सांसद नविना लामाको व्यक्तिगत ‘इगो’ मा आईजीपी खनालको बर्खास्ती माग !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को भातृसंगठन अनेरास्ववियुले काभ्रेकी सांसद नविना लामा लगायतको समूहले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बर्खास्तीका लागि बुझाएको ज्ञापन–पत्र सांगठनिक नभई व्यक्तिगत ‘इगो’ मात्र भएको प्रष्ट पारेको छ । 

अनेरास्ववियुका महासचिव एैनबहादुर महरले लोकपथसँग भने, ‘त्यसमा हाम्रो संगठनको कुनै संलग्नता छैन, व्यक्तिगत रिसीइवी साँधेर उनी आइजीपी बर्खास्तीको ज्ञापनपत्र बोकेर गृह मन्त्रालय पुगेकी हुन् ।’ 

‘यस विषयमा संगठनको एक प्रेस विज्ञप्ति सार्वजनिक हुँदैछ, सोही विज्ञप्तिलाई आधार मान्नुहोला ।’, संगठनका महासचिव महरले भने । अहिलेको अवस्थामा आईजीपीलाई बर्खास्ती गर्नु वा हटाउनुको कुनै औचित्य नभएको पनि उनले स्पष्ट पारे ।

आईजीपी बर्खास्तीको ज्ञापनपत्र उनको व्यक्तिगत ‘इगो’ भएको भनाइ महरको छ । 

सत्यमान लामा काण्डदेखि माणिकलाल तामाङसम्म

काठमाडौं उपत्यकामा हुने गरेका श्रृङ्खलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई पक्राउ गरेको विरोधमा नेकपा काभे्रकी सांसद लामा प्रहरी संगठन नै बर्खास्तीको माग गर्दै गृहमन्त्रालय पुगेकी छिन् ।

रक्तचन्दन तस्करीबाट अपराध पृष्ठभूमि बनाएका सत्यमान पछिल्लो समय बुद्धचित्रको अवैध कारोबार र गुण्डागर्दीमा संलग्न थिए । सत्यमानलाई प्रहरीले पहिलोपटक पक्राउ पर्दा सांसद नविना नै महानगरीय प्रहरी परिसर टेकु पुगेर प्रहरीलाई दबाब दिँदै आफू नै जिम्मेवारीमा छुटाएकी थिइन् ।

तर, दोस्रोपटक पक्राउ पर्दा प्रहरीले नछोड्ने अडान लिएपछि हारगुहार गर्न नविना प्रहरी महानिरीक्षक खनाल कहाँ पुगेकी थिइन् । आईजीपी खनालले कानूनी कारवाही हुने बताएपछि प्रहरीको विरोधमा उत्रेकी थिइन् । 

तर, पछि नविनाले आफू नगई आफ्ना बुबा माणिकलाल तामाङलाई सत्यमानलाई छुटाउन खटाएकी थिइन् । माणिकलालले नै सत्यमानलाई १७ दिनको प्रहरी हिरासतको बसाई पछि जिल्ला अदालतको आदेशमा जिम्मा लिएका थिए । 

सर्वेन्द्र भन्न नजानेर संगठन नै बर्खास्तीको माग 

उनले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउने क्रममा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई मात्र होइन, प्रहरी संगठन नै बर्खास्त गर्नुपर्ने बताएकी थिइन् । तर, अन्य सहभागीले संगठन होइन, सर्वेन्द्र भनेपछि बोली सच्याएकी थिइन् ।

अनेरास्ववियुकी सभापति समेत रहेकी नविनाको सहयोगी सत्यमान जस्तो अभियुक्तलाई संरक्षण दिने कार्यको सर्वत्र निन्दा गरिएको छ । नविनासँगै अर्का विद्यार्थी नेता रञ्जित तामाङ समेत सहभागी थिए । 

गृहमन्त्रीले दिए उल्टै सुझाव

गृहमन्त्री थापा सांसद नविनाको मागपत्रप्रति मौन देखिएका छन् । ‘हुन्छ, म के र’छ बुझौँला’, मन्त्री बादलले भने, ‘गृह मन्त्रालय विरुद्ध घेराबन्दी भइरहेका बेला तपाईहरू आईजीपी बर्खास्तीको कुरा गर्नुहुन्छ शान्तिसुरक्षा कसले गर्छ?’

मन्त्रीको सचिवालयका अनुसार, मन्त्री बादलले सांसद लामालाई गुण्डाको संरक्षणमा नलाग्न समेत सुझाव दिएको बताइएको छ । अभियुक्त सत्यमान लामा सांसद नविनाको नजिकका सहयोगी हुन् ।

को हुन सत्यमान?

विशेष महाराजगञ्ज चुनदेवी क्षेत्रलाई गुण्डागर्दीको ‘अखडा’ बनाउँदै आएका सत्यमानले त्यस क्षेत्रमा गुण्डागर्दी, चन्दा असुली, धम्की दिन गरेको प्रहरी बताउँछ ।

डान्स रेष्टुरेण्ट ब्यवसायी समेत रहेका लामाले सांसद नविनाको आडमा काभ्रेमा बुद्धचित्त मालाको अवैध व्यापारसमेत गर्ने गरेको जानकारी प्रहरीले दिएको छ । 

लामाले धम्की तथा दबाब दिएर काभ्रे जिल्लाका विभिन्न ग्रामीण बस्तीमा बुद्धचित्तको रुख नै कब्जा गर्ने, नदिनेहरुलाई मार्ने धम्की दिने गरेको स्रोत बताउँछ । प्रहरीका अनुसार काभ्रेली समूहका नाममा गुण्डागर्दी गर्ने व्यक्तिहरुमा लामा पहिलो समूहमा पर्छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?