‘उत्कृष्ट खेलाडी’ अरुणा शाही ठकुरी ‘डबल सेलिब्रेसनमा’  (भिडियो सहित)

महिला भलिबलको अघोषित ‘सम्राट’ एपीएफलाई आछुआछु बनाएको चितवन टाइग्रेसको चुलिँदो चर्चा

अरुणा शाही ठकुरी, नेपालकी उदीयमान भलिबल खेलाडी हुन् । चितवन टाइग्रेसकी ‘टाइग्रेस’ । हुन त उनले पहिला पनि आफ्नो खेलमार्फत् लोकप्रियता नकमाएकी होइनन् । यद्यपी, केही समय यता खेल क्षेत्रमा उनको चर्चा चल्न थालेको छ । यो लोकप्रियता राष्ट्रिय भलिबल प्रतियोगितामा प्राप्त जीतको नतिजा हो ।

नेपाल भलिबल संघ र आधीआवादी फाउन्डेसनको संयुक्त आयोजनामा भएको राष्ट्रिय भलिबल प्रतियोगितामा चितवन टाइग्रेसले आक्रमक प्रस्तुति दिएर महिला भलिबल साम्राज्यको एकल ‘सम्राट’ का रुपमा स्थापित एपीएफलाई आछुआछु बनायो । एपीएफमाथि सो प्रतियोगितामा सजिलो जीत हासिल गरेपछि एकाएक चितवन टाइग्रेसको चर्चा चुलिएको हो । सोही प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएपछि अरुणाले क्लबसँग उस्तै लोकप्रियता ‘सेयर’ गरिरहेकी छिन् । फेरि, उनको अब्बल प्रस्तुतिका लागि उनलाई यस वर्षको ‘उत्कृष्ट खेलाडी’ घोषित गरिएको छ ।

स्कुटरको चाबी पक्रिदाको क्षण भलिबलको सट हान्न निकालेको पसिना ... वर्षपछि टिमको अप्रत्यासित जीत अनि ‘उत्कृष्ट खेलाडी’ का रुपमा जीतको मूख्य श्रेय आफूलाई । अरुणाका लागि यो ‘डबल सेलिब्रेसन’को माहोल भइदिएको छ  । त्यसैले उनी दङ्ग छिन् । उनको मुस्कानले यही बताउँछ ।

वि सं २०५१ सालमा म्याग्दीको पिप्ले गाविसमा जन्मिएकी अरुणाले कहिल्यै ठूलो सपना नै देखेकी थिइनन् । ग्रामीण भेगको बसाईं, गाउँले परिवेशमा हुर्काइ यी सबै कुराले शायद उनलाई सपना देख्ने वातावरण नै नदिएको पनि हुन सक्छ । उनलाई भलिबलप्रति पनि खास रुचि होइन । स्कुलले प्रतिस्पर्धाका लागि लग्यो । उनी गइदिइन् । सोही प्रतिस्पर्धामा प्रतिस्पर्धीका रुपमा आएको पोखराको ज्ञान बाबु स्कुलले अरुणाको अन्तर्निहीत प्रतिभालाई ठ्याक्कै चिन्यो । उनका अगाडि अफर राखिदियो ‘हाम्रो स्कुलमा आउ, छात्रवृत्ति दिन्छौं’ । ‘मौका आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन ।’ यही भनाइबाट उत्प्रेरित भएजस्तै गरी अरुणाले पनि आफ्नो अगाडि हात फैलाउँदै आएको अवसरलाई अङ्कमाल गरिन् । अवसरले पनि उनलाई ‘वार्म हग’ गरिदियो ।

उचित ट्रेनिङ पाएपछि उनले भलिबललाई चिन्दै गइन् र भलिबलले उनलाई । त्यसपछि त के, उनीहरु बेस्ट फ्रेन्ड नै भए । भलिबल खेल्दा रमाइलो लाग्न थाल्यो । भलिबलले नै उनलाई पहिचान दियो । एउटा छुट्टै जीवन थियो जसको कल्पना उनले कहिल्यै गर्न भ्याएकी थिइनन् । देशमा मात्र नभएर विदेशमा समेत आफ्नो देशलाई चिनाउने अवसर जुट्यो, भलिबलकै कारणले । यसै अन्तर्गत उनी आफ्नो जीवनकै सबैभन्दा अविस्मरणीय खेल सम्झिन्छिन् । 

त्यसअघि नेपालले श्रीलंकालाई कहिल्यै जित्न सकेको थिएन । साउथ एसियन गेम्स थियो । नेपाल र श्रीलंका भिड्दै । जित्दैनौं भन्ने डर कताकता लागिरहेको थियो तर, जसरी पनि राम्रो खेल्छौं भन्ने साहस चाहिँ जुटाइराखेका थियौं । नभन्दै हाम्रो साहस सकारात्मक नतिजा पायो । बेस्ट अफ फाइभमा श्रीलंकालाई हरायौं । त्यो गेम म कहिल्यै पनि बिर्सन सक्दिन ।

हुन त उनी पश्चिमाञ्चल क्लबकी खेलाडी हुन् । यद्यपी यस वर्षको नेपाल भलिबल संघ र भारतीय आधीआवादी फाउन्डेसनको संयुक्त आयोजनामा भएको राष्ट्रिय भलिबल प्रतियोगितामा उनलाई चितवन टाइग्रेसले सापटी लिएको थियो । उनी मात्र नभएर चितवन टाइग्रेसले यही गेमको लागि अमेरिकाका ३ भलिबल खेलाडीलाई आफ्नो टिममा ‘हायर’ गरेको थियो । जित्नुको मूख्य कारण पनि यही भएको अरुणा बताउँछिन् । 

नेपाल महिला भलिबलको अघोषित सम्राटका रुपमा स्थापित एपीएफलाई जित्नु आफैमा ठूलो उपलब्धि हो । यो जीत ठूलो हो । तर, जित्छौं भन्ने आत्मविश्वास पनि सानो चाहिँ थिएन । अरुणाका कुरा सुन्दा यस्तै लाग्यो । 

‘विदेशको खेलाडीहरु ल्याएपछि गेम आफै राम्रो भइहाल्छ नि । जित्छौं भनेर लगभग स्योर थियौं ।’ जित्छु जस्तो लागेको थियो ? भन्ने हाम्रो प्रश्नमा उनको यस्तो उत्तर आयो । उत्तरमा कन्फिडेन्स बेस्सरी छचल्कियो ।

उनका अनुसार अमेरिकी खेलाडीहरुसँग खेल्न उनीहरुलाई कुनै समस्या भएन । बरु, टिम वर्क झन् निखारिएर आयो । यस अघि उनले भारतका खेलाडीहरुसँग पनि मैदान नबाँडेकी होइनन् । तर, एउटै टिममा भएर खेल्दा समेत भारतीय खेलाडीहरु अलि हेप्ने प्रवृत्तिको भएकाले खेल त्यति जमेन । ‘यसपालि भने दुवै राम्रो । अमेरिकी खेलाडी र उनीहरुकै कारण हाम्रो गेम पनि । त्यसैले त जीत हाम्रो पोल्टामा प¥यो ।’ आंशिक रुपमा नमिलेका दाँत देखाउँदै अरुणा मिलेको हाँसो हाँस्छिन् ।

भलिबललाई नै सारा जीवन समर्पण गर्ने हो त भन्ने हाम्रो प्रश्नमा उनले उल्टै हामीलाई नै प्रश्न गरिन् ‘अहिलेसम्म हाम्रो देशमा जीवनभर भलिबल नै खेलेर बसेको कोही देख्नुभाको छ र ?’

जीतले उत्पातै खुसीको माहोल सिर्जना गरिदिएका बेला उनलाई एउटा पीरले भने सताइरहन्छ । ‘भलिबलका अतिरिक्त के ?’ नेपालका खेलाडीहरुको मनमा यो प्रश्न उठ्नु नौलो कुरा होइन । शुरुमा त खेल्छु भनेर परिवारलाई कन्भिन्स गर्न गाह्रो त्यसपछि खेललाई नै करियर बनाएको छु भन्ने कुरालाई समाजमा स्वीकार्य बनाउन गाह्रो । यति मुस्किल पार गरेपछि अब खेलेरै जीवन चलाउन सक्छु भनेर आफैलाई  विश्वास दिलाउन गाह्रो । अरुणाको अवस्था पनि यस्तै केही छ ।

भलिबललाई नै सारा जीवन समर्पण गर्ने हो त भन्ने हाम्रो प्रश्नमा उनले उल्टै हामीलाई नै प्रश्न गरिन् ‘अहिलेसम्म हाम्रो देशमा जीवनभर भलिबल नै खेलेर बसेको कोही देख्नुभाको छ र ?’ उनको प्रश्न आफैमा उत्तर बनेर आयो । अरुणाले केही वर्ष भलिबल खेलेर अन्य क्षेत्रलाई पनि सँगसँगै लग्ने योजना बनाएकी छिन् । यही कारणले गर्दा पढाइलाई निरन्तरता दिइरहेको उनी बताउँछिन् । 


 

Leave a comment