संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउने काम गर्‍यो : मुख्यमन्त्री राउत

जनकपुर । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउन कर्मचारी पठाउने लगायतको विषयमा असहयोग गरेको आरोप लगाएका छन् । 

सोमबार जनकपुरमा जल स्रोत तथा सिंचाई डिभिजन कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । 

संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले विकास निर्माणका कामलाई गति दिन नसकेको दाबी समेत गरेका छन् । उनले भने, ‘६ महिना पहिले हुनुपर्ने उद्घाटन आज भएको छ । संघीय सरकारले समयका कर्मचारी नै नपाठाएका कारण प्रदेश सरकारलाई काम गर्न समस्या भएको छ ।’

‘एकतन्त्रीय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनिधिहरु संघीयतालाई असफल बनाउन अग्रस्थानमा देखिएकाले मानसिकतामा परिवर्तन ल्याउन आवश्यक छ,’ उनले भने ।

भवन उद्घाटामा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र राज्यमन्त्री डिम्पल झाले पनि संघीय सरकारले असहयोग गर्दा प्रदेश कार्यालय सञ्चालनमा समस्या भएको समेत बताएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?