एउटा घटनाले प्रहरीको ९० प्रतिशत उपलब्धी शून्यमा झारिदियो: केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आमनागरिकको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले प्राप्त गरेको ९० प्रतिशत सफलतालाई एउटै घटनाले शून्यमा झारिदिएको बताएका छन् । 

६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता प्राप्त गरेको छ तर, त्यो सफलतालाई एउटै घटनाले शून्य पारिदिएको तथ्य हामीसँग छ ।’

‘नेपाल प्रहरी संगठनमाथि देश र जनताको ठूलो भरोसा र विश्वास छ’, उनले भने, ‘यही विश्वास र भरोसलाई दिगो पार्न प्रहरी व्यवसायिक हुनुपर्छ ।’

समृद्ध नेपाल र सुखी नेपाल निर्माणका लागि शान्तिसुरक्षा पहिलो प्राथमिकतामा रहेको धारणा उनको थियो । 

उनले संघीय प्रहरी ऐन छिटो जारी गरी २०१२ सालमा स्थापना भएको ऐनलाई अविलम्ब खारेज गर्न निर्देशन दिए । प्रविधिमा आधारित र खुला सीमानाका कारण अपराधको अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको भनाइ उनको थियो । 

कार्यक्रममा उनले यस वर्षको लाइफ टाइम एचिभमेण्ट अवार्ड पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहलाई प्रदान गरेका थिए । सो अवसरमा १ हजार ५ सय ६ जना अमर प्रहरी रहेको जानकारी दिइयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?