पोखरामा विकास–समृद्धि पर्यटनको बहस : तिमी लेखेर लेखिन्नौ म आए पनि जोशमा , तिमी सुहाउँदा शब्द पाइन्न शब्दकोषमा !

प्रा. डा. रामप्रसाद दाहाल –

विदेशी लगानी घटेको तर रेमिट्यान्स बढेको कुरा बजारमा आइरहेको छ । लक्ष्य अनुरुपको पर्यटन प्रर्वदनमा हुने आशा पर्यटन मन्त्रालयले व्यक्त गरेको छ ।  तर मगन्ते हुन् कि पर्यटक छुट्याउन गाह्रो भएको छ । किनकी अनेक प्रसङ्गहरु दुई तिहाइको बलियो सरकार बीच रस्साकस्सी भइरहेको छ ।

सरकारका ८ महिनामा ९ पटक इन्धनको मूल्य वृद्धि भएको दुखेसोहरु सार्वजनिक भइरहेका छन् । जनता अस्तव्यस्त छन् । एक झुम्रो लाउन र एक पेट खान धौधौ भइरहेको छ । दशैँको हल्लीखल्लीलाई दशाको रुपमा चित्रण गरिएको छ ।

अनियन्त्रित प्रशासनिक खर्चले गर्दा कर उठेपनि  मोजमस्ती र सुखसयलमा  खर्चको विकराल रुप तेर्सिएको छ । प्रदेश सरकार दोष लगाइरहेछन् । केन्द्रीय सरकार नै विकासको बाधक हो भनेर ।

यिनै यस्तै तीतामीठा प्रसङ्गमा पर्र्यटन नगरी पोखरामा पर्यटकको घुईचो  हेर्न र काम विशेषले पोखरा गइयो तर मौका मिल्यो —उठ्नै नसकिने गरी बैँक किस्ता त के कुरा ? व्याज नै तिर्न  नसक्ने गरी थला परेको  प्रसंग होटल व्यवसायीहरु बताइरहदाँ  मनै खिन्न पार्ने पो देखियो । सरकारी आकांक्षा र लक्ष्यहरु पनि । कागजमा सबै राम्रो व्यवहारमा चौपट । 

जनताको आर्थिक हैसियत अप्ठेरोमा छ, तर उत्पादन कृषि होइन, उद्योग होइन, पर्यटन होइन, व्यवसाय होइन, खाली तीन तहको सरकार र ठूटे नेताहरुको उत्पादन तीव्र छ ।

भट्टी  पसलदेखि चिया पसल जताततै गोष्ठी, सेमिनार देखि बस प्लेन यात्रा सम्म यदि केही उत्पादन छ भने राजनीति गफ, कसरी ग्वाम्म कमाउने, सरकारी र गैरसरकारी पैसा फुत्काउने, बिचैलीयालाई बलियो पार्ने, खाने, खुवाउने, गरिब, किसान, जनता ‘भाडमै जाउन्’ जस्ता अभिव्यक्तिहरु यत्रतन्त्र सुनिन्छन् । तर सबै काम भने जनताको नाममा नै गरिन्छ । यो ज्यादै दुःखदायी अवस्था हो । साथसाथै कटुसत्य पनि । ‘बुझ्ने कसले ?’ निराशाको मुखमा पुगेका जनता भन्न थालेका छन् ।अलमलमा परेको सरकारबाट के आसा गर्ने  ?

‘गफाडी सरकारको के विश्वास गर्ने ? माखो मार्दैन । आफै खान्छ, जान्छ ।’ जस्ता नकारात्मक अभिव्यक्तिहरु व्यापक भएको देख्दा कठै नेपाल सतीले सरापेको देश  भन्न मन लाग्छ । मन पनि दुख्छ यस्तो किन भनेको होला ? 
हामी पोखराको लेक साइडमा छौँ । वालिइको टिभी बज्छ ‘रम्भा गाउँपालिका—५ फुङरादिका नाम बहादुर ठाडाको पूर्व खोलामा माछा मार्न जाँदा डुबेर मृत्यु भयो ।’ कति करुण छ यो जिन्दगी । एक पेट भर्नको लागि परिवारलाई पाल्नको लागि माछा मार्न गएका ठाडा ढुङ्गामा चिप्लेर मृत्युवरण गरे । कठै !
ती लालाबालाको दुर्दशा कसले हेर्ने ? कस्ले सुन्ने उनीहरुको चित्कार ? चिल्ला गाडीमा कुदेर जनाताको दुख नबुझ्ने सरकारबाट के आशा गर्ने ? ठुटे नेताले लिन जानेका छन्, दिन होइन ।  
मेरो देश यस्तै छ । मेरो सरकार यस्तै छ । नेपालीको संस्कार आदि आदि …। 

विकास निमार्णको पूर्वाधार खोज्दै हिँडेको, सोलर, बायोग्यास र उज्यालो गाउँ बनाउन गाउँलेको समुन्नतिमा जीवनको ३० वर्ष बिताएका व्यक्तिहरुसँग अनायासै भेट हुन्छ ।

त्यस्तै होटल र पर्यटन व्यवसायीका रुपमा काम गरेका व्यक्तिहरु जोडिन्छन् । गोष्ठी सेमिनार पनि हुन्छ, पोखरामा कसरी पर्यटन प्रवद्र्धनमा पहँुच पु¥याउने, चिराइतो, कपूर र अन्य आकर्षक बिरुवा रोपेर पोखराको सुन्दर नगरीलाई समृद्धितर्फ लैजान सकिन्छ भनेर छलफल हुन्छ । पर्यटन व्यवसायी  हरिप्रसाद गैरे, मोहन दवाडी, नरेश भट्टराई, सोम गुरुङ, विष्णु थकाली लगायतले पर्यटनको आगमन र पोखरा बसाई देखि अन्तर्राष्ट्रिय हवाइमैदान सम्मका विषयहरु उठाउनु भयो । छलफल भयो । बहस भयो । विगत दुई महिना  पोखरा पर्यटनको दृष्टिले लगभग शुन्य नै भयो । 

मान्छे नै आएन भन्दै नभन्दै नाम चलेको एक प्रसिद्ध होटलको म आफैँ गएको बेलुका ६ बजे यति  सुन्सान देखिन्थ्यो कि आफैलाई आश्चर्य अनुभूति भयो । 
कठै पोखरा ! कठै पोखराबासी ! बाँच्ने कसरी ? हाँस्ने कसरी ? भन्ने अनुभूति दिइरहेको थियो । 
पोखराको वास्तविकता बुझेपछि म सोलार, बायोग्यासका दिग्गजहरु फनिनारायण भट्टराई, प्रकाशचन्द्र सुवेदी, शेखर अर्याल, राम तिवारीका साथमा पोखराको केही भाग लुम्ले, काँडे,  अष्ट्रेलिया क्याम्प, धम्पुस, घान्द्रुक,  भुर्जुङ खोलाको तातोपानी,  माछापुच्छ्रेको फेदी पोखराको पर्यटनको पूर्वाधार हो भन्ने कुरा व्याख्या भयो । साथीहरुको बहस चल्यो ।  प्राकृतिक सौन्दर्यको विश्लेषण गरियो ।  

 

भुर्जुङ खोलाको ट्राउट  नमूना भएको चर्चा भयो । गुरुङ संस्कृति, ग्रामीण जीवन, जीवन शैलीका बारेमा हामीलाई कमल गुरुङले राम्रै जानकारी दिनुभयो । त्यो रमाइलो क्षण, उत्सुकता, प्राकृतिक सौन्दर्य र छटालाई देखेर फनि नारायण सर जुरुक्क उठेर रमाइलो गर्दै राष्ट्रकविको कविता सुनाउन थाल्नुभयो :
बेलौतीको रुखैमाथि ढुकुरको जोडी 
मेरो जोडी जान लाग्यो मलाई एक्लै छोडी 
एउटा माया परदेशमा एउटा माया  घर  
फेरि भेट हुन्छ हुन्न कल्लाई थाहा छ र ?

अनि प्रकाशचन्द्र सुवेदी पनि के कम ? उनै लमजुङ्गे कवि माधव घिमिरे कै कविता ‘यो प्राकृतिक छटालाई अर्पण गरेँ’ भन्दै पढ्न थाल्नुभयो :
म पुत्र तिम्रो, तिमी धर्ती माता 
अटुट माटो मुटुको छ नाता, 
माटो जहाँको मुटुले छुँदैन । 
त्यहाँ हरियो ममता हुँदैन । 

‘यस्तो रमणीय नेपाल, त्यसमा पनि पोखराको समृद्ध दृश्य र प्रकृतिले आकर्षण गरेर पर्यटन प्रवद्र्धन गरी अघि बढ्न सके केही हुन्थ्यो कि’ भनेर तातोपानीको झोलुङ्गे पुल र सेती खोलाको विकासले संझना गरायो, मनु ब्रजाकीलाई । 
त्यो बाटोमा उकाली छ, त्यो बाटोमा ओह्राली छ 
आफूलाई देख्दिन म, कहाँ आज नेपाली छ ? 

अन्त्यमा, साथीहरुको आत्मीय आतिथ्यता, होम स्टेको व्यवस्था , ती होटल, रिसोर्टहरु सबै सौन्र्दय र भर्न सफल भइरहेको अनुभुति गर्यौँ हामीले— सफा, स्वच्छ र हराभरा त्यो माछापुच्छ्रे अनि झोलुङ्गे पुललाई सम्झेर लाग्यो आर्थिक क्षेत्रले न्यानो पाए हुन्थ्यो, जीवन ल्याए हुन्थ्यो । सँगै ठाकुर छाँगाका यी शब्दहरु  संझन पुगेँ ।

तिम्रो सम्मान पुग्दैन हामीले जे गरेपनि 
प्रशंसा कविता लेखी जति पन्ना भरेपनि 
तिमी लेखेर लेखिन्नौ म आए पनि जोशमा  
तिमी सुहाउँदा शब्द पाइन्न शब्दकोषमा  ….

***
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?