प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दै

जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठक आज पुनः बस्दै छ । 

शुक्रबार ११ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको हो । 

बिहीवार बसेको प्रदेशसभा बैठक ७ मिनेटमै स्थगन भएको थियो । 

बिहीवार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ४५ मिनेट ढिला शुरु भएको थियो । बैठकको प्रारम्भ गर्दै सभामुख सराजकुमार यादवले विशेष समय र शून्य समय नभएको जानकारी दिएका थिए । 

बैठकमा मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले गाउँ तथा नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धमा बनेको विधेयक प्रस्तुत गर्न अनुमति मागेका थिए । मुख्यमन्त्री लालबाबु राउतका तर्फबाट मन्त्री यादवले गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । स्थानीय निर्वाचन सम्पन्न भएको एक वर्ष बितिसकेको अवस्थामा प्रदेश सरकारले विधेयक सदनमा प्रस्तुत गरेको हो । यो विधेयक पारित भएपछि स्थानीय तहलाई कानुन निर्माणका लागि बाटो खुल्ने कानुनमन्त्री यादवले बताएका थिए ।

त्यसैगरी कानुनमन्त्री यादवले सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धमा बनेको विधेयक प्रस्तुत गर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पनि बैठकमा सर्वसम्मतिबाट पारित भएको थियो । प्रदेशमा सार्वजनिक प्रशासनमा कर्मचारी अभाव भएको हुनाले रिक्त स्थानमा पदपूर्ति नहुन्जेलसम्म करारमा कर्मचारी भर्नाको बाटो खोल्न विधेयक ल्याइएको उनले सुनाए ।
दुईवटा प्रस्ताव पारित भएपछि सभामुख यादवले बैठक स्थगन भएको घोाषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?