४४, एकीकृत समाजवादी ले ८ हजार ४ सय ५०, माओवादी केन्द्रले ६ हजार ९ सय २० मत प्राप्त गरेका छन् ।

अमरेशकुमार सिंह

२०७४ को निर्वाचनमा सर्लाही क्षेत्र नं ४ बाट अमरेशकुमार सिंहले सामान्य मतान्तरहित जित हासिल गरेका थिए । उनले २९ हजार ६ सय ७५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्धन्दी तत्कालिन राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेश कुमार मिश्रले २८ हजार १ सय ३६ मत ल्याएका थिए । मिश्रलाई तत्कालिन बाम गठबन्धनको समेत साथ थियो । स्थानीय निर्वाचनको मतको आधारमा पनि सो क्षेत्रमा ५ हजारभन्दा बढीले नेपाली कांग्रेस नै अघि रहेको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २३ हजार १ सय ३१, माओवादीले १८ हजार ६ सय १५, लोसपाले १४ हजार, ७ सय ३१, एमालेले ११ हजार ६ सय ७४ र जसपाले ६ हजार ४ सय ३३ मत प्राप्त गरेका छन् ।

राजेन्द्र कुमार केसी

२०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई पछार्दै जित्ने पात्र हुन् ने्पाली कांग्रेसका नेता राजेन्द्र कुुमार केसी । केसीले काठमाडौं क्षेत्र नं १० बाट ३ हजार मतान्तरसहित बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हितमान शाक्यलाई पराजित गरेका थिन् । केसीले २४ हजार १ सय ९० मत प्राप्त गरेका थिए भने शाक्य २१ हजार ९ सय ७ मतमै सिमित भएका थिए ।

यता स्थानीय निर्वाचनको मतको आधारमा पनि वडाध्यक्षहरुले पाएको मत एमाले भन्दा ६ हजारले बढी छ । सो क्षेत्रमा नेपाली कांग्रेसले २४ हजार ६ सय ७५, एमालेले १८ हजार ८ सय ३८, माओवादीले ४ हजार ९ सय ४२, राप्रपाले २ हजार ४ सय ९६ र एसले १ हजार ३ सय ४२ रहेको छ ।

मोहम्मत अफ्ताव आलम

गत निर्वाचनमा नेपाली कांग्रेसबाट प्रत्यक्ष चुनाव जित्ने अर्का नेता हुन् मोहम्मत अफ्ताव आलम । २०७४ को निर्वाचनमा रौतहट क्षेत्र नं २ बाट निर्वाचित उनले १८ हजार ८ सय ३३ मत प्राप्त गरेका थिए । भने उनका निकटतम प्रतिद्धन्दी तत्कालिन संघीय समाजवादी फोरम नेपालका किरण कुमार शाहले १६ हजार ८ सय ६५ मत प्राप्त गरेका थिए । त्यसो त गठबनधन गरेर निर्वाचनमा होमिएका बाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका मो. मुस्ताक आलमले १३ हजार ८ सय ८३ मत प्राप्त गरेका थिए । सांसद आलम भने कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका छन् ।

स्थानीय निर्वाचनको मतको आधारमा अहिले पनि नेपाली कांग्रेस अघि छ । कांग्रेसले २० हजार ४ सय ७, एमालेले १६ हजार १ सय ५९, जसपाले ११ हजार ५ सय २४, एसले १० हजार २ सय ७६ र माओवादी केन्द्रले ८ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।

देवप्रसाद तिमल्सिना

२०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुने अर्का पात्र हुन् देव प्रसाद तिमल्सिना । तिमल्सिनाले रौतहट क्षेत्र नं ४ बाट तत्कालिन बाम गठबन्धनका उम्मेदवारलाई ५ हजारको मतान्तरसहित हराएका थिए । उनले २८ हजार २ सय २८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी बाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका डा. बंशीधर मिश्र २३ हजार ६ मतमै अड्किए ।

स्थानीय निर्वाचनको आधारमा यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले पाएको मत धेरै रहेको छ । नेपाली कांग्रेसले २४ हजार १ सय ५१, एकीकृत समाजवादीले १५ हजार ५ सय ३४, माओवादी केन्द्रले १५ हजार ३३, एमालेले १२ हजार ९ सय ७५, जसपाले ६ हजार १ सय ३४, राप्रपाले ६ सय १२ मत प्राप्त गरेको छ ।

उमाकान्त चौधरी

खानेपानी मन्त्रीसमेत रहेका कांग्रेस नेता उमाकान्त चौधरीले २०७४ को निर्वाचनमा प्रत्यक्षमा जित हासिल गरेका थिए । चौधरीले बारा क्षेत्र नं १ बाट २४ हजार ४ सय ५० मत प्राप्त गरेका थिए ।

त्यस्तै उनका निकटतम प्रतिद्धन्दी बामगठबन्धनबाट उम्मेदवार बनेका एमालेका अच्युतप्रसाद मैनालीले २२ हजार ३० मत प्राप्त गरेका थिए । यता २० हजार १ सय ४४ मतसहित राष्ट्रिय जनता पार्टीका राजकिशोर यादव तेस्रो स्थानमा रहे ।

स्थानीय तहको निर्वाचनको मतको आधारमा यो क्षेत्रमा नेपाली कांग्रेस अघि देखिन्छ । कांग्रेसका वडाध्यक्षहरुले ३२,३५६, एमालेले २५,८०८, लोसपा ९,५०५, माओवादी केन्द्रले ६,३४३ र जसपाले ६,१४३ मत प्राप्त गरेका थिए ।

डा. शशांक कोइराला

२०७४ को निर्वाचनमा गण्डकीबाट कांग्रेसका लागि प्रतिनिधि सभामा सिट जोगाउने पात्र हुन्– कांग्रेस नेता डा. शशांक कोइराला । अघिल्लो निर्वाचनमा डा. कोइरालाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को क्षेत्र नं १ बाट ४० हजार ६ सय २० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्दी बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भविसोर पराजुलीले ३६ हजार ५ सय ९६ मत प्राप्त गरेका थिए ।

स्थानीय निर्वाचनको मतको परिणामको आधारमा पनि नेपाली कांग्रेस नै अघि रहेको छ । कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारले ४०,५११, एमालेले ३९,९५१, राप्रपाले २,३७३, माओवादी केन्द्रले १,९२१ म्त प्राप्त गरेको छ ।

प्रमोदकुमार यादव

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रत्यक्षमा निर्वाचन जित्ने अर्का पात्र हुन्, प्रमोदकुमार यादव । यादवले रुपन्देही क्षेत्र नं ४ बाट ११ हजारको मतान्तरसहित जित हासिल गरेका थिए । यादवले ३१ हजार ७ सय १८ मत प्राप्त गरेका थिए । यता उनका निकटतम प्रतिद्धन्दी तत्कालिन राष्ट्रिय जनता पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले २० हजार ४ सय १६ मत प्राप्त गरेका थिए । तर त्यहाँ बाम गठबन्धनका उम्मेदवारको भने कमजोर प्रस्तुती रहेको थियो ।

तर स्थानीय निर्वाचनमा भने सो क्षेत्रमा लोसपा अघि देखिन्छ । लोसपाबाट वडाध्यक्षमा उम्मेदवारले १६,२२६, नेपाली कांग्रेसले १५,६२७, जनमत पार्टीले ७,७३४, एमालेले ७,६०५ र जसपाले ७,४९७ मत प्राप्त गरेका थिए ।

देवेन्द्रराज कँडेल

आम निर्वाचन २०७४ मा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्षमा निर्वाचन जित्ने अर्का नेता हुन् देवेन्द्रराज कँडेल । कँडेलले नवलपरासी पश्चिम क्षेत्र नं २ बाट तत्कालिन बाम गठबन्धनका उम्मेदवारलाई ११ हजारको मतान्तरसहित जित हासिल गरेका थिए । सो समयमा ३४ हजार १ सय ३० मत प्राप्त गरेका थिए । उता उनका निकटतम प्रतिद्धन्दी बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका घनश्याम यादव अहिर २३ हजार ८ सय ९८ मतमै अल्झिए ।

सो क्षेत्रमा स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसका वडाध्यक्षहरुले पाएको मत धेरै रहेको छ । नेपाली कांग्रेसले २५,६८६, एमालेले २३,३४२, माओवादीले ९,१५१, राप्रपाले ८,८७८, जसपाले ७,३११ मत प्राप्त गरेका छन् ।

सञ्जयकुमार गौतम

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले बर्दीया क्षेत्र नं १ बाट प्रतिनिधि सभामा जित हासिल गरे । गौतमले थोरै मतान्तरसहित बाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका वामदेव गौतमलाई पराजित गरेका थिए । सञ्जयकुमारले ४४ हजार ८ सय २९ मत प्राप्त गरेका थिए । भने वामदेवले ४४ हजार ७६ मत प्राप्त गरेका थिए ।

यता स्थानीय निर्वाचनमा भने नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत धेरै रहेको छ । जहाँ एमालेले ३६,८१२, कांग्रेसले ३४,६२२, माओवादी २४,३४१, राप्रपाले ३,१९०, जसपाले २,२३७ र एकीकृत समाजवादीले १,६५२ मत प्राप्त गरेका छन् ।

अभिषेकप्रताप शाह

२०७४ को निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए नेपाली कांग्रेसका अभिषेक प्रताप शाह । सो निर्वाचनमा शाहले २० हजार १ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी संघीय समाजवादीका मंगल प्रसाद गुप्ताले १५ हजार ८ सय २६ मत प्राप्त गरेका थिए । यता बाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका ईश्वर दयाल गुप्ताले १४ हजार ३ सय ३० मत प्राप्त गरेका थिए । तर, स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत धेरै देखिन्छ । एमालेका वडाध्यक्षहरुले १८,७४७, कांग्रेसले १५,७७०, जसपाले ९,९७४, माओवादीले ६,८४४ र। राप्रपाले ६,०७४ मत प्राप्त गरेका थिए ।

भरतकुमार शाह

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित हुने अर्का पात्र हुन् नेपाली कांग्रेसका भरतकुमार शाह । शाहले सो निर्वाचनमा रुपन्देही क्षेत्र नं ५ बाट १३ हजार बढीको मतान्तरसहित जित हासिल गरेका थिए । उनले ३३ हजार ८८ मत प्राप्त गरेका थिए । यता उनका निकटतम प्रतिद्धन्दी बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले २० हजार ४ सय ३८ मत ल्याएका थिए ।

गत स्थानीय निर्वाचनमा भने एमालेबाट वडाध्यक्षका उम्मेदवारले २७,१४५ मतसहित अगाडि रहेको छ । यता नेपाली कांग्रेसका उम्मेदवारले २६,८८८, जसपाले ९,३३७, जनमत पार्टीले ५,६५६, माओवादीले ४,६२५ र लोसपाले ३,५५६ मत प्राप्त गरेका छन् । यता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीले १ हजार १ सय ६३ मत प्राप्त गरेका छन् ।

सिताराम महतो

०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नं २ बाट तत्कालिन बाम गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने नेपाली कांग्रेसका अर्का नेता हुन्, सिताराम महतो । महतोले ४१ हजार ४ सय ९५ मत प्राप्त गरेका थिए । भने उनका निकटतम प्रतिद्धन्दी बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका डम्बर सुवेदीले ३५ हजार ३ सय ४९ मत प्राप्त गरेका थिए ।

आम निर्वाचनमा कांग्रेसले जितेको सो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत अघि छ । सो क्षेत्रमा नेपाली कांग्रेसका वडाध्यक्षले पाएको मत ३७ हजार, ७ सय ३७ मत छ । त्यस्तै नेकपा एमालेले ३६ हजार ४ सय ७२, जसपाले ७ हजार ८ सय ५५ मत रहेको छ । यता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले जम्मा ३ हजार २ सय ५० मत प्राप्त गरेका थिए एकीकृत समाजवादीले २ हजार १ सय १९ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?